सिनेमा घरमा नेपाली फिल्म ‘जारी’ प्रदर्शन भइरहेको छ। गत शुक्रबारदेखि प्रदर्शन भइरहेको फिल्मले राम्रो दर्शक पाएको छ। यही फिल्ममार्फत लेखक उपेन्द्र सुब्बा निर्देशकका रूपमा उदाएका छन्। पहिलो फिल्मले नै उनलाई निर्देशकका रूपमा स्थापित बनायो भन्दा फरक पर्दैन। फिल्म हलमा सफलताका साथ प्रदर्शन भइरहँदा निर्देशक सुब्बा भने कतै भावुक सुनिन्छन्, कतै भावुकतामा पनि मुस्कुराइदिन्छन्।

यो उनको आफ्नै शैली पनि हो।
फिल्म प्रदर्शनको एक हप्ता पुग्नै लाग्दा निर्माण टिमले गरेको पत्रकार सम्मेलनमा सुब्बा भन्दै थिए, ‘म छोरीहरूप्रति अलि बढी संवेदनशील छु जस्तो लाग्छ।’
उनले ‘जारी’मा त्यही छोरीको स्वतन्त्रताको कथा देखाउन खोजेका छन्।
सुब्बाले भने, ‘नेपाली समाजमा सबैभन्दा स्वतन्त्र जीवन जिउने महिला लिम्बु समुदायमै छन्। तर स्वतन्त्रता भनेको घरबाट कहाँ गइस् भनेर नसोध्नु मात्रै होइन भनेर फिल्ममा देखाउन खोजेको हुँ।’
उनले थपे, ‘छोरी स्वतन्त्र हुन अरू पनि थुप्रै कुरा चाहिन्छ भन्ने लाग्यो। जबसम्म छोरीमा पैतृक सम्पत्तिको हक लाग्दैन, तबसम्म अरू स्वतन्त्रता फिक्का रहन्छन् भन्ने सोचेर नै ‘जारी’ बनाउने सोच निकालेँ। बनाउँदा बनाउँदै के-के बनाएँ, मलाई नै थाहा छैन। म चाहन्छु- हरेक समाजका महिला सबल र सक्षम रहून्।’
लिम्बु समुदायको संस्कृतिमा आधारित फिल्म ‘जारी’मा श्रीमान्ले आफ्नी श्रीमती फिर्ता ल्याउन गरेको संघर्षको कथा छ। फिल्ममा दयाहाङ राई, मिरुना मगर, विजय बराल, कमलमणि नेपाल, रेखा लिम्बुलगायत कलाकारले अभिनय गरेका छन्।
Shares

प्रतिक्रिया