ad ad

कला


‘सकम्बरी’ बनेकी कुसुम शर्मा भन्छिन्– गीत सकारात्मक छ, सत्य सधैँ तीतो हुन्छ

‘सकम्बरी’ बनेकी कुसुम शर्मा भन्छिन्– गीत सकारात्मक छ, सत्य सधैँ तीतो हुन्छ

बीचमा कुसुम शर्मा। तस्बिर : उनकै फेसबुकबाट।


नेपालखबर
बैशाख ६, २०८० बुधबार १४:५८, काठमाडौँ

गायक प्रकाश सपुतको नयाँ गीत ‘सकम्बरी’बारे अहिले तीव्र बहस भइरहेको छ। एउटा पक्ष यो गीतले महिला अस्मिता र इज्जतमा धावा बोलेको भन्दै विरोधमा उत्रिएको छ भने अर्का पक्ष भने गीतले समाजको वास्तविकता चित्रण गरेको तर्क गरिरहेको छ। 

सपुतको उक्त गीतको भिडिओमा गाउँकी ‘फूलमाया’ किशोरी उमेरमै मोडल बनेर नाम र दाम कमाउने सपनासहित सहर पस्छिन्। गरिब परिवारकी उनी रंगमञ्च क्षेत्रमा काम गर्ने छिमेकी दाइको साथमा सहर आउँछिन्। सुरुमा ती दाइ पर्नेले नै उनलाई काम मिलाइदिने आश्वासन दिँदै कुदृष्टि राख्छ र माइक्रोबसमा सँगै यात्रा गरेका बेला गलत नियतले उनको शरीर स्पर्श गर्छ।

सहरमा फूलमायाले काम पाउँछे, मीठो खान र महँगा कपडा/गहना पनि लगाउन पाउँछे। तर यसबापत सहरमा उसलाई एकपछि अर्का पुरुषले वस्तुका रूपमा प्रयोग गर्छन्। बिस्तारै फूलमाया सहरमै रमाउन थाल्छे। र, एकदिन ऊ ‘सकम्बरी’ बन्छे। अन्त्यमा उसलाई भोग्ने त्यही समाजले घृणाा गर्छ। 

यसरी कला क्षेत्रमा आउने एउटी महिलालाई यौन बेच्न विवश पात्रका रूपमा चित्रण गरेर नकारात्मक सन्देश फैलाइएको भन्दै एउटा वर्गले यतिखेर गायक सपुतलाई गाली गरिरहेको छ। 

तर ‘फूलमाया’ उर्फ ‘सकम्बरी’को भूमिकामा अभिनय गरेकी कुसुम शर्माको धारणा के छ त?

उनी भन्छिन्, ‘मलाई लाग्छ, यो गीतले सकारात्मक पक्षलाई चित्रण गरेको छ, जसले धेरैको मन छोएको छ।’ 

उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै अगाडि भनेकी छन्, ‘राम्रो कुरा भन्न सजिलो छ तर सत्य सधैँ तीतो हुन्छ। तर सत्यले तपाईंलाई स्वतन्त्रता र जित प्रदान गर्छ।’

सकम्बरी चरित्र एक काल्पनिक पात्र भएको र यसले कुनै व्यक्ति विशेषलाई जोड नदिने उनको तर्क छ। 

उनी लेख्छिन्, ‘रचनाकारले वर्तमान समाजका केही अन्धकार यथार्थमा प्रकाश पार्ने प्रयास मात्र गरेका छन्, जसलाई हामी सबैले सही रूपमा स्वीकार गरेका छौँ।’

शर्माका भनाइमा गायक प्रकाश सपुतले बहादुरीका साथ ‘यस्तो सुन्दर रचना’ सिर्जना गरेर जुन कदम उठाएका छन्, त्यसले आफू गौरवान्वित भएको उनले उल्लेख गरेकी छन्। अझ त्यस सिर्जनाको एउटा हिस्सा हुने अवसर दिएकामा उनले सपुतप्रति आभारसमेत प्रकट गरेकी छन्। 

उनले अगाडि लेखेकी छन्, ‘आलोचना कुनै पनि सफल कार्यको अभिन्न अंग हो, त्यसैले हामी यसलाई स्वागत गर्छौं, तर कृपया वास्तविकताप्रति खुला दिमाग राख्नुहोस् र घृणा होइन प्रेम फैलाउनुहोस्।’

साथै उनले गायक प्रकाश सपुतले सेयर गरेको कान्तिपुरमा प्रकाशित नारायणी देवकोटाको ‘कसको कथा?’ पनि सेयर गरेकी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .