ad ad

कला


श्रीमतीको चिनो सलले छोरा बोकेर स्टेज चढेका पीएनले रुवाए सबैलाई

श्रीमतीको चिनो सलले छोरा बोकेर स्टेज चढेका पीएनले रुवाए सबैलाई

नेपालखबर
फागुन १९, २०७९ शुक्रबार १०:५१, काठमाडौँ

पिँठ्युमा सानो छोरा बोकेर मञ्चमा उक्लिएका पीएन साइँलाका शब्दले लोकस्टारको माहोल भावुक बन्यो। प्रतियोगितामा सामेल प्रतियोगीका क्षमता मापन गर्न जजको कुर्सीमा बसेका सबैका आँखा आँसुले भरिए। पीएनसँगै प्रतिस्पर्धामा रहेका प्रतियोगीले आँसु बगाए। महाजजका रुपमा लोकस्टारको १३ औँ एपिसोडमा पुगेका लोकगायक कुमार बस्नेतले पनि आफूलाई सम्हाल्न सकेनन्। बस्नेतले भिटो अधिकार प्रयोग गर्दै पीएनलाई भोटिङ राउन्डका लागि छनोट गरे। 

उनले चयन गरेका शब्द, मर्मस्पर्शी गला र गायन कलाको सबैले तारिफ गरे। काखे छोरा बोकेर स्टेज चढेका उनले आफ्नै जीवनकथालाई गीतमा प्रस्तुत गरे। पत्नीको मृत्युपछि एक्लै छोरा हुर्काइरहेका पीएन छोरा बोकेरै लोकस्टारमा भाग लिन काठमाडौं आएका थिए। उनले गीतमा पनि श्रीमतीकै सम्झना गाएका थिए। श्रीमतीको निधनपछि चिनोका रुपमा राखेको श्रीमतीको सलले छोरालाई बोकेर काठमाडौं आएका उनले माहोल निकै भावुक बनाए। 

उनले लोकस्टारको मञ्चमै सुनाए। ‘यही सलले छोरालाई बोकेर काठमाडौं हिँड्दा सिंगो गाउँ रोएको थियो। पत्नी नरहेपछि कहाँ जाने भन्ने थाहा थिएन। घाटमा सबै लुगा जलाउँदा यो सल लुकाएर राखेको थिएँ। उनी स्वर्गबास भएको दुई वर्ष भयो। यो सलले आज उनी मसँगै छिन् कि भन्ने याद दिलाउँछ।’ उनले आफ्नो कथा भनिरहँदा माहोल झन धेरै भावुक बनेको थियो। उनले छोरालाई काँखमा बोकेर आफ्ना मनका कुरा बाँडेका थिए। 

पीएनले पहिलो एपिसोडमै दमदार प्रस्तुति दिएर गोल्डेन स्टार अवार्ड जितेका थिए। अवार्ड जितेसँगै सीधै अन्तिम २० मा प्रवेश गरेका पीएनको प्रस्तुति अहिले सामाजिक सञ्जालमा समेत भाइरल भइरहेको छ।  सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि पीएनको प्रस्तुतिको प्रशंसा गरिरहेका छन्।  हिमालय लोकस्टार हिमालय टेलिभिजनमा प्रत्येक मंगलबार र बुधबार राति ८ बजे प्रसारण हुन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .