कला


विमल सुवेदीको ‘दि कन्फेसन’नयाँ दिल्लीमा मञ्चन

विमल सुवेदीको ‘दि कन्फेसन’नयाँ दिल्लीमा मञ्चन

नेपालखबर
फागुन १५, २०७९ सोमबार १४:२९, काठमाडौँ

जगदिश घिमिरेको उपन्यास ‘साविती’बाट प्रभावित भई तयार भएको नाटक ‘दि कन्फेसन’साविती नयाँ दिल्लीमा मञ्चन भएको छ।

नाटक आइतबार नयाँ दिल्लीस्थित नेसनल स्कुल अफ ड्रामाको मञ्चमा मञ्चन भएको हो। 

नेसनल स्कुल अफ ड्रामा र नेपालका लागि भारतीय दूतावासको संयुक्त प्रयासमा मञ्चन भएको नाटकलाई विमल सुवेदीले निर्देशन गरेका हुन्। 

गरिबलाई केन्द्र राखी शासकमाथि गरेका अनेक प्रश्नहरुको संगालोको रुपमा तयार भएको उपन्यासमा आधारित रही सन् २०१३ मा विमल सुवेदीले ‘साविती’नाटक तयार गरेका थिए।

जगदिश घिमिरेले आफ्नो यो उपन्यासमाथि नाटक बनेका हेर्न लालसा अभिव्यक्त गरेपछि रोगसँग जुधिरहेका उनै घिमिरेको सम्मानमा यो नाटक तयार भएको थियो । त्यतिबेला एक सो भएर बन्द भएको सो नाटकलाई निर्देशक विमल सुवेदीले समसामयिक बनाउँदै नयाँ स्वरुपमा प्रस्तुत गरेका हुन्।

भारतमा मात्र यो नाटकले ४ पटक स्टेज टेकिसकेको छ।

यो नाटक भारतमा सन् २०१८ मा नयाँ दिल्लीकै साउथ एसियन युनिभर्सिटीमा मञ्चन भएको थियो। यसको एक वर्षपछि यो नाटक भारतको जम्मुकश्मिरमा मञ्चन भएको थियो।

यही साल मात्र दुई पटक मञ्चन भएको नाटक केही दिन अघि आसामको लोर्गी इन्टरनेसनल थिएटर फेस्टिभलमा मञ्चन भएको थियो भने आइतबार भारतकै प्रतिष्ठित मानिने नेसनल स्कुल अफ ड्रामाको मञ्चमा।

अनुराधा मजुमदारले मुख्य भूमिका निर्वाह गरेको नाटकले एकालापको शैलीमा यौन हिंसादेखि सार्वजनिक सरोकारका यावत् विषयमा प्रश्न गर्छ। सँगै नाटकले पुरुष र पुरुषवादी सत्ताको नियन्त्रणमा रहेकी महिलाको विद्रोहको कथा प्रस्तुत गर्छ।

तर, कथा वाचनका लागि निर्देशक विमल सुवेदीले एक्सरे, नुन, स्लाइन पानी र रगतसहितको सेट बनाएका छन् जसले संवादको वजनलाई गहिरो गरी दर्शकसँग अन्तक्र्रिया गर्छन्।

नाटक हेर्न आएका दर्शक कलाकारको अभिनयसँगै सेटको मिहिनताको तािरफ गर्दै निस्किएका थिए। धेरै वर्षपछि नाटक हेर्ने मौका पाएको बताउँदै भारतका लागि नेपाली राजदूत शंकर शर्माले नाटक प्रभावशाली लागेको प्रतिक्रिया दिएका थिए।

‘धेरै वर्ष पहिले मैले सर्वनाममा नाटक हेरेको थिएँ। धेरै वर्षपछि फेरि आज यो दि कन्फेसन हेरेँ। यसको प्रस्तुति र सन्देश दुवै उत्कृष्ट लाग्यो,’ उनले थपे, ‘नाटकसँगै महत्वपूर्ण कुरा नेपाल भारत सहकार्य पनि हो जुन यो नाटकको मार्फत् पनि भएको छ। हरेक कोणबाट यो नाटक सार्थक लागेको छ मलाई।’

नेसनल स्कुल अफ ड्रामाका पूर्व निर्देशक तथा भारतको प्रतिष्ठित पुरस्कार पद्यश्री विजेता रामगोपाल बजाजले नाटकले आफूहरुलाई चुनौती दिएको प्रतिक्रिया दिएका थिए।

कुनै समय नाटककी मुख्य कलाकार अनुराधा मजुमदारलाई यही विद्यालयमा पढाएका उनले सदा कक्षामा प्रश्न गर्ने अनुराधाले नाटकमार्फत् थप सशक्त तरिकाले प्रश्न गरेको मन परेको बताएका थिए। 

‘अनुराधा कक्षामा पनि सदा प्रश्न गर्थिन्। तर आज नाटकमार्फत् हामीलाई प्रश्नसँगै चुनौती दिएर गएकी छिन्। नाटकको विषय एकदमै राम्रो थियो र प्रस्तुति झनै सुन्दर थियाे।’ उनको भनाइ थियो। 

उनले लेखक निर्देशक विमल सुवेदीलाई पनि अत्यन्त राम्रो नाटक देखाएकोमा धन्यवाद दिएका थिए।

यसैगरी नाट्यकर्मी तथा पद्यश्री विजेता रीता गांगुलीले पनि नाटकको तारिफ गर्दै दुई शब्द बोल्छु भन्दै वाह! वाह! गरेकी थिइन्।

निर्देशक विमल सुवेदीले नाटकलाई प्राप्त प्रतिक्रियासँगै नाटकको माध्यमबाट दुई देशलाई जोड्ने काम पनि भएकाले आफ्ना लागि यो विशेष भएको बताएका छन्। नेसनल स्कुल अफ ड्रामाबाटै १० वर्षअघि ग्रयाजुएट भएका उनले आफू अन्तिम पटक कलाकारको रुपमा चढेको स्टेजमा निर्देशक भएर आउँदा नोस्टाल्जिक भएको बताए।

‘म जुन स्टेजमा कलाकारको रुपमा यो ठाउँबाट विदा भएको थिएँ आज त्यही ठाउँमा निर्देशकको रुपमा नाटक लिएर आउन पाउँदा अरुभन्दा पनि नोस्टालजिक बढी भएको छु। तर योसँगै नाटकमार्फत् नेपाल भारत सहकार्यको जुन संगम भयो, यसले आगामी दिन सांस्कृतिक रुपमा यो सम्बन्ध दिगो बनाउन थप काम गर्ने बोटो खोल्ने कुरामा विश्वस्त छु’ उनले भने।

उनले दिल्लीमा नेपाली नाटकको मञ्चनलाई सम्भव तुल्याउनमा नेपाली राजदूतावास दिल्लीका डीसीएम रामप्रसाद सुवेदी, फस्ट सेक्रेटरी विजय कुमार राउत र डा सुरेन्द्र थापाको ठूलो लगन रहेको जनाएका थिए।

नाटकभित्र अनुराधा मजुमदारलाई मञ्चमा साजन सुनुवार र प्रजित बस्यालले साथ दिएका थिए भने जेनी सुनुवारले सहायक निर्देशन गरेकी थिइन्। चक्र पुलामीले प्राविधिक रुपमा साथ दिएका थिए। नाटक लेखनमा निर्देशक सुवेदीलाई सुरज सुवेदीले साथ दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad