ad ad

कला


दस वर्षपछि अभिनयमा फर्किंदै अभिनेता राजवल्लभ

दस वर्षपछि अभिनयमा फर्किंदै अभिनेता राजवल्लभ

राजवल्लभ कोइराला


नेपालखबर
माघ २९, २०७९ आइतबार १३:५५, काठमाडौँ

सन् २००७ मा चलचित्र ‘पर्खी बसेँ’बाट अभिनय सुरु गरेका अभिनेता राजवल्लभ कोइरालाले ‘कामिनो’ मा अभिनय गर्ने भएका छन्। पछिल्लो समय ‘हाइवे टु धम्पुस’मा देखापरेका उनी झण्डै १० वर्षपश्चात् अभिनय गर्दै छन्। 

‘आफू सुहाउँदो भूमिका पाएँ। र, यो महत्त्वपूर्ण मध्येको एक हो’, अभिनेता कोइरालाले भने, ‘मेरो छायांकन ब्राजिल र मेक्सिकोमा तय भएको छ।’ 

अमेरिकाको क्यालिफोर्निया बसोबास गर्ने अभिनेता कोइरालाले चलचित्रका लागि नेपाल आउने विषयमा माग र आवश्यकतामा आधार रहने बताए। अभिनेता प्रदीप खड्का र अभिनेत्री वर्षा सिवाकोटीपश्चात् अभिनेता कोइरालालाई टिममा स्वागत गर्न पाउँदा खुसी लागेको निर्देशक दीपक ओलीले बताए।

‘हामीलाई चाहिएको लुक्स र कलाकार पाएका छौँ। चलचित्रलाई बिनासम्झौता तयार गर्नेछौँ’, उनले भने, ‘यसको कथा नै विदेशी भूमिसँग जोडिएकाले छायाङ्कन नै उतै गर्दै छौँ।’ 

अभिनेता कोइरालाले अभिनय गरेका गुरु दक्षिणा, छोडी गए पाप लाग्ला, पहिलो पहिलो माया, किन लाग्छ माया, पल, मसान, अपवाद, सो सिम्पल, ६ एकान ६, हाइवे टु धम्पुसलगायत चलचित्रको चर्चा हुने गर्छ। उनले सात वर्षमा सत्ताइस चलचित्रमा अभिनय गरेका थिए। 

स्पेनिस भाषामा ‘कामिनो’को अर्थ बाटो हो। जोखिमपूर्ण तरिकाले अमेरिका प्रवेश गर्न चाहनेको सङ्घर्षको कथामा निर्माण हुने चलचित्र आउँदो वैशाखबाट छायांकनमा जाने तयारी रहेको कार्यकारी निर्माता सुनिल विष्ट गौलीले जानकारी दिए।

यसमा महेश दबाडीको पटकथा र संवाद, सौरभ लामाको छायांकन, एसडी योगी र एलिस कार्कीको सङ्गीत, सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहनेछ। नेपाली, हिन्दी, अङ्ग्रेजी र स्पेनिससहित चार भाषामा चलचित्र प्रदर्शन गरिनेछ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .