ad ad

कला


नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार बढाउन अमेरिकामा नेफ्टा अवार्ड : अध्यक्ष लामा

नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार बढाउन अमेरिकामा नेफ्टा अवार्ड : अध्यक्ष लामा

नेपालखबर
माघ २६, २०७९ बिहिबार १९:३४, काठमाडौँ

अमेरिकाको डल्लास टेक्सासमा आयोजना हुने ११औँ संस्करणको नेफ्टा फिल्म अवार्ड कार्यक्रमको औपचारिक घोषणा भएको छ। आज यहाँ उद्घाटन समारोहमार्फत नेपाल चलचित्र प्राविधिक सङ्घले आगामी जेठ १३ गते अमेरिकाको डल्लास टेक्सासमा हुने अवार्ड कार्यक्रमको घोषणा गरेको हो। 

सङ्घका अध्यक्ष पुष्कर लामाले यस अवार्ड कार्यक्रमले नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार बढाउन सहयोग गर्ने बताए। उनले भने, ‘नेफ्टा अवार्ड जेठ १३ गते विधिवत्रूपमा सञ्चालन हुनेछ। अमेरिकामा आयोजना गरिनुको मुख्य उद्देश्य नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारसम्म जोड्नु हो।’

अवार्ड कार्यक्रमका लागि जुरीले २०७९ वैशाखदेखि चैत मसान्तसम्म रिलिज भएका चलचित्र हेर्ने काम सुरु भइसकेको उनले बताए। चलचित्र विकास बोर्ड नेपालका अध्यक्ष भुवन केसीले नेफ्टा अवार्ड कार्यक्रमले अन्तर्राष्ट्रिय दर्शकसम्म पुर्‍याउन सेतुको काम गर्नेमा सहमति जनाए। उनले भने, ‘अमेरिकामा अवार्ड कार्यक्रम गर्नु फलामको चिउरा चपाउनुजस्तो हो। सङ्घले यो हिम्मत गरेको छ। नेपाली चलचित्रको दर्शक बढाउनका लागि यसले खेल्ने भूमिकामा बोर्डले सहयोग र सहकार्य गर्नेछ।’

अध्यक्ष केसीले आयोजक समूहलाई शुभकामना दिँदै चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) ऐन, २०२६ नेपाली चलचित्र क्षेत्रको विकासको बाधक भएको गुनासो गरे। उनले भने, ‘नेपाली चलचित्रको अहिलेसम्म विकास हुन नसक्नु मुख्य कारण चलचित्र ऐन, २०२६ हो। एनालगबाट सुरु भएको चलचित्र डिजिटल प्रविधिको अभ्यासमा छ तर २०२६ सालमा बनेको ऐन अहिले व्यावहारिक रूपमा प्रभावकारी छैन।’ 

अध्यक्ष लामाका अनुसार अमेरिकाको डल्लास टेक्सासमा छ हजार पाँच सय क्षमता भएको हलमा कार्यक्रम आयोजना हुनेछ। यसअघि ४२ विधामा दिइने अवार्ड यसपटक केही संशोधन हुने बताइएको छ। कार्यक्रममा नेपालीसँगै बलिउड र हलिउड चलचित्रका कलाकारको सहभागिता हुनेछ। अवार्ड कार्यक्रममा नेपालको सात प्रदेशको सांस्कृतिक झलक र झाँकी प्रदर्शनी हुने आयोजक समूहले जानकारी दिएको छ। उनले आवश्यकताअनुसार ५५ देखि ६० जना नेपाली समूह जाने जानकारी दिए।

नेपाली दर्शक धेरै भएको देशमा अवार्ड कार्यक्रम गरिरहेको अध्यक्ष लामाले बताए। नेफ्टा अवार्ड कार्यक्रम यसअघि दुबई, हङकङ, कतार र युएईमा आयोजना गरिएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .