ad ad

कला


‘गान्धी गोडसे एक युद्ध’ फिल्म नरोके हत्या गर्ने धम्की, निर्देशक राजकुमारले मागे सुरक्षा

मुम्बईका संयुक्त आयुक्तलाई पत्र​ : मेरो ज्यान ठूलो खतरामा छ
‘गान्धी गोडसे एक युद्ध’ फिल्म नरोके हत्या गर्ने धम्की, निर्देशक राजकुमारले मागे सुरक्षा

नेपालखबर
माघ १०, २०७९ मंगलबार १०:५९, काठमाडौँ

फिल्म ‘गान्धी गोडसे एक युद्ध’का निर्देशक राजकुमार सन्तोषीले सुरक्षा माग्दै मुम्बईका संयुक्त आयुक्तलाई पत्र पठाएका छन्। पत्रमा उनले आफू र आफ्नो परिवारका सदस्यलाई मार्ने धम्की आइरहेको लेखेका छन्। धम्की दिनेहरुले आफ्नो फिल्म ‘गान्धी गोडसे एक युद्ध’को रिलिज नरोके ज्यान गुमाउनुपर्ने चेतावनी पठाएको उनले बताएका छन्। 

दुई दिनअघि फिल्मको पत्रकार सम्मेलनका क्रममा राजकुमारलाई केही अज्ञात व्यक्तिले कालो झण्डा देखाएका थिए। आन्दोलनमा उत्रिएका मानिसहरूले गान्धीजीलाई युद्धबाट अपमान भएको बताएका छन्। उनीहरुले भनेका छन्, ‘फिल्ममा गान्धीलाई मार्ने नाथुराम गोडसेको महिमा गान गरिएको छ।’

मेरो ज्यान ठूलो खतरामा छ – राजकुमार सन्तोषी
राजकुमारले चिठीमा लेखेका छन्, ‘मलाई धेरै माध्यमबाट ज्यान मार्ने धम्की आइरहेको छ। मलाई धम्की दिनेहरु मेरो फिल्मको रिलिज रोक्न चाहन्छन्।’ उनले आफ्नो फिल्मको रिलिज नरोक्दा केही अप्रिय घटना हुन सक्ने भन्दै पत्राचार गरेका हुन्। 

दुई दिनअघि मुम्बईमा फिल्मसँग सम्बन्धित पत्रकार सम्मेलनमा केही व्यक्तिले हस्तक्षेप गरेपछि उक्त कार्यक्रम हिंसात्मक बाटोमा गएको थियो। कार्यक्रममै हमला गर्न खोज्ने व्यक्ति स्वतन्त्र रुपमा हिँडडुल गरिरहँदा आफू र आफ्नो परिवारलाई हानि हुन सक्ने डरले सताएको राजकुमारले बताएका छन्। 

राजकुमारले आयुक्तलाई लेखेको पत्रमा थप लेखेका छन्, ‘म यो विषयलाई गम्भीरतापूर्वक विचार गर्न चाहन्छु। मेरो ज्यानलाई भएको खतरालाई ध्यानमा राखी मलाई र मेरो परिवारलाई उचित सुरक्षा प्रदान गरिनुपर्छ।’ 

जनवरी २० मा ‘गान्धी गोडसे एक युद्ध’को पत्रकार सम्मेलनमा हंगामा भएको थियो। पत्रकार सम्मेलनका क्रममा उनीहरुले फिल्मको विरोध गरेका थिए। कालो झण्डा देखाएका थिए। उनीहरुले चर्को स्वरमा ‘गान्धी जिन्दावाद’को नारा लगाएका थिए। तत्कालै प्रहरीले घटनास्थल पुगेर स्थिति नियन्त्रणमा लिएको थियो। यो हंगामा हुँदा निर्देशक राजकुमार सन्तोषी, अभिनेता दीपक अन्तानी र चलचित्रका सह-निर्माता ललित श्याम टेकचन्दनी पनि मञ्चमा थिए। 

फिल्म कसैलाई अपमान गर्न नबनाइएको राजकुमारले बताएका छन्।  उनले आफूले कसैको महिमा गाउन तथा कसैलाई अपमान गर्ने दुवै आशयले फिल्म नबनाएको दाबी गरेका छन्। उनले फिल्ममार्फत गान्धी र नाथुराम गोडसेलाई मञ्च उपलब्ध मात्रै गराएको उल्लेख गरेका छन्। 

फिल्म हेरेपछि दर्शकले फिल्मबारे आफैं धारणा बनाउने र बुझ्ने उनको भनाइ छ। त्यसैले फिल्मको विरोध गर्नुको कुनै औचित्य नरहेको उनको तर्क छ। जनवरी २६ देखि रिलिजको तयारीमा रहेको फिल्म ‘गान्धी गोडसे एक युद्ध’ गणतन्त्र दिवसको अवसर पारेर रिलिज हुन् लागेको हो। फिल्ममा दीपक अन्तानीले महात्मा गान्धीको भूमिका निर्वाह गरेका छन् भने चिन्मय मण्डलेकर नाथुराम गोडसेको भूमिकामा छन्। फिल्ममा राजकुमारकी छोरी तनिषा सन्तोषी र अनुज सक्सेना पनि महत्त्वपूर्ण भूमिकामा देखिने छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .