बाजुराको बडिमालिका नगरपालिकाकी एक गर्भवती महिलाको अस्पताल ल्याउँदै गर्दा बाटोमै ज्यान गएको छ।
बडिमालिका नगरपालिका–१ पिनालेखकी गर्भवती महिला २६ वर्षीया जानकी विकको बाटोमा ज्यान गएको नगर प्रवक्ता धर्मराज पाध्यायले जानकारी दिए।
उनका अनुसार गत शनिबार ती महिलालाई पेट दुखेपछि जाँचका लागि परिवारले बाजुरा अस्पताल ल्याएका थिए।
उनी मुटु सम्बन्धि रोगबाट पनि ग्रसित थिइन्। सामान्य औषधी दिएर बाजुरा अस्पतालका चिकित्सकले सुविधा सम्पन्न अस्पताल लैजान परिवारलाई सुझाव दिएका थिए।
उनका श्रीमान् रमेश भारतमा काम गर्थे। त्यसैले उनले गर्भवती श्रीमतीलाई थप उपचारको लागि भारतको दिल्ली लैजाने तयारी गरेका थिए।
उनले बाजुरामा एम्बुलेन्सको खोजी गरे तर पाएनन्।
आर्थिक अवस्था पनि कमजोर भएकाले सार्वजनिक यातायात (बस)मै महेन्द्रनगर हुँदै दिल्लीतर्फ जाने निधो गरे।
सोमबार उनीहरू बाजुराबाट बस चढेर आएका थिए। बसमा महेन्द्रनगरतर्फ आउँदै गर्दा जानकीलाई अछाम र डोटीको सीमाना चौखुट्टेमा ब्यथाले च्यापेको थियो।
‘बाटोमा अफ्ठ्यारो भएपछि जिपमा अछामको बयलपाटा अस्पतालतिर लगेछन्, अस्पताल नपुग्दै ज्यान गएको हो,’ प्रवक्ता पाध्यायले भने, ‘बच्चा पनि सकुसल रहेनन्।’
सोमबार राति अछामको बयलपाटा अस्पताल पुर्याइएकी गर्भवती महिला र पेटभित्रको बच्चाको चिकित्सकले मृत घोषित गरेका थिए।
सुविधा सम्पन्न अस्पताल र अस्पताल पुर्याउन एम्बुलेन्सको सुविधा भएको भए गर्भवती महिलालाई जोगाउन सकिने स्थानीयको भनाइ छ।
पालिकासंग सम्पर्क गरेको भए एम्बुलेन्सको व्यवस्थापन हुने पाध्यायले बताए।
‘हामीले थाहा पाएनौं, उहाँहरु आफै दिल्लीतर्फ लैजान हुनुहुन्थ्यो,’ उनले भने, ‘हामीसँग समन्वय गरेको भएमा एम्बुलेन्सको व्यवस्था गर्न सकिन्थ्यो।’
प्रतिक्रिया