बत्तीका रंगीबिरंगी धर्काहरुले आकाश तथा भुइँ सबैतिर तिरिमिरि उज्यालो देखाइरहेकै बेला मञ्चमा चढेका गायक अमृत गुरुङले गाउन थाले– ‘आकाशैबाट के उडी आयो भेँडाको ऊनजस्तो?’

उता मञ्चको माथिल्लो भागबाट हिउँ पर्दैगरेको भान पार्नेगरी ‘स्नो इफेक्ट’को प्रयोग गरिएको थियो। तल सांगीतिक उत्साहमा चिच्याइरहेका झण्डै साढे ६ हजार दर्शकको आवाजले मञ्चको ध्वनिलाई समेत चुनौती दिइरहेको थियो।

हेटौंडामा आयोजित अघिल्लो कन्सर्टमा ब्यान्डकै स्थापनाकालीन गीत ‘आँगनैभरि’बाट सुरु गरेको नेपथ्यले यसरी चितवनमा भने दर्शकमाझ लाङटाङ क्षेत्रबाट संकलित गीतलाई पहिलो प्रस्तुतिका रुपमा छनोट गरेको थियो। प्रतिक्रियामा चार वर्षपछि यस सहरमा फेरि आएको ब्यान्डलाई दर्शकहरुले भरपूर स्वागत गरे।

चितवनका दर्शकहरुसँग नेपथ्यको सम्बन्ध निकै पुरानो हो। सबैभन्दा पहिलो कन्सर्ट यहाँ ब्यान्ड स्थापनालगत्तै गणेश चलचित्र मन्दिरमा सन् १९९५ मा आयोजना गरिएको थियो। त्यो क्रम बढ्दै पछिल्लोपटक ब्यान्ड सन् २०१८ मा यहाँ प्रस्तुत भएको थियो। त्यतिबेला नारायणी नदीको किनारमा कन्सर्ट आयोजना गरिएको थियो भने यसपालि पहिलोपटक क्याम्पाचौरको मैदान झकिझकाउ पारिएको थियो।
देशव्यापी यात्रामा निस्केको नेपथ्यको यो चौथो प्रस्तुतिमा पनि दर्शकको उल्लेख्य उपस्थिति थियाे। महिना दिन लामो यात्राअन्तर्गत यसअघि नेपथ्यले विराटनगर, वीरगन्ज र हेटौंडामा यस्तै भव्य कन्सर्ट सम्पन्न गरिसकेको छ।
करिब डेढ दशक पुरानो गीतबाट कार्यक्रम सुरु गरेको ब्यान्डले दोस्राे गीत भने झण्डै तीन दशक पुरानो सुनाएको थियो। गीत थियो - ‘छेक्यो छेक्यो देउराली डाँडा’। नेपथ्यको सर्वकालीक हिट यो गीत ब्यान्डको दोस्राे एल्बम ‘हिमाल चुचुरे’मा समेटिएको छ।
यो गीत सकिनेबित्तिकै गायक अमृतले दर्शकलाई अभिवादन गरेका थिए।
‘नारायणघाट आउँदा जहिले पनि म उही ३० वर्षअघिको अमृत गुरुङ हुँ जस्तो महसुस हुन्छ’, उनले भनेका थिए, ‘फेरि भेट्ने जोग जुरेको बेला सबैलाई स्वागत छ है।’
त्यसपछि अमृतले आफ्ना ३ लोकप्रिय गीत गाएर सुनाए।
कार्यक्रम अवधिभर गायक अमृत गुरुङले मानवसेवा आश्रमको उद्देश्यबारे बोलेका थिए।
‘जीवन भनेको आज छ भोलि के हुन्छ, थाहा छैन। आफू बाँचे पनि समाजका अरु मानिसहरु बाँच्न पाएका छन् कि छैनन् भन्ने चिन्ता लिँदै गच्छेअनुसारको दान सबैले गरौं है’ उनले उपस्थित दर्शकलाई आग्रह गरे।
घरपरिवारबाट निकालिएर सडकमा आश्रित मुलुकभरका नागरिकको सेवामा खटिएको मानव सेवा आश्रमसँग मिलेरै नेपथ्यले यसपटकको देश दौडाहा गरेको हो।
Shares

प्रतिक्रिया