विराटनगर र वीरगन्जपछि नेपथ्यले हेटौंडामा पनि दर्शकबाट न्यानो स्वागत पाएको छ।
यो तेस्रो कन्सर्टमा भने ब्यान्डले आफ्नो ‘मेन्यु’मा केही तलमाथि गरेको थियो। अघिल्ला दुवै आयोजनामा ‘भेँडाको ऊनजस्तो’बाट सुरु गरिएको कन्सर्टभन्दा यसपाला नेपथ्यले बेग्लै अलिक सुस्त गतिको गीतबाट आफूलाई प्रस्तुत गर्यो। हेटौंडामा गाइएको प्रारम्भिक गीत नेपथ्यको आफ्नै इतिहासमा पनि पहिलो रचना थियो।
‘आँगनैभरि हिउँ नै झरे
आरु फूल है टिपी राख्नू’
स्थापनाकालीन गीत प्रस्तुत गरिरहँदा मञ्चको पृष्ठभूमिमा स्थापनाकालीन नेपथ्यकै टोलीका तस्बिरहरू देखाइएको थियो। गीतअघि बढ्दै जाँदा ब्यान्डले बितेका ३३ वर्षमा गरेको यात्राका झलक आउनेगरी तस्बिरहरूको संयोजन गरिएको थियो।
ब्यान्डको अर्काे पुरानो लोकप्रिय गीत ‘छेक्यो छेक्यो देउराली डाँडा’ गाइरहँदा पूर्णिमाको जूनले हेटौंडाको मनकामना डाँडाबाट आफूलाई बिस्तारै मास्तिर उकाल्दै लगेको मनोरम दृश्य देखिन्थ्यो।
ब्यान्डका गायक तथा अगुवा अमृत गुरुङको नजर पनि आकाशतिरै परेछ।
‘यो जुनेली रातलाई अझ रमाइलो बनाउनका निम्ति म तपाईंहरूलाई लमजुङतर्फ लैजान चाहन्छु,’ उनले थपे, ‘म रोदीघरतिर तपाईंहरूलाई डुलाउन चाहन्छु।’
त्यसपछि उनले सुरु गरे :
‘खान्नँ म त लामपाते सुरती
लाउँ कि नलाउँ जुग जाने पिरती’
त्यसपछि पनि नेपथ्यका पुरानै गीतहरू ‘चरी मर्यो’ र ‘जोमसोमे बजारमा’ले निरन्तरता पाएका थिए।
‘म धेरैपटक हेटौंडा आएको छु’, अमृतले दर्शकहरूलाई सोधे, ‘के तपाईंहरू पोखरा जानुभएको छ? त्यसभन्दा अलिक पर जोमसोम जानुभएको छ? धौलागिरि जानुभएको छ?’
दर्शकहरूलाई स्वदेश घुम्ने सल्लाह दिँदै अमृतले त्यसपछि धौलागिरितिरै तयार पारिएको गीत सुनाए :
‘शिरफूल शिरैमा वनफूल वनैमा
हिउँको फूल धौलागिरिमा’
कार्यक्रम अवधिभर गायक अमृत गुरुङले मानवसेवा आश्रमको उद्देश्यबारे बोलेका थिए।
घरपरिवारबाट निकालिएर सडकमा आश्रित बन्न पुगेका मुलुकभरका नागरिकहरूको सेवामा खटिएको यो संस्थासँग मिलेरै नेपथ्यले यसपटकको देश दौडाहा गरेको हो।
यसै क्रममा ब्यान्डको अर्को सर्वकालिक हिट गीत ‘यो जिन्दगानी’ गाउँदै गर्दा मञ्चको पृष्ठ भागमा आश्रमकै आश्रित मानवहरूको मनछुने तस्बिरहरू देखाइएको थियो।
‘केटाकेटीलाई शिक्षाको उज्यालो देखाउनु र आश्रय नपाएकाहरूलाई बाँच्ने आधार तयार पार्नुजत्तिको पवित्र कर्म अरु कुनै छैन’, सरकारी विद्यालयहरूकै निम्ति यसअघि चारपटक हेटौंडामा आफूलाई प्रस्तुत गरिसकेका उनी भनिरहेका थिए, ‘पुण्य कमाउने हो भने आआफ्ना ठाउँबाट गच्छेअनुसारको दान गर्न आजैबाट सुरु गर्नुस्।’
गुरुङ र उनको टोलीले अघिल्लो दिन बुधबार मात्रै हेटौंडास्थित ‘मानव सेवा आश्रम’को मुख्यालय भ्रमण गरेका थिए। त्यतिबेला उनले यस आश्रमले मुलुकभर सडकमा आश्रितहरूलाई खाना र छाना दिने काम गरेकैबाट प्रभावित भई आफ्नो ब्यान्डलाई अब संगीतका माध्यमबाट मानवताको सेवातर्फ मोड्न खोजेको उनले बताए।
कन्सर्टअघि बढ्दै जाँदा ‘गाउँ गाउँबाट उठ’ को पालो आइपुग्यो। अमृतले मञ्चबाट यो गीत गाइरहँदा हेटौंडाको भुटनदेवी स्कुल मैदानमा भरिएका अधिकतर दर्शकले पनि गाएरै साथ दिए।
त्यो उत्साहलाई समात्दै गीतको बीचैमा गायक अमृतले बोल्न पनि थाले :
‘भर्खरै चुनाव सकिएको छ। घर–घर विभाजित भएको छ। तर, अब हामीले यो समाजलाई जोड्नतर्फ लाग्नुपर्छ। हामी विद्यालय बनाउनका निम्ति एकापसमा जोडिनुपर्छ। हामीले गाउँगाउँमा अस्पताल पुर्याउनका निम्ति जोडिनैपर्छ।’
धुनकै क्रममा गायकबाट आएको यो आह्वानले नाचिरहेका दर्शकमा अझ उत्साह थपेको थियो।
कार्यक्रमको अन्त्यतिर सधैँजस्तै नेपथ्यको सर्वकालिक हिट गीतहरू ‘रेशम’ र ‘तालको पानी’ गाइएको थियो भने अन्तिममा ‘रातो र चन्द्रसूर्य’ बाट बिट मारिएको थियो।
‘हेटौंडामा नेपथ्यलाई सबैभन्दा बढी मनपराउने मानिस बस्छौँ,’ भिडकै बीच नृत्य गरिरहेका तन्नेरी आकाश अधिकारी भनिरहेका थिए, ‘ब्यान्डको एकल कार्यक्रम पहिलोपटक खुला आकाशमुनि यसरी भएकोमा पहिलेभन्दा झनै रमाइलो लागिरहेको छ।’
दर्शकदीर्घाको पहिलो लहरमै सबै उमेर समूहका महिलाको सुरुदेखि अन्तिमसम्म एकोहोरो नृत्यले पनि फरक फरक दर्शकमा कन्सर्टले पारेको प्रभाव देखिन्थ्यो। कन्सर्ट हेर्न आएका साना नानीहरूलाई भने हेटौंडामा मञ्चको ठीक अगाडि सुरक्षित तवरले रमाउन सक्नेगरी बन्दोबस्त मिलाइएको थियो।
संगीतका साथै मानवता प्रवर्द्धनका लागि नेपथ्यको यो कन्सर्टले हेटौंडामा लगातार तेस्रो सफलता पाएकोमा मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले खुसी व्यक्त गरे।
‘यो सहरबाटै बलेको मानवताको उज्यालो मुलुकभर फैलिँदै गएको छ’, उनले भने, ‘त्यसैलाई थप अघि बढाउनका निम्ति आयोजित यो कन्सर्टमा सघाउने सबै सहयोगीलाई धन्यवाद दिन चाहन्छु।’
हेटौँडाको कन्सर्ट सम्पन्न भएपछि ७० सदस्यीय नेपथ्य टोली पाँचवटा ट्रक र दुईवटा बसमा नारायणघाटतर्फ प्रस्थान गर्दै छ। मानवसेवा आश्रमकै आयोजनामा त्यहाँस्थित ‘क्याम्पा चौर’मा नेपथ्य मंसिर २५ गते आइतबार प्रस्तुत हुँदै छ।
प्रतिक्रिया