नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव २०७९ (निटफेस्ट–२०२२०) ले अग्रिम कार्यक्रम स्वरुप अग्रजसँग अन्तर्क्रिया गरेको छ। महोत्सव सुरु हुनु ८ दिनअघि ‘म त लालीगुराँस भएछु’ शीर्षकमा निटफेस्टले अग्रज रङ्गकर्मीहरुसँग नेपाली रङ्गमञ्चमा गरेका अनुभव, कलाशैली, संघर्ष र तत्कालिक समय सन्दर्भमा अन्तर्क्रिया गरेको हो।

नेपाली रङ्गमञ्चको तीनपुस्ताबीचको भलाकुसारीका रुपमा गरिएको कार्यक्रममा अग्रज रङ्गकर्मीहरु पुस्कर गुरुङ, विजय विस्फोट, वीरेन्द्र हमालसँग रङ्गकर्मी सरिता गिरीले कुराकानी गरिन्। तेस्रो पुस्ताका समकालीन रङ्गकर्मीहरु उनका अनुभव र संघर्षका स्राेताका रुपमा सहभागी थिए।
अन्तर्क्रियाका क्रममा अभिनेता, निर्देशकका रुपमा परिचित तथा डबली थिएटरका संस्थापक पुस्कर गुरुङले अहिले वर्तमान रङ्गमञ्चमा आफ्नो सक्रियता पुस्ता हस्तातरणका लागि भइरहेको बताए। उनले भने, ‘मैले नेतृत्व गरिरहेका रङ्गमञ्चीय काम र संस्था अगाडि बढाउन नयाँ पुस्ता तयार पारिरहेको छु।’

त्यस्तै नाटककार, निर्देशक, अभिनेता विजय विष्फोटले रङ्गकर्मीको मूल्याकंन भनेको उनको कामले गराउने बताउँदै थपे, ‘देशले अझै पनि रङ्गकर्मी चिनिरहेको छैन, यहाँ रङ्गमञ्चको शैलीसँगै नीतिगत कुरामा जोड दिनुपर्छ।’
उनले थिएटर ‘कस्मेटिक’ बन्दै गएको दाबी गर्दै चिन्ता व्यक्त गरे।
नेपाली रङ्गमञ्चमा कलाकार, रङ्गकर्मीहरु जन्माउन उल्लेखनीय भूमिका रहेका एमआर्ट थिएटरका संस्थापक तथा अभिनेता, निर्देशक वीरेन्द्र हमालले कुनै समय आफू रित्तिएर नेपाली रङ्गमञ्चमा केही भर्ने प्रयास गरेको अनुभूति सुनाए।
भने, ‘कुनैबेला आफूले जन्माएका कलाकारका सामू यसरी नेपाली रङ्गमञ्चको अनुभव बाँड्न पाउनु आफू भरिएको अनुभूति भइरहेको छ ।’ उनले पुस्ता हस्तातन्तरणमा रङ्गमञ्चको शैली र इतिहास हस्तान्तरण हुनुपर्ने धारणा व्यक्त गरे।
आयोजक मण्डला थिएटर नेपालले नाट्य महोत्सवलाई अग्रजको आशीर्वादसँगै समकालीन रङ्गमञ्चलाई महोत्सवमय बनाउन अग्रिम कार्यक्रम गरेको हो। यही मंसिर ९ देखि १७ गतेसम्म हुने महोत्सवमा विभिन्न देशका २२ नाटक, विभिन्न तालिम, सेमिनार, कार्यशाला, अन्तर्क्रिया, कला प्रस्तुति हुनेछन्।
महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे, कम्बोडिया र अर्जेन्टिनाका नाट्य समूह सहभागी हुनेछन्। भारतबाट सुप्रसिद्ध अभिनेत्री शबाना आजमीलगायतले महोत्सवमा सहभागीता जनाउने छन्।
Shares

प्रतिक्रिया