बलिउडकी चर्चित अभिनेत्री मनिषा कोइराला राजतन्त्रको वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पक्षमा मत माग्न थालेकी छन्। उनी राप्रपाका लागि मत माग्न शुक्रबार तीन वटा चुनावी सभालाई सम्बोधन गर्ने भएकी छन्।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले अभिनेत्री मनिषाले एकै दिन तीन वटा चुनावी सभालाई सम्बोधन गर्ने जानकारी दिएका छन्।
उनका अनुसार मनिषाले कास्कीको पोखरा, स्याङ्जाको वालिङ र काठमाडौंको बसन्तपुरमा हुन गइरहेको चुनावी सभालाई सम्बोधन गर्ने भएकी हुन्। तीन वटै चुनावी सभालाई अध्यक्ष राजेन्द्र लिङ्देनले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको राप्रपाले जनाएको छ।
अभिनेत्री मनिषा नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइरालाका जेठा छोरा प्रकाशकी छोरी हुन्। २०६२ असार ३१ मा राजा ज्ञानेन्द्रले तत्कालीन मन्त्रिपरिषद् खारेज गरी सत्ता हातमा लिएपछि प्रकाश वातावरण, विज्ञान तथा प्रविधिमन्त्री भएका थिए।
राजाको प्रत्यक्ष शासनमा सहयोगी भएर मन्त्रिपरिषदमा सहभागी भएपछि कांग्रेसले उनलाई पार्टीबाट निस्कासित गरेको थियो।
Shares
प्रतिक्रिया