तिहारअघि कलाकार रामचन्द्र अधिकारी निक्कै बिरामी परे। झण्डै १२ दिन अस्पताल भर्ना भएर बसेका
अधिकारी केही दिन अचेत अवस्थामा थिए। केहीदिन अघि मात्रै अस्पतालबाट घर फर्किएका अधिकारी भन्छन् ‘अस्पतालमा रहँदा त मृत्युको मुखमा नै पुगेको महसुस भएको थियो। बाँच्दिन कि भन्ने लाग्थ्यो । डिस्चार्ज भएपछि चाहिँ अब केही हुँदैन भन्ने आत्मबल बढेको छ।’
उनले भने, ‘शुरुमा मलाई केही दिनदेखि नियमित सुख्खा खोकी लागेको थियो । घरमै त्यसको औषधी खाएर आराममा थिएँ।’
उनलाई सुरुमा सुख्खा खोकी लागेको थियो। घरमै औषधी खाएर बसे। त्यसको केहीदनमा एकाएक १०४ डिग्री ज्वरो देखियो । तत्कालै अस्पताल पुग्दा डेंगु, निमोनिया लगायतका रोग एकै पटक देखियो। एता अस्पतालको बेडमा उनी अचेत अवस्थामा थिए, बाहिर भने उनको मृत्युको खबर फैलियो।
होसमा आउँदा थुप्रै जिल्लाबाट उनलाई तारन्तार फोन आइरहेका थिए। धेरैले उनलाई श्रद्धाञ्जली दिन समेत भ्याए।
उनको यो खबरले देश तथा विदेशमा बस्ने उनका शुभचिन्तक निक्कै दुःखी भए। अधिकारीले धेरै वर्ष अघि काम गरेको ‘रहर’ फिल्मको सिलसिलामा भेट भएका अरुण पहलले त उनी जीवितै छन् भन्दा पत्याउन सकेनन् ।
अरुण परिवारसहित उनलाई भेट्न आए। भन्छन् ‘मेरो मृत्युको हल्ला राम्रै भएछ। नचाहिँदो हल्ला फैलिएको देख्दा नरमाइलो लाग्यो। अस्पतालको बेडमा बसेर सामाजिक सञ्जालमा आएका मृत्युका हल्ला हेर्दा म आफैं हल्लिन्थे। अहिले सायद यो हल्लाले मेरो आयु पो बढ्यो की भन्ने लाग्छ।’
आफ्नो मृत्युको हल्लाले परिवार र आफन्तलाई पनि गहिरो पीडा दिएको अधिकारीले महसुस गरेका छन्। त्यसैले उनले मात्रै हल्ला गर्न अनुरोध समेत गरेका छन्। भन्छन् ‘मेरो मृत्युको हल्ला फैलियो, मलाई त खास फरक परेन । तर मेरा दर्शक, शुभचिन्तक र आफन्तलाई पीडा भयो। त्यो सम्झिदा अहिले पनि मन भारी हुन्छ।’
अधिकारीको मृत्युको खबर फैलिएपछि उनले पछिल्लो समय अभिनय गरिरहेका सिरियल ‘कान्छी’, ‘मेरी बास्सै’ लगायतका कलाकारले स्पष्टिकरण समेत दिनु परेको थियो। उनीहरुले अस्पताल पुगेर अधिकारीसँग खिचेका तस्बिर सार्वजनिक गर्दै मृत्युको हल्ला निराधार रहेको बताएका थिए।
Shares

प्रतिक्रिया