दसैँ आएसँगै सबैको कानमा गुञ्जने धुन हो मालश्री। यो धुन सुन्दै थुप्रै पुस्ताले दसैँ मनाए। दसैँ सुरु नहुँदै रेडियोबाट दसैँ बोलाउने मालश्री धुनको बेग्लै महत्व छ। सदियौँदेखि दसैँलाई संगीतमय बनाउँदै आएको यो धुनको जन्म कहिले र कसरी भयो? कसैले भन्न सक्दैन।
कतै कतै मालश्री धुनको सिर्जना मल्ल राजाका पालामा भएको भेटिन्छ। दसैँसँगै शरद ऋतुको वर्णन गर्दै दुर्गा भवानीको स्तुति गरेर बजाइने मालश्री धुनको खास उत्पतिबारे खोजीनीति भएको पाइँदैन।
अहिले हामीले मालश्री भनेर सुन्दै आएको धुन सुरुमा ठ्याक्कै यस्तै थियो थिएन भन्ने इतिहास छैन्। कताकति मल्लकालमा यो धुन सिर्जना भएको मानिन्छ।
मालश्रीका गीत र धुन विशेषगरी शाह राजाकालीन समयमा गाउने-बजाउने गरिन्थ्यो। त्यसबेला यस्ता गीत र धुन सेनाहरूको मनोबल बढाउन र हौसला प्रदान गर्न बजाइन्थ्यो।
सेनाले शक्तिको स्रोत उपासना गर्ने भएकाले ब्यारेकमा देवीको विशेष पूजामा मालश्री धुनको प्रयोग गरिन्थ्यो।
सेनाकै परम्परालाई पछ्याएर सर्वसाधारणले पनि दुर्गा भवानीको पूजा गर्दा मालश्री धुन र गीत प्रयोगमा ल्याएपछि यो समाजसम्म फैलिएको अनुमान गरिन्छ।
नौराथामा प्रत्येक दिन फरकफरक शक्ति स्वरुपा देवीको आराधना गरिन्छ। फरक देवीको आरधना गर्दा फरक फरक मालश्रीको राग बज्नु पर्ने हो।
तर हामीले एकै प्रकारको मालश्री धुन सुन्दै आएका छौँ। त्यसमा राग र धुनमा फरक छ। मलश्री धुन मालश्री रागबाट निकालिएको हो।
शास्त्रीय संगीतअन्तर्गत मालश्री राग काफी थाट र चारवटा स्वर लाग्ने कल्याण थाटमा पर्छ।
यसरी रागअनुसार विकास गरिएको भए मालश्री धुन सयौँ पटक सुनिन्थ्यो। सुरुदेखि नै हामीले गीतअनुसार अहिले बज्ने गरेको मालश्री धुन लिएका छौँ। त्यसैले मालश्रीको स्वरूप परिवर्तन र विकास हुन सकेन।
यो धुन देवीको प्रशंसामा बजाइने, गाइने गरिन्छ। दसैँमा पनि शक्ति स्वरुपा दुर्गा भवानीको पूजा आरधना गरिँदा यही धुनको प्रयोग गरियो।
मालश्री धुनलाई देवीको स्तुतिका रुपमा गाइने प्रचलन सुरु भएको हो। सुरुसुरुमा यो धुन महिलाहरुले नै गाउँने प्रचलन पनि थियो।
मल्लकालीन समयमा मालश्रीको प्रारम्भ भएको मानि पनि भाषाको दृष्टिकोणबाट यसको खोज र अध्ययन गर्नेहरुले दक्षिणतिरबाट उकालो लागेको बताएका छन्।
त्यहाँ प्रयुक्त भाषाहरु पनि त्यस्तै प्रकारका छन्। अर्कोतिर संस्कृतमा पनि भएको र आफ्नै ढंगमा गाइने गीत भनिएको छ। जेहोस् मूलतः दसैँमा दुर्गा भवानीको स्तुतीमा गाइने गीत हो माश्री।
दसैँ पनि नेपालमा दुई सिजनमा मनाइन्छ। एउटा चैत्र महिनामा अर्को असोजमा। चैतमा मनाइने दसैँलाई हामीले सानो दसैँ भन्ने गरेका छौँ।
असोजमा मनाउने दसैँलाई बडा दसैँ भनेर भव्य रुपमा मनाउने गरेका छौँ।
तर, कतिपय अनुमान के पनि छन् भने, सुरुमा चैतमै दसैँ मनाइन्थ्यो। चैत-वैशाख गर्मी सिजन हो।
मासु लगायत धेरै परिकार खाँदा रोगब्याधीले सताएपछि दसैँलाई हिउँदको थालनीतिर सारिएको भनिन्छ।
त्यसपछि नै चैतको दसैँलाई संक्षिप्त रुपमा मनाउन थालिएको हो। अहिले पनि चैतमा दसैँ मनाउने प्रचलन छँदैछ।
मालश्रीको विकास पनि यसैगरी हुँदै आएको हो। यो एउटा शास्त्रीय धुन भए पनि जनजिब्रोमा आइपुग्दा त्यो शास्त्रीयतासँग मालश्रीको एक वा अर्को प्रकारले विच्छेद हुँदै गएको पाइन्छ।
शस्त्रीयताबाट केही परिमार्जित भएर लोकमा प्रचलित भएको मालश्री पुरुषहरुले गाउन थालेको धेरै भएको छैन। दुर्गाको स्तुति भएकाले सुरुसुरुमा महिलाहरुले मात्रै मालश्री धुन गाउने गरेका थिए।
मालश्रीलाई हामीले बुझ्दा लोकमा प्रचलित भएको, लोकले ग्रहण गरेको छ। मलश्रीमा विभिन्न समयमा बाजा, ताल, कलाकार र स्थान परिवर्तन भएका छन्।
तर यसको धुन जानिने गरि परिवर्तन भएको छैन। हामीले सुन्दै आएको र लोकप्रिय भएको मालश्री धुन मात्रै मालश्री होइन। तर कसैले यसबाहेक अन्य मालश्री धुन बजाउने प्रयास गरे भन्ने मान्छेलाई पत्याउन मुस्किल हुन्छ।
किन कि अहिलेको मालश्री धुन लोकप्रिय भइसक्यो। पुस्तौँदेखि हामीले यही धुनलाई मालश्रीका रुपमा सुन्दै आयौँ। यही मालश्री धुन सुन्ने, बजाउने र गाउने बानी परिसकेको छ। अहिले त मालश्री र दसैँ पर्यायवाची जस्तै भइसक्यो। मालश्री धुन बजेपछि दसैँको परिकल्पना गर्ने गरिन्छ।
कतैकतै मालश्री गीतको रचना अमरसिंह थापा र दलजित पाण्डेहरूले गरेको भन्ने पनि पाइन्छ। त्यसताका मालश्री दरबारमा मात्रै गाइन्थ्यो पनि भनिन्छ।
त्यतिबेला शक्तिको आरधना नभै राज्यव्यवस्था सञ्चालनै हुँदनथ्यो। त्यसैले दरबारमा तथा विशेष व्यक्तिका घरमा धेरै गाइने प्रचलन भएको हुन सक्छ। तर दरबार बाहिरका मान्छेले गाउँदै नगाउने भन्ने चाहिँ नहुन सक्छ।
अहिले सामाजिक सञ्जाजालका अनेक प्लेटफर्म छन्। कुनै समय रेडियो पनि थिए।
त्यतिबेला दुर्गाको मन्दिरमा गएर, राज्यले सञ्चालन गरेका शक्तिपीठमा गएर मालश्री गाउने प्रचलन थियो।
अहिले दसैँ आएपछि रेडियोमा, टेलिभिजनमा मालश्री बजाइन्छ। मन पर्नेहरुले युटुयुबमा पनि सुन्छन्।
पूजा घरमा, शक्ति पिठमा पनि मालश्री गाउने प्रचलन हरायो। तर बजाएर विशेष रुपमा मनाइन्छ।
नेपालखबरका लागि राधिका अधिकारीले गरेको कुराकानीमा आधारित
Shares
प्रतिक्रिया