आज शुक्रबार नेपाली सिनेमा हलहरुमा फिल्म ‘बोक्सीको घर’ रिलिज भएको छ। विदेशी फिल्म ‘रुसलान’ सँगै केकी अधिकारीको फिल्म ‘बोक्सीको घर’ आजदेखि हलमा लागेको हो।
‘बोक्सीको घर’ सामाजिक थ्रिलर जनरामा निर्माण भएको हो। केकीको होम प्रडक्सनमा बनेको यो फिल्म ८ वर्षअघि मञ्चन भएको चर्चित नाटक ‘बोक्सीको घर’ माथि रहेर बनाइएको हो।
नाटककै लेखक एवं निर्देशक सुलक्षण भारतीले सिनेमालाई निर्देशन गरेका हुन्। फिल्ममा केकी र सुलक्षणसहित स्वेच्छा राउत, रमा थपलिया, सुपला सापकोटा, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ।
बद्रीबहादुर अधिकारी निर्माता रहेको फिल्मको कार्यकारी निर्माता राजकुमार घिमिरे हुन्। प्रदर्शनअघि नै चर्चामा रहेको बोक्सीको घरले हलमा उत्साहजनक शो पाएको छ।
त्यसैगरि, एक्सन थ्रिलर जनरामा बनेको बलिउड फिल्म ‘रुसलान’ पनि रिलिज भएको छ। करण ललित बुटानीको निर्देशन रहेको फिल्ममा आयुश शर्मा, जगपती बाबु, सुश्री मिश्रा लगायतका कलाकारहरुको अभिनय छ।
Shares
प्रतिक्रिया