ad ad

कला


‘प्रेमगीत ३’ ले झेलेको अप्ठ्यारो

‘प्रेमगीत ३’ ले झेलेको अप्ठ्यारो

नेपालखबर
असोज ९, २०७९ आइतबार ८:३३, काठमाडौँ

नेपाली फिल्म उद्योगमा पछिल्लो समय चर्चा छ भने त्यो ‘प्रेमगीत ३’कै हो। यो फिल्म गत शुक्रबारदेखि नेपाल तथा विश्वका विभिन्न हलमा प्रदर्शन भैरहेको छ। हिन्दीमा पनि डब भएको ‘प्रेमगीत ३’ले भारतीय बजारमा राम्रो स्थान पाएको छ। 

तर यो फिल्मले सेन्सरबाटै विभिन्न खाले समस्या सामना गर्नपर्यो। चलचित्र विकास बोर्डले फिल्मको हिन्दी डबलाई विदेशी सिनेमाको सूचीमा राखेपछि लामो विवाद भयो। यो विवादमा फिल्म उद्योग नै दुई कित्तामा विभाजन भयो।

निर्माता तथा निर्देशक सन्तोष सेनले फिल्म नेपाली हो भन्ने अडान छाडेनन्। अन्ततः सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हिन्दीमा डब गरिएको ‘प्रेमगीत ३’ नेपाली फिल्म नै रहेको निर्णय गर्यो। मन्त्रालयले भन्यो, ‘यो सिनेमालाई नेपाली फिल्मकै सेवा सुविधा दिनू।’

मन्त्रालयको यो निर्णयसँगै नेपाली र विदेशीको विवाद टुङ्गियो। 

प्रदर्शनको दुई दिनअघि प्रचारका लागि सहरमा टासिएका पोस्टर च्यातिए। निर्मातासमेत रहेका निर्देशक सेनले मन दुखाउँदै पोस्टर च्यातेको भिडिओ पोस्ट गरे। त्यतिबेला उनी फिल्म प्रमोसनका लागि भारत पुगेका थिए। 

अन्ततः फिल्म रिलिज भयो। भारतीय बजारमा राम्रो प्रतिक्रिया पाएको फिल्मले घरेलु बक्स अफिसमा पनि राम्रै कारोबार गरिरहेको छ। तर नेपाल प्रदर्शनमा केही मानिस फिल्मको गलत प्रचारमा प्रयोग भएको भन्दै फिल्मका अभिनेता प्रदीप खड्काले सञ्जालमा आक्रोश पोखिरहेका छन्। नेपाली बजारमा हिन्दी डब र नेपाली दुवै सिनेमा एकसाथ प्रदर्शन हुने भनिएको भए पनि हिन्दी डब गरिएको फिल्म शुक्रबार रिलिज हुन पाएन। हिन्दी डब फिल्म प्रदर्शन नेपाल प्रदर्शनअगावै पाइरेसी भयो। 

हिन्दी भर्सनको सेन्सर सर्टिफिकेट नआइसकेकाले नेपालमा हिन्दी संस्करण सोमबार मात्रै रिलिज हुने जनाइएको छ। यद्यपि नेपालमा प्रदर्शन हुनुपूर्व नै प्रेम गीत ३ ‘अनएथिकल’ साइट ‘टेलिग्राम’मा लिक भएको हो।

भारतीय बजारमा राम्रो कलेक्सन गरिरहेको फिल्मको हिन्दी संस्करण नेपाल प्रदर्शनअगावै लिक हुनुले निर्माताले आर्थिक नोक्सान बेहोर्नुपर्ने देखिएको छ। 

छेतेन गुरुङसँग मिलेर सन्तोष सेनले निर्देशन गरेको यो फिल्ममा प्रदीप खड्का, कृष्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत, सुनिल थापा, प्रेम पुरी‍लगायत कलाकारले अभिनय गरेका छन्। फिल्मले घरेलु बक्स अफिसमा पनि साताको दुई दिन बम्पर व्यापार गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .