ad ad

कला


कैयौं ठक्करपछि उडेको सुजितको ‘ऐना झ्यालको पुतली’

कैयौं ठक्करपछि उडेको सुजितको ‘ऐना झ्यालको पुतली’

राधिका अधिकारी
भदौ ३१, २०७९ शुक्रबार ८:१४, काठमाडौँ

उनलाई आफैंले छोडिआएको समयको कथा भन्नु थियो। त्यो पनि ‘अर्गानिक’ शैलीमा। फिल्म क्षेत्रमा उनले बिताएको डेढ दशक लामो समयले पनि उनले कथा वाचनका लागि फिल्म नै रोज्नुपर्ने थियो। उनले फिल्म नै रोजे। समाजको एक कालखण्डलाई कथामा उने र बनाए ‘ऐना झ्यालको पुतली’। अहिले हलमा उडिरहेका उनकै सपनाका पुतलीहरू चर्चामा छन्। यो चर्चाले उनी पनि खुसी देखिन्छन्। उनी अर्थात् सुजित बिडारी। 

सुजितको ओठमा यो खुसी फुल्नुअघि भने थुप्रैपटक बादल लागेको थियो। कैयौंपटक ऐठन परेको छ उनको सपनामा। फिल्म निर्माणको सुरुवाती चरणबाटै सुजितले थुप्रै अप्ठ्यारा सामना गर्नुपर्यो। उनी चाहन्थे– फिल्म, फिल्मजस्तो नबनोस्, जीवनजस्तै होस्। उनले अभिनय नै नगरेका कलाकार लिए। कार्यशाला चलाए। ती कलाकारले फिल्ममा अभिनय गरेनन्, सुजितले कल्पना गरेको जस्तै जिन्दगी बाँचिदिए। तर सबै नयाँ हुँदा व्यवस्थापकीय कमजोरी भए। जसले गर्दा काममा असहजता देखियो। 

यो फिल्म खिच्ने बेला सुजितसँग केही छोटा फिल्म निर्देशनसँगै केही ठूला फिल्ममा सहायक निर्देशक बन्दाको अनुभव थियो। केही पटकथा लेखेकै थिए। तर ‘ऐना झ्यालको पुतली’मा काम गर्ने बेला पुराना अनुभवले खासै काम गरेन। फिल्ममा प्रायः नयाँ कलाकार छन्।

उनी भन्छन्, ‘नयाँ क्रु–मेम्बर हुनु सकारात्मक पक्ष हो। तर यही कुरा छायांकनमा जाँदा कमजोरी बनिदिँदो रहेछ। अझ बाल कलाकारलाई लिएर काम गर्न सोचेजस्तो सजिलो भएन।’

फिल्म छायांकनका क्रममा देखिएका ती असहजतालाई टिमको ‘सेन्टिमेन्टल अट्याचमेन्ट’ले काम गर्यो। ‘आत्मीयता र आफ्नोपनलाई कुनै कमजोरीले पनि नगाल्दो रहेछ’ सुजितले सुनाए। यो फिल्म निर्माणका क्रममा भएका कमजोरीबाट अब हिँड्ने बाटोका लागि पाठ सिकेको सुजितले बताए। 

रोकिँदै, भत्किँदै फिल्मको छायांकन सकियो। सुजित फिल्मको साउन्ड मिक्सिङका लागि भारत गए। त्यही बेला विश्वमा कोरोना महामारी फैलियो। देशमा लकडाउन सुरु भयो। यो मार सुजितको ‘ऐना झ्यालको पुतली’ले पनि खेप्नुपर्यो। झण्डै अढाई वर्ष फिल्म थन्कियो। उनी समय कहिले सामान्य होला भन्ने पर्खाइमा बसे। प्रतीक्षाको यो समय सुजित काठमाडौं बस्न सकेनन्। हेटौंडा फर्किए। 

त्यो समय हेटौंडामा सिनेमाको माहोल नै थिएन। उनलाई बारम्बार लाग्थ्यो – ‘अब सिनेमाको भविष्य सकियो।’ आफैंले आफूलाई प्रश्न गरे – ‘सुजित तँ सिनेमामा किन लागिस्?’ 

भन्छन, ‘आफ्नो फिल्म रिलिज गर्न नपाएको अवस्था, अब फिल्मको भविष्य छैन भनेर चलेको चर्चा, एक लेभलको डिप्रेसन नै भएको थियो।’

सिनेमाकै भविष्य नभएपछि सिनेकर्मीको भविष्यका बारेमा के कल्पना गर्नु! उनले पनि कल्पना गर्न सकेनन्। पूर्ण रूपमा काठमाडौं छाडेर हेटौंडा फर्किने र जीविकोपार्जनका लागि केही व्यवसाय गर्ने योजना बनाए। कोरोना कालमा थुप्रै कलाकारले आफ्नो व्यवसाय सुरु गरिसकेका थिए। 

यहीबीच सुजितसमक्ष खुसीको खबर आयो। उनको फिल्म ‘ऐना झ्यालको पुतली’ बुसान फिल्म फेस्टिभलको ‘न्यु करेन्ट सेक्सन’ प्रतिस्पर्धाको अन्तिम १० मा पर्यो। यो प्रतिस्पर्धामा पुग्ने पहिलो नेपाली फिल्म नै ‘ऐना झ्यालको पुतली’ हो। उनी केही खुसी भए। उनको खुसीको आयतन त्यतिबेला बढ्यो जतिबेला उनलाई अरूले बधाई दिँदै भन्ने थाले – ‘सुजित तिमीले इतिहास रच्यौ।’

तर दुई वर्षअघि कोरियाको बुसान इन्टरनेसनल फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर भएको र स्विट्जरल्यान्ड, बंगलादेश, अस्ट्रेलियालगायत देशका विभिन्न अन्तर्राष्ट्रिय फेस्टिभलमा भाग लिई अवार्ड जितेको फिल्म प्रदर्शनको समय आयो, देशमा भने खासै सम्मान पाएन। फिल्म प्रदर्शनको अघिल्लो दिनसम्म सुजितले शो टाइम पाएनन्।

सुजितलाई थाहा थियो – आफ्नो फिल्म बम्फर ओपनिङ गर्दैन। उनलाई धेरै शो चाहिएको पनि थिएन। तर पाएको ‘शो’ दर्शकले हेर्न मिल्ने समयमा चाहिएको थियो। तर पाएनन्। जुध्न जाने ठाउँ थिएन। भएका संस्था मौन थिए। सुजितलाई आफूले फिल्ममा लगानी गरेको समयको माया लाग्यो। फिल्म उद्योग भनेर दौडिएको समय खेर गएझैं भान भयो। देशभर उनको फिल्मको चर्चा थियो। सबैले कुन समय, कुन हलमा फिल्म हेर्न जाऊँ भनेर प्रश्न गरिरहेका थिए। सुजितसँग मौनताबाहेक जवाफ थिएन। यो समय सुजित विक्षिप्त बने। 

भन्छन्, ‘मलाई यहाँ भित्रको राजनीति थाहा थिएन। म राजनीति गर्न फिल्म लाइनमा आएकै होइन। विशुद्ध एउटा कथा भन्छु भनेर आएको मान्छेलाई यहाँभन्दा पीडा अर्को केही नहुने रहेछ।’

फिल्मले पाएको प्रतिक्रियाका कारण उत्साहित सुजित फिल्म प्रदर्शनको अघिल्लो दिन आइपुग्दा निरुत्साहित भए।

फिल्ममा चलेका कलाकार पनि थिएनन्, जसको आवाज सम्बन्धित निकायले सुनोस्। केही दिन यसको अभाव महसुस भयो। तर उनले यो अभाव धेरै समय बोकेर बस्न परेन। उद्योगका स्टार कलाकारले सुजितको समस्यामा आवाज उठाए। साथ दिए। थोरै शोबाट सुरु भएको सुजितको ‘ऐना झ्यालको पुतली’ले शो बढाउँदै गएको छ। 

पहिलोपटक शतप्रतिशत राम्रो प्रतिक्रियाका साथ फिल्म चलिरहेको छ। समीक्षक, चलचित्रकर्मी, दर्शक सबैले ‘ऐना झ्यालको पुतली’लाई नेपाली फिल्म उद्योगकै ठूलो उपलब्धि मानेका छन्। कैयौं ठक्कर खाँदै खाँदै प्रदर्शनसम्म आइपुगेको ‘ऐना झ्यालको पुतली’ले सुजितलाई अपेक्षा गरेभन्दा धेरै माया दिएको छ। 

फिल्मका लेखक तथा निर्देशक बिडारी भन्छन्, ‘धेरैलाई फिल्मले तान्छ भन्ने त थियो तर फिल्मले यति धेरै मान्छेलाई जोड्ला र यति धेरै माया पाइएला भन्ने अपेक्षा थिएन।’

उनको फिल्म हेरेर फर्किंदै गरेका दर्शकले केही प्रश्न पनि लिएर फर्किएका छन्। ती सम्पूर्ण प्रश्नको जवाफमा  सुजित भन्छन्, ‘जीवन भनेको गणित होइन। जहाँ दुईमा दुई जोड्दा चार नै हुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .