ad ad

कला


सोनमको संघर्ष : गुम्बाको बसाइ, रेस्टुँराको कामदारदेखि फिल्मको हिरोसम्म

सोनमको संघर्ष : गुम्बाको बसाइ, रेस्टुँराको कामदारदेखि फिल्मको हिरोसम्म

राधिका अधिकारी
भदौ २२, २०७९ बुधबार १८:८, काठमाडौँ

समाज, परिवार र संस्कारप्रति धारणा बनाउने कलिलो उमेर थियो उनको। हरेक चिज देख्दा प्रश्न गर्ने जिज्ञासु आँखा। उनी देख्थे, आमाका हातका ठेला। अभावको भारीले थिचिएर उठ्नै नसक्ने गरी थर्थराइरहेका पिताका पैताला। जो अभाव भुल्न दिनहुँ रक्सीको नसामा डुब्थे। कलिलो बालकको मनमा यो दृश्य विष बनेर फैलिन्छ। उनलाई यो दुःखबाट मुक्ति चाहिएको थियो। त्यही चाहनाले उनी ९ वर्षको उमेर बौद्ध गुम्बा प्रवेश गरे। 

सोनमकी आमा गलैँचा कारखानामा काम गर्थिन्। उनका बुबा क्याटरिङमा। बुबाको काम कहिलेकाहीँ मात्र चल्थ्यो। आम्दानीको भरपर्दो माध्यम थिएन। जावलाखेलको एउटा साँघुरो कोठा, दिनभरि कामले थाकेर आएकी आमा दुई छोरालाई भरपेट खान दिएर आफू कयौँ रात भोकै सुत्थिन्। आमाको पेटमा बाँधेको पटुकीले उनको मन बिथोलिरहन्थ्यो। ७ पुगेर ८ लाग्दै गरेका सोनमले एकदिन सोचे, ‘म घरमा बसिरहेँ भने आमालाई झन् धेरै दुःख हुन्छ।’ त्यसपछि उनले निर्णय लिए, ‘म गुम्बा जान्छु।’

उनको कलिलो चेतनाले भिक्षुहरुले बाँचेको जीवन उज्यालो देख्यो। उनलाई त्यो जीवन असाध्यै मन पनि पर्यो। ‘म गुम्बामा गएँ भने मैले खाने खाना मेरो भाइले खान्छ। बुबालाई दुई जोडी कपडाको ठाउँमा एक जोर किन्दा हुन्छ। स्कुलको शुल्क कम हुन्छ,’ उनले सोचे र बुबाआमालाई गुम्बा जाने, भिक्षु हुने आफ्नो निर्णय सुनाए। त्यो समय आमा गर्भवती थिइन्। आमाले गहभरि आँसु पारेर हुँदैन भनिन्। सोनमले झण्डै एक वर्ष आमासँग जिद्दी गरिरहे। अन्ततः उनकी आमाले हार खाइन् र पठाइन गुम्बाको शरणमा। 

सोनम जावालाखेलबाट बौद्ध गुम्बा गए। यहाँ उनले आमाले भोकै सुतेको हेर्नु पर्दैनथ्यो। बुबाले नसामा केही गर्न सकिनँ भनेर दुःख पोखिरहेको सुन्नु पर्दैनथ्यो। उनलाई खानलाउन दुःख थिएन। तर सबै दुःख भुलेर मुस्कुराउन सक्ने आमाको काख थिएन। 

‘आमाको काखबिनाको सुख सुखजस्तो नहुने रहेछ,’ सोनमले गहभरि आँसु पार्दै गुम्बा बसाइका सुरुवाती दिन सम्झिए। उनी हरेक रात गुम्बाको कौसीमा गएर आमा, भाइ र बुबाको सम्झनाको आँसु बगाउँथे। कहिलेकाहीँ भेट्न घर जाँदा मन गाँठो पारेर आँसु लुकाउँथे। गुम्बामा छोरो खुसी छ भन्ने ठानेर बुबाआमा उनलाई बिदा गर्थे। तर, घरबाट फर्किएको निकै दिनसम्म उनको मनमा ज्वारभाटा उठिरहन्थ्यो। 

गुम्बाको अनुशासन घरको भन्दा कडा हुने नै भयो। सोनम गीत गुन्गुनाइरहन्थे। गुम्बामा गीत गाउन पाइदैनथ्यो। कलिलै उमेरमा उनले बुझे, ‘सुखको खोजीमा हिँडेको मान्छेले आफ्ना रहर मार्न सक्नु पर्ने रहेछ।’ हरेक बिहान ५ बजेबाट सुरु भएको गुम्बाको नियम तालिका पछ्याउँदै सोनमले ८ वर्ष गुजारे। यो समय उनले गुम्बामा राम्रो पढे। उनलाई गुम्बामा दुःख थिएन। घरमा आमा–बुबालाई सुख थिएन। आफ्नो सुखले रमाउन सकेन सोनमको मन। उनले सोचे, ‘अब म जवान भएँ, आमा–बुबालाई मैले कमाएर सुख दिनु पर्छ।’ एकदिन उनले गुम्बाबाट निस्कने निधो गरे। उनका लागि यो निकै चुनौतीपूर्ण थियो। 

बौद्ध समाजमा गुम्बा छोड्नुलाई राम्रो मानिँदैनथ्यो। ‘पुरानो जमानामा श्रीमान् बितेपछि महिलालाई जुन प्रकारको हेय भावले हेरिन्थ्यो। ठ्याक्कै त्यही रुपमा हेरिन्थ्यो गुम्बा छोडेर हिँड्नेलाई पनि,’ सोनमले गुम्बा छोड्दै गर्दाका दिन सम्झिए। गुम्बा छोड्ने छोराको निर्णयसँग खुसी थिइनन् उनकी आमा पनि। उनले भनेकी थिइन्, ‘हामी जसरी पनि बाँचेकै छौँ, तिमी नर्फक।’ तर सोनम मान्नेवाला थिएनन्। ‘मलाई लागेको थियो, अब पनि म यहाँबाट बाहिर निस्किनँ भने मेरी आमा अकालमै मर्छिन्’ बोल्दाबोल्दै सोनम रोकिए। 

कामको खोजीमा भौँतारिँदा
गुम्बाको पढाइ, हातमा शैक्षिक प्रमाणपत्र थिएन। मान्छेहरुसँग कसरी बोल्ने, सोनमलाई थाहा थिएन। गुम्बाबाहिर कस्तो पहिरन, चालढाल मन पराइन्छ, कस्तालाई स्मार्ट ठानिन्छ, उनलाई थाहा थिएन। उनलाई जागिर खानु थियो। गुम्बाबाट बाहिर निस्किएको ३ दिनसम्म उनले पुल्चोक, जावलाखेल र लगनखेलमा रहेका सानादेखि ठूला सबै होटल धाए। काम मागे। मानिसहरु उनलाई हरेर हाँस्थे, कतिले अचम्म भावमा हेर्थे। सोनम भन्छन्, ‘त्यो बेला म सर्कसबाट निकालिएको बाँदरजस्तै भएको थिएँ। सर्कस बाहिरको नियम थाहा नपाएर रनभुल्ल परेको त्यो बाँदरजस्तै म पनि रनभुल्ल पर्थें।’ 

थकित भएर घर फर्किरहेका सोनमको शिर लत्रेको हुन्थ्यो। छिमेकीहरु कुरा काट्थे, ‘काम नलाग्ने केटो, गुम्बा छोडेर आयो।’ उनी अठोट गर्थे, ‘म निस्किएको मेरो बुबा–आमाको लागि, घरको लागि, मेरो भाइहरुका लागि हो। दुनियाँले जेसुकै भनोस्।’ 

त्यहबिेला उनका एक छिमेकी दाइले उनले काम खोजिरहेको थाहा पाए। उनी लामा थिए। पूजा गर्थे। उनले सोनमका लागि काम खोजिदिए। सोनमलाई ठमेलको एक रेस्टुँरामा बोलाइयो। उनी बुबाको साथ लागेर त्यहाँ पुगे। कामका लागि सोच्छु भनेका साहुले चिया मगाए। चिटिक्कको कपमा चिया आयो। सोनमले यस्तो कप देखेकै थिएनन्। गुम्बामा स्टिलको कप मात्रै प्रयोग हुन्थ्यो। कप समाउँदा उनका हात थरथर काँपे। साहुले के सोचे थाहा छैन, तर सोनमलाई ‘सरी काम छैन’ भनेर फर्काइदिए। त्यो दिन उनको दुखाइ बयानगरी साध्य छैन। उनलाई त्यतिबेला लाग्यो, ‘मैले गुम्बाबाट निस्किएर ठूलो गल्ती त गरिनँ!’

सोनम फर्किए, रेस्टुराँको भिजिटिङ कार्ड बोकेर। सोच्थे ‘अप्ठ्यारो छ भनेर फोन गरौ कि!’ अहँ सक्दैनथे। झण्डै २४ घण्टा यसैगरी बिताए। त्यसपछि उनलाई सोही रेस्टुराँबाट फोन आयो र काममा बोलाइयो। उनलाई गार्डेनमा बोलाएर रेस्टुँराकी तेन्जिङ म्यामले भनिन्, ‘सोनम हाम्रो समाजमा ९९ प्रतिशत मान्छे पढेका होलान्। तर इमान्दार मान्छे कम छन्। धेरै मान्छेमा नभएको इमान्दारी हामी तिमीबाट अपेक्षा गर्छौँ।’ सोनमलाई आफ्नो इमान्दारीमा विश्वास थियो। हुन्छ भनिदिए। उनको काम पक्का भयो। त्यो दिन सोनम संसारकै सबैभन्दा खुसी मानिस भएका थिए। 

तेन्जिङ म्यामले सोनमलाई रेस्टुराँको कफी सपमा लगिन्। इन्चार्जलाई भेटाइन्। उनैले काम सिकाइदिने बताइन्। त्यो बेला सोनमको टाउकोमा कपाल थिएन। उनी क्याप लाएर क्याफेमा गएका थिए। तेन्जिङ म्यामले उनलाई क्याप खोल्न भनिन्। उनलाई आफ्नो चिण्डो टाउको देखाउन मन थिएन। तर, क्याप खोल्नु पर्यो। उनले पहिलो पटक डरसँग पनि साक्षात्कार गर्नु पर्यो। जे होस् उनलाई काम चाहिएको थियो। काम पाए। काम सुरु गरे। उनले क्याफेका हरेक काम गरेका छन्। उनको इन्चार्ज पिंकी तामाङ थिइन्। सोनमको काम देखेर पिंकी निक्कै खुसी थिइन। कयौँ दिन राति घर पुग्दा सोनमका खुट्टा सुन्निएर थामजस्तै भएका हुन्थे र पनि उनलाई पटक्कै दुःख लाग्दैनथ्यो। 

पहिलो महिनाको तलब दिनेबेला रेस्टुँराका दाइले उनलाई भने, ‘पहिलो दिन तिमीलाई घर फर्काएकोमा सरी सोनम। तिमीले निकै राम्रो काम गर्यौ।’  सोनम खुसी भए। तलब थापेर संकटा मन्दिर गए। आफ्नो चलन अनुसार रक्सी चढाए। न्युरोड गए, चक्लेट किने र उनलाई काम मिलाइदिने दाइको घर गए। उनका दुई छोरी र एक छोरा थिए। उनीहरुलाई चक्लेट दिए, बाँकी रहेको पैसा आमाको हातमा थमाइदिए। 

अनि मोडियो बाटो
खुसीको यो बाटो २०७२ सालको भूकम्पले भत्काइदियो। त्यसपछि सोनम फुर्सदिला भए। यो फुर्सदमा उनले आफ्नो सोख सम्झिए, रहर सम्झिए। अंग्रेजी, चाइनिज, हिन्दी, नेपाली भाषाका गीत गाएर फेसबुकमा अपलोड गरे। सामाजिक सञ्जालमा सोनमको स्वरको जादु चल्यो। उनी भाइरल भए। देशमै हुने साना–साना इभेन्टहरुमा निम्तो आउन थाल्यो। धेर–थोर पारिश्रमिक पाउन थाले। उनी एक जमातमा लोकप्रिय भए। सोनमको सपनाको बाटो मोडियो। 

सोनम गायनकै सिलसिलामा भारत गए। ठूलो कार्यक्रम थियो। त्यो कार्यक्रमपछि उनी झन् लोकप्रिय भए। त्यो बेला उनले भारु १५ हजार पारिश्रमिक पाएका थिए। कन्सर्ट सकेर उनी घर फर्किंदा उनकी आमाको आँखामा खुसीको आँसु छल्किएको थियो। साँच्चै भन्नुपर्दा सोनमले गुम्बा छाडेपछि उनकी आमाले शिर ठाडो बनाएर हिँड्न पाइनन्। मान्छेको बीचमा जाँदा निहुरिएर जान्थिन्। उनलाई काम गर्ने ठाउँमा पनि ‘तिम्रो छोरा गुम्बा छोडेर आएको रहेछ नि’ भन्दिन्थे। उनी निरास हुन्थिन्। सोनमले गायनमा सफलता हात पारेपछि भने आमाको खुसी फर्कियो। गलैँचा कारखानाका कामदारहरमध्ये राम्रो आयस्ता हुनेहर दिउँसो ३ बजे राम्रो चिया खान निस्किन्थे। सोनमकी आमा पनि निस्कन थालिन्। उनकी आमाले बिस्तारै शिर ठाडो बनाएर मेरो छोरा भन्न थालिन्। सोनमकी आमाको सर्कलमा उनी सेलेब्रिटीजस्तै भइन्। 

फिल्म यात्रा
सोनम युरोप टुरमा थिए। त्यहीँ हुँदा अभिनेत्री पूजा शर्माको मेसेज आयो। पूजाले फिल्ममा अभिनयका लागि अफर गरेकी थिइन्। सोनमलाई भने फिल्म गर्न सक्दिनँ भन्ने थियो। पूजासँग कुरा गर्दै गएपछि सोनमको आत्मविश्वास बढ्दै गयो। नजानेको ठाउँमा पाइला राख्नै नरुचाउने सोनम फिल्म खेल्ने मन बनाउन थाले। अनि उनले सोचे, ‘सधैँ कम्फर्ट जोनमा मात्रै बसिरहनु हुँदैन। कहिलेकाहीँ जोखिम मोल्न पनि तयार हुनु पर्छ।’ उनकै भाषामा भन्नुपर्दा सोनमले जोखिम मोलेरै ‘सम्हालिन्छ कहिले मन’मा पूजा र आकाश श्रेष्ठसँग काम गरे। 

निर्देशक सुदर्शन थापाले उनलाई नयाँ कलाकारलाई जस्तो व्यवहार गरेनन्। सोनमका हरेक सटमा हौसला दिए। अभिनयका क्रममा कयौँ पटक फिल आएन। सुदर्शनले मायालु पाराले सम्झाए। उनले मेहनत गरे। अहिले सोनमको पहिलो फिल्म हलमा लागेको छ। स्टार कलाकारलाई छोडेर सोनमको चर्चा भइरहेको छ। उनको अभिनयले तारिफ बटुलिरहेको छ। सोनमलाई उद्योगको स्टारका रुपमा हेरिएको छ। तर सोनमलाई स्टार बन्नु छैन, राम्रो कलाकारका रुपमा दर्शकले चिनुन् भन्ने छ।

सोनमले यो फिल्ममा काम गरेको चार वर्ष भयो। त्यसपछि उनले अभिनय कक्षा लिए। धेरै मान्छेसँग काम गरे। फिल्ममा काम गरिसकेपछि सोनम झन धेरै निखारिएका छन्। उनले आफ्नै फिल्म हेरेर आफ्ना कमजोरिहरु औँल्याएका छन्। ती कमजोरी आगामी दिनमा सुधार हुने आत्मविश्वास पनि उनीसँग छ। फिल्म रिलिजको संघारमा सोनम केही दिन निदाउन सकेनन्। अहिले उनी मस्त निदाउँछन्। 

व्यावसायिक करिअरका लागि गर्नु पर्ने मेहनत सबै गर्न सोनम तयार छन्। यहाँ उनले कति सपना देखेका होलान्, कति पुरा हुन्छन्, कति अधुरा रहन्छन् उनलाई थाहा छैन। तर उनी अधुरो छाड्ने पक्षमा छैनन् जीवनको एउटा सपना। त्यो सपना हो बा–आमाको सुख। उनलाई हुर्काउन गरेका संघर्षले रोगी बनाएको छ उनकी आमालाई। उनलाई आमाको ओखती बन्नु छ। दुःखको पहाडले थिचिएर कमजोर भएका बाबुको भर बन्नु छ। 

भन्छन्, ‘आमाबुबाले चाहेको चिज सबै पाउन्। जिन्दगीमा उनीहरुले थुप्रै दुःख गरेका छन्। अब उनीहरले हरेकखाले सुख पाउनुपर्छ। त्यसका लागि लागि के गर्नु पर्छ, त्यो सबै म गर्छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .