नेपाली फिल्म उद्योगमा धेरैले रुचाएको अनुहारमा पर्छ सलोन बस्नेतको अनुहार। बाल कलाकारकै रुपमा उद्योगमा छिरेका सलोन उद्योगमा स्थापित भइसकेका छन्। हरेकजसो हिट फिल्ममा सलोनको अभिनय देख्न पाइन्छ। तर उनले ‘लिड’ रोलमा रहेर अभिनय गरेका फिल्म भने छैनन्। उनी हरेक फिल्ममा सहायक भूमिकामा देखिँदै आएका छन्।
अधिकांश सफल फिल्ममा सलोन छन्। फिल्ममा ‘लिड’रोल गर्ने कलाकारको भन्दा सहायकमा रहेका सलोनको भूमिका निकै दमदार देखिन्छ। अभिनय पनि उस्तै सरल र वास्तविक लाग्छ। फिल्मका लागि सलोन ट्वाक्क जिब्रो पड्काउने चटनी नै हुन्। उनी थुप्रै फिल्मी अवार्डमा सहायक भूमिकामा लागि नोमिनेसनमा परेका छन्। केही अवार्ड उचालेका छन्। तर उनले निर्वाह गरेको ‘लिड’क्यारेक्टर भने अवार्ड जुरीका नजरमा समेत पर्न सकेका छैनन्।
सलोन निर्देशक शोभित बस्नेतका छोरा हुन्। वयस्क कलाकारका रुपमा सलोनले सन् २०१६ मा हेमराज बिसीले निर्देशन गरेको ‘गाजलु’मा अभिनय गरेका थिए। यसअघि उनले थुप्रै नेपाली फिल्ममा बालकलाकारको भूमिका निर्वाह गरेका छन्। ‘गाजलु’को ‘लिड’ रोल अनमोल केसीले सम्हालेका थिए। सहायकमा देखिएका सलोन अनमोलभन्दा अभिनयमा उम्दा देखिन्छन्।
‘गाजलु’पछि बिसीकै निर्देशनमा बनेको अर्को चलचित्र ‘होस्टल’मा पनि सलोनले अभिनय गरे। यो फिल्म पनि बक्स अफिसमा सफल भयो। मनोरञ्जन उद्योगमा सफलको सूचीमा परेको यो फिल्ममा पनि सलोन सहायक भूमिकामै देखिएका थिए।
‘गाजलु’ र ‘होस्टल’पछि सलोनले ‘ए मेरो हजुर २’, ‘जय भोले’, ‘राधे’, ‘हजार जुनीसम्म’, ‘ए मेरो हजुर ३’, ‘ए मेरो हजुर ४’, ‘डाँडाको वरपीपल’ लगायतका फिल्ममा अभिनय गरे। केहीमा ‘पलड’ रोलमा अभिनय गरे। धेरैमा सहायक भूमिकामा देखिए। उनले सहायक भूमिका निर्वाह गरेका फिल्म हिट भए। ‘लिड’ रोल गरेका फिल्म पत्तासाफ जस्तै भए।
त्यसैको पछिल्लो उदाहरण हो ‘डाँडाको वरपीपल।’ सलोनका बुवा शोभित बस्नेतले निर्देशन गरेको यो फिल्ममा सलोन ‘लिड’ रोलमा देखिएका थिए। तर फिल्मले हलमा पानी पनि भन्न पाएन। सहायाक भूमिका निभाएर अन्य कलाकारलाई सफल निर्देशक निर्माता बनाउन सफल सलोनले आफ्नै पितालाई भने सफल बनाउन सकेनन्।
‘डाँडाको वरपीपल’पछि रिलिज भएको ‘ए मेरो हजुर’ तेस्रो सिरिजले मालामाल पैसा कमायो। यो फिल्मको ३ वटै सिरिजमा सलोन सहायक भूमिकामा देखिए। उता गाजलु र होस्टलका सिरिज पनि हिट भए। जहाँ सलोनले सहायक भूमिका निर्वाह गरेका थिए।
सहायक भूमिकामा राम्रो कमाइ गरिरहेका सलोनलाई ‘लिड’ रोलमा भने ‘लक’ लागेको छैन्। हलमा असफल फिल्म ‘डाँडाको वरपीपल’ले युट्युबमा राम्रो चर्चा पाइरहेका बेला सलोन आफ्नो ‘लिड’ रोल रहेको नयाँ फिल्म ‘घनचक्कर’को प्रचारमा छन्।
सहायकमा सफल सलोन मूख्य भूमिकामा पनि आफूलाई सफल बनाउने पर्खाइमा छन्। उनको पर्खाइका बीच आगामी असार १० मा रिलिज हुने ‘घनचक्कर’ले पुनः एकपटक उनलाई परिक्षण गर्ने छ। जितेन्द्र राजोपाध्यायले निर्देशन गरेको यो फिल्ममा सलोनसँगै सौगात मल्ल ‘लिड’क्यारेक्टरमा देखिने छन्। यही फिल्ममार्फत सलोनले एकपट पुनः आफ्नो भाग्य परीक्षा दिनेछन्।
यसपटक उनको ‘लिड’क्यारेक्टरले उनलाई सफलताको उडान दिनेछ वा पुनः साइड भूमिकामै सीमित गराउने तर्फ उन्मुख गर्नेछ त्यसका लागि भने असार १० पछिको समयलाई नै कुर्नुपर्ने हुन्छ।
Shares
प्रतिक्रिया