कला


सुरु भयो १० औं नेपाल अफ्रिका फिल्म फेस्टिबल

विभिन्न व्यक्ति सम्मानित
सुरु भयो १० औं नेपाल अफ्रिका फिल्म फेस्टिबल

नेपालखबर
जेठ १६, २०७९ सोमबार १६:१९, काठमाडौँ

आइतबारबाट काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा ‘१० औं नेपाल अफ्रिका फिल्म फेस्टिबल–२०२२’ सुरु भएको छ।

महोत्सवमा नेपाल सहित १५ देशका २६ फिल्महरु सहभागी छन्। जस मध्य नेपालबाट १२ वटा र विदेशबाट १४ वटा रहेका छन्। यो महोत्सव मँगलबारसम्म ३ दिन नाचघरमा जारी रहने छ। 

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले महोत्सव उद्घाटन गर्दै भने,‘अफ्रिका जस्तै पछाडी परेको महादेशबाट विगत १० वर्षदेखि फिल्म संकलन गरेर नेपालमा यो महोत्सव आयोजना गर्नु आफैंमा सराहनीय कार्य हो।’ 

विदेशी चलचित्र देखाएर उठेको पैसाबाट चलचित्र विकास बोर्ड सञ्चालन गर्नु पर्दा नेपालमा विदेशी चलचित्रको प्रवर्द्धनलाई मद्दत पुगेको पनि अध्यक्ष दाहालले बताए।

आयोजक संस्थाकी अध्यक्ष तथा महोत्सव संयोजक डा. मञ्जु मिश्रले आर्थिक र सांस्कृतिक रुपमा उस्तै भएको नेपाल र अफ्रिकाको चलचित्र संस्कृति आदान प्रदानकै लागि एक दशकदेखि आफूहरुले यो महोत्सव आयोजना गर्दै आएको बताइन्। आफ्नै गोजीबाट पैसा हालेर महोत्सव गर्न अब गाह्रो हुन थालेको उनले टिप्पणी गरिन्। 

यस्तै प्रतिनिधि सभाकी सांसद मन जिसीले कार्यक्रममा बोल्दै नेपाल र अफ्रिकाको सँस्कृति आदान प्रदानको लागि यो महोत्सव निकै उपयोगी हुने गरेको बताइन्। यस्ता महोत्सवलाई सघाउन आफूले संसदमा आवाज उठाउने उनले प्रतिवद्धता जनाइन्। 

कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले निजीस्तरबाट भएका यस्ता अन्तर्राष्ट्रिय स्तरका चलचित्र महोत्सवलाई राज्यले सहयोग गर्नु पर्ने जिकिर गरे। फरक शैलीका कलात्मक चलचित्र यस्ता महोत्सवमा प्रदर्शन गरिने भएकाले यो महोत्सव आफूहरुका लागि निकै महत्वपूर्ण हुन गरेको पनि अध्यक्ष खड्काले बताए।

नेपाल चलचित्र निर्देशक समाजका महासचिब जनकद्धिप पराजुली, चलचित्र पत्रकार संघका पूर्व अध्यक्ष शान्तिप्रियले नेपालमा अन्तर्राष्ट्रिय स्तरको चलचित्र महोत्सव बृद्धि हुँदै गएको खुसी व्यक्त गरे। यस्तो महोत्सव बृद्धि हुनुमा नेपाल अफ्रिका फिल्म फेस्टिभलको उत्तिकै योगदान रहेको उनीहरुले बताए।

कार्यक्रममा पत्रकार जिवन पराजुलीले महोत्सवमा चयन भएका चलचित्रबारे चर्चा गरे। यस्तै अभिनेता धिरेन शाक्यले महोत्सवमा निकै राम्रा र फरक सिनेमा आएको बताए। 

महोत्सव निर्देशक डब्बु क्षत्रीले कोरोना महामारीका कारण महोत्सवमा विगत र यसपटक केही असर परेको भए पनि आगामी वर्षबाट यसलाई अझ भव्य रुपमा आयोजना गर्ने बताए। 

नेपाली चलचित्र, गीत संगीत तथा सौन्दर्य कला क्षेत्रमा एक देखि तीन दशकभन्दा लामो समयसम्म योगदान पुर्याएका विभिन्न व्यक्तिलाई कार्यक्रममा सम्मान गरियो। समारोहमा सिनेकर्मी तथा पत्रकार आलोक तिवारी र पत्रकार ओम प्रकाश घिमिरे पत्रकारिता सम्मानबाट सम्मानित भए। 

यस्तै, गायक अलिप खान, गायिका सुजता केसी, चलचित्र निर्देशक कल्याण अधिकारी कलाकारिता सम्मानबाट सम्मानित भए।

सुजन तिमिल्सिना नेल आर्ट टेक्निसियन सम्मान, मेकअप आर्टिस्टहरु बिना रानामगर, कञ्चन श्रेष्ठ, डिना थापामगर, सरस्वती पान्डे हमाल, मेकअप आर्टिस्ट राष्ट्रिय सम्मानबाट सम्मानित भए। यसै गरी ब्युटिसियनहरु प्रीति सोनी शाह, शुभद्रा देबी उदास, शोभा महर्जन, मुना थापामगर, शकुन्तला अवाले, शुभद्रा राई, रञ्जिता थापा र रमा गुर्मछान सौन्दर्यकर्मी राष्ट्रिय सम्मान–२०७९ बाट सम्मानित भए।

महोत्सबको निर्णायकहरुमा सँगीतकार जुगल डंगोल, अभिनेताहरु प्रवण भुषाल, प्रेम पाण्डे, सागर घिसिङ, कोरियोग्राफर अजय स्याङतान, म्युजिक भिडियो निर्देशक समाजका अध्यक्ष विधान कार्की र पत्रकार कुवेर गिरी रहेका छन्।

महोत्सवमा आइतबार उद्घाटनमा बुर्किना फासोको फिचर फिल्म ‘आई अफ द साईलोन’ प्रदर्शन गरियो। यस्तै आइतबार नै दुई नेपाली लघू चलचित्र ऋषीराज आचार्यको निर्देशनको ‘राईज’, देवेन्द्र खत्रीको निर्देशनको चलचित्र ‘द डेलिभरी’ पनि देखाइयो।

यस्तै केमरुनको बृत्तचित्र ‘लेस मेलोडियस डु मओए’, अल्जेरियाको ला चेम्बर र मोरक्कोको घोष अफ स्पेश टाइम पनि प्रदर्शन गरियो। महोत्सवमा सोमबार बिहान ११ः३० बजेबाट बेलुका ६ बजेसम्म १० वटा चलचित्र प्रदर्शन गरिने महोत्सब अध्यक्ष मिश्रले जानकारी गराएकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad