संगीतका सुरहरुमा रुमल्लिरहने चण्डिप्रसाद काफ्लेको मुड अन्तै कतै डुलिरहेको थियो। सधैँ हार्मोनियम देखिने उनको हातमा रंग, कुची र ब्रस थियो। क्यानभास अघिलतिर बसेर उनी घरी गम्भीर हुन्थे, घरी मुस्कुराउँथे।
उनलाई निक्कै नौलो लागिरहेको थियो राग अलापेर बस्ने हातले क्यानभासमा रंग पोत्दै गर्दा। अरुले आर्ट गरेको देख्दा काफ्लेलाई लाग्थ्यो ‘आर्ट गर्न निक्कै सजिलो हुने रहेछ।’
उनले आर्ट सुरु गर्नुअघि सुन्दर झरना क्यानभासमा उतार्ने सोचेका थिए। तर चित्र कोरिसक्दा पहाड, झरना र कृषकको धमिलो आकृति बन्यो।
‘एउटा सोचेर बनाउन खोज्यो अर्कै भैदिँदो रहेछ। रंगको संयोजन गर्न गाह्रो रहेछ’ काफ्लेले रंग र कुचीसँगको अनुभव सुनाए। उनी आफैँले कोरेको चित्रलाई सांगीतिक कोणबाट पनि नियालिरहेका थिए।
वरिष्ठ कलाकार केके कर्माचार्यले उनको पेन्टिङबारे टिप्पणी गर्दै भने ‘क्यानभास हातमा दिनुअघि रंहरुको संयोजनबारे सिकाउनुपर्ने रहेछ। यसमा हाम्रो कमजोरी भयो।’

आर्टका हिसाबले काफ्लेमा राम्रो ज्ञान रहेको पनि कर्माचार्यले बताए। उनले भने ‘जहाँ जुन रंगको प्रयोग गर्नु पर्ने हो त्यहि रंग प्रयोग भएको छ। उहाँको आकृति हेर्दा पहिलो पटक रंग र कुची समातेको भन्ने आभास हुँदैन।’
त्यही लहरमा रंगहरुका धर्का कोर्दै गरेका देखिन्थे कलाकार सन्तोष पन्त। उनी सामान्य धर्का तानिरहेका थिए, तर निक्कै गम्भीर मुद्रामा। एकपछि अर्को धर्को कोर्ने बेलामा निक्कै समय सोचेर बस्थे।
आफूले कोरेको आकृतिको ब्याख्या गर्दै पन्तले सुनाए। ‘मैले चित्रमा सात रंगको मोहकता देखाउन खोजेको हुँ। मैले मिलाउन खोजेको रंगको संयोजनमा कसैले बलेको आगो देख्ला, कसैले आगो निभेपछिको मुढो देख्ला, कोही रगतको भेल देख्लान्, कसैले हरियाली जंगल त कतिले सलल बगेको कर्णाली देख्ला। त्यो मान्छेको नजरमा भर पर्छ’, उनी अगाडि भन्दै थिए ‘सात रंग मिलेपछि बल्ल निचोट निस्कन्छ। त्यही विचारमा आर्ट गरेँ। मैले कोरेको चित्र मलाई गजब लागेको छ।’
साहित्यकार डा. रामप्रसाद ज्ञवाली कविता जस्तै सुन्दर आकृति बनाउन चाहान्थे। तर उनलाई आफूले कोरेको आकृति स्क्रिले निधारमा लाउने टीका नाकमा लगाउँदा नमिलेको देखिए जस्तै अमिल्दो देखिरहेका थिए।
उनले आफैँले कोरेको आकृतिमाथि कविता लेखे। भने, ‘क्यानभासमा मनको रंग उतार्न सजिलो हुने रहेनछ।’
कला, साहित्य र संगीतमा रमाइरहेका सबैलाई एकै ठाउँमा उपस्थित गराएर क्यानभासमा रंग भर्ने संयोग स्पेक्ट्रम कला संस्थाले गराएको थियो।





Shares

प्रतिक्रिया