नेपाली चलचित्र ‘चपली हाइट–३’को प्रदर्शन मिति पुनः पछि सारिएको छ। पुस २ गतेलाई प्रदर्शन मिति लिएको यो चलचित्र ‘स्पाइडर म्यानः नो वे होम’ र साउथ इण्डियन चलचित्र ‘पुष्पा’सँग डराएर पुस १५ मा सारिएको थियो।
यो चलचित्रले भन्दा अघिनै पुस १६ लाई ‘कठपुतली’ले प्रदर्शन मिति तय गरेको थियो। ‘कठपुतली’सँग जुध्न आएको भन्दै मिति सार्न हलवालाले नै दवाब दिदै आएका थिए। हलवालाको आग्रहलाई चलचित्रका निर्माता अर्जुन कुमारले मानिरहेका थिएनन्।
सोही विषयलाई लिएर आइतबार चलचित्र संघले छलफलका लागि बोलाएको थियो। चलचित्र संघ र चलचित्र विकास बोर्डले संयुक्त रुपमा निर्माता अर्जुन कुमारसँग छलफल गरेको थियो। छलफलपछि अर्जुन कुमारले पुनः नयाँ मिति लिएका छन्।
अब उनको चलचित्र पुस ३० गते रिलिज हुने भएको छ। चलचित्र संघले एउटा नेपाली चलचित्र प्रदर्शनमा आएको दुई सातासम्म अर्को नेपाली चलचित्र रिलिज गर्न नपाउने नियम बनाएको थियो। यहि नियममा टेकेर निर्माता अर्जुन कुमारलाई आफ्नो चलचित्रको रिलिज सार्न आग्रह गरिएको हो।
अर्जुन कुमारले यो चलचित्रको मिति परिवर्तन नगरेको खण्डमा संघले बनाएका अन्य नियम पनि नमान्ने हल सञ्चालकले चेतावनी दिएका थिए। चलचित्र रिलिज सहजताका लागि बनाएका अन्य नियममा यो बाहेक संघले चलचित्रको ट्रेलर बजाएको रकम नलिने, हलमा पोष्टर राखेको रकम नलिने, पहिलो सातामा नेपाली चलचित्रले ५५ प्रतिशत सेयर र बाँकी हप्तादेखि ५० प्रतिशत शेयर पाउने नियम पनि चलचित्र नियम बनाएको थियो।
निकेश खड्काले निर्देशन गरेको यो चलचित्रमा स्वस्तिमा खड्का, आमिर गौतम लगायतका कलाकारले अभिनय गरेका छन्।
Shares

प्रतिक्रिया