सन् २०२१ बलिउडका लागि मिश्रित वर्ष रह्यो। विश्वले ब्यहोरेको कोरोना महामारीबाट यो वर्ष पनि बलिउड फिल्मी उद्योग अछुतो रहेन।
अन्य वर्ष जस्तै यो वर्ष पनि उद्योगमा केही उतारचढाव चलिरहे।
बलिउडका उतारचढावमध्ये अभिनेत्रीका कानुनी झमेला निक्कै चर्चामा रह्यो। सन् २०२१ मा अभिनेत्री ऐश्वर्या रायदेखि नोरा फतेहीसम्म कानुनी उल्झनमा फसे।
कानुनी झमेलाका कारण अभिनेत्रीका घरमा प्रहरीको छापादेखि अदालतसम्मको यात्राका समाचार सामाजिक सञ्जालमा छाइरहे।
सन् २०२१ मा कानूनी झमेलामा परेकी एक अभिनेत्री हुन्-ऐश्वर्या राय। उनलाई भारतको प्रवर्तन निर्देशनालयले पानामा पेपर्स लिकको विषयमा लामो समय सोधपुछ गर्यो।
आफ्नो पैसा ब्रिटिस भर्जिन आइल्यान्डस्थित एक कम्पनीमा लुकाएको आरोपमा उनीमाथि सोधपुछ गरिएको हो। उनीविरुद्ध यो आरोप सन् २०१७ मै लागेको थियो।
अभिनेत्री ज्याकलिन फर्नाडीजले जबरजस्ती असुलीको आरोप खेप्नु पर्यो। उनीविरुद्ध इडीले मनी लन्ड्रिङ केस र जवरजस्ती रकम असुली गरेको आरोपमा लुक आउट नोटिस जारी भयो।
सन् २०२१ मै अभिनेत्री कंगना रनौट पनि कानुनी झमेलामा परिन। भारतीय स्वतन्त्रतामाथि विवादित टिप्पणी गरेपछि कानुनी उनी उल्झनमा फसेकी थिइन्।
भारतले प्राप्त गरेको स्वतन्त्रता ब्रिटिसले भीखमा दिएको अभिव्यक्ति उनले दिएकी थिइन्।
यही भनाइलाई लिएर निकै विरोध र आलोचना भएको थियो। त्यसो त कंगना बेलाबेला विवादमा परिरहने अभिनेत्री हुन्।
सन् २०२१ मै भारतका किसानहरुको आन्दोलनमा पनि उनीविरुद्ध मुद्दा दर्ता गरिएको थियो।
आर्यन खानसँग गाँसिएर कानुनी झमेलामा परेकी अर्की अभिनेत्री हुन् अनन्या। शाहरुख खानका छोरा आर्यन मुछिएको मुम्बई ड्रग्स केसमा एनसीबीले अभिनेत्री अनन्या पाण्डेसँग सोधपुछ गरेको थियो।
अभिनेत्री तापसी पन्नुको घरमा आयकर विभागले पटक पटक छापा मार्यो। कर छली आरोपमा उनको घरमा छापा मारिएको थियो।
यता २ सय करोड ठगीको आरोपमा ज्याकलिन फर्नाडीजसँगै अर्की अभिनेत्री नोरा फतेहीको नाम पनि जोडिएर विवादमा तानिइन्।
Shares

प्रतिक्रिया