ad ad

कला


नेपथ्यको नयाँ गीतमा चेलीको वेदना (भिडियाे)


नेपालखबर
कात्तिक १७ ,

लमजुङ तिरकी एक चेलीले रैथाने भाका हालेर कुनै समय सुनाएको विरह वेदनामा आधारित गीत अब नेपथ्यले नयाँ भिडियोका साथ सार्वजनिक गरेको छ।

शिरमा रिबन सालको पछ्यौरी

हिराजस्तो झललल

सम्झिरहने त्यो मुहार

अब मैले बिर्सूं कसरी

ब्याण्डले पछिल्लो समय तयार पारेको यस गीतलाई पहिलोपटक भिडियोका साथ सार्वजनिक गरिएको हो।

‘मैले हुँर्कने बेलामै आमाबाट यो भाका सुनेको थिएँ,’ नेपथ्यका मुख्य गायक तथा अगुवा अमृत गुरुङ भन्छन्, ‘आमाले लमजुङ तिरको भाका भनेर गुनगुनाउनु भएको यसलाई पछि मैले पोखरामा पनि केहि ठाउँमा सुनेको याद छ।’ धेरै वर्षपछि आफू लमजुङ पसगाउँ जाँदा त्यही भाकामा एउटी चेलीले गाउँदा भने त्यसले आफ्नो मर्ममै छोएको गुरुङ सुनाउँछन्।

त्यो रात आमा समूहको सांगीतिक टोली लालटिन बोकेरै नाचगान देखाउन आइपुगेको थियो।

‘लोकगीतले डाँडा–काँडा, गाउँ–बेँसीको यात्रा गर्छ र त्यो यात्रासँगै आफूलाई फेर्दै पनि लैजान्छ’ भन्ने प्रचलित भनाइ नै छ। यसरी फेरिँदा आफूले उक्लेको डाँडा वा तरेका नदीहरुको स्वाद यसका भाकाहरुमा मिसिन्छन्। हो, त्यसरी नै मैले त्यो रात सुनेको यहि गीतको भाकामा केहि फेरबदल थियो,’ गुरुङले थपे, ‘त्यसबाहेक गीतका शब्दहरु एक किशोरीको स्वरबाट भित्रैदेखि मन छुनेगरि निस्किरहेको थियो।’

पानी है पर्यो

कहाँ पर्यो त्यो बूँद

डाँडा काँडा सररर

रसायो म रुँदा

शिरमा रिबन सालको पछ्यौरी

ती किशोरीले भित्री हृदयबाटै गाएको देखेपछि उनका बारेमा गायक गुरुङले जिज्ञासा राखेछन्। भर्खर बिहे गरेकी ती किशोरी पतिको घरबाट निकालिएपछि माइती आएर बसिरहेको जानकारी दिइयो।

‘ती चेलीले कसरी त्यति मिठो गाइन भन्ने रहस्य मेरो अगाडि स्पष्ट भयो,’ गुरुङ भन्छन्, ‘त्यसपछि मैले उनको भावनामै डुबेर गीतका शब्दलाई परिमार्जन गर्दै मुखडा बाहेकका अन्तराहरु तयार पारेको हुँ।’

समीको छेउ छेउ

पिपलु र वर पनि

वालखैमा धररर

बिग्रियो घर पनि

शिरमा रिबन सालको पछ्यौरी

 यसरी गीत तयार भएको थियो।

 नेपाली लोकगीतहरुमा थुप्रै आगन्तुक शब्दहरुको पहिलेदेखि प्रयोग हुँदैआएको छ। गण्डकी क्षेत्रमा त्यसको श्रेय सबैभन्दा धेरै लाहुरेहरुलाई जान्छ। ‘यो गीतमा पनि त्यो प्रभाव आएको छ,’ गायक गुरुङ थप्छन्, ‘अंग्रेजीमा पछ्यौरीलाई ‘शल’ भनिन्छ जसलाई अग्रजहरुले टिपेकै हिसाबले यसमा ‘सालको पछ्यौरी’ प्रयोग हुनपुगेको हो।’

गीतको यहि ‘मुखडा’ र यस्तै भाका लमजुङ, कास्की, स्याङजा र गुरुङ बसोबासका अन्य क्षेत्रतिर अत्यधिक प्रचलनमा रहेको उनले जानकारी दिए।

 ब्याण्डले कालिकास्थानको नेपालयस्थित आर शालामा यो गीत रेकर्ड गरेको हो। परम्परागत ‘वन टेक’ मै रेकर्ड गर्दाको स्टुडियोकै लाइभ भिडियो फुटेजलाई जोडेर यसलाई श्रब्यदृश्य दुवैको आनन्द लिनसकिने हिसाबले तयार पारिएको हो।

कात्तिक १७, २०७६ आइतबार ११:२१

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .