नेपाल टेलिभिजनको मेगा डान्स रियालिटी शो रीयो छमछमी सिजन ४ को अन्तिम प्रतिस्पर्धा शनिवार हुने भएको छ।
२०७५ साल कार्तिक १७ गतेबाट शुरु भएको यस प्रतियोगितामा देशका ७ वटै प्रदेशका ११ स्थानमा अडिसन राउन्ड गरिएको थियो। काठमाडौं, विर्तामोड, ईटहरी, जनकपुर, हेटौडा, चितवन, पोखरा, बुटवल, कोहलपुर, सुर्खेत र धनगढीमा भएका अडिसन राउन्डहरुमा हजारौंको सहभागिता थियो। ती अडिसन राउन्डहरु पार गर्दै आएका प्रतियोगीहरु मध्येबाट हाल ५ जना प्रतियोगिहरु अन्तिम प्रतिष्पर्धामा छन्।
तिनै ५ जना अन्तिम प्रतियोगीहरुबाट एसएमएस भोटिङको आधारमा १ जना विजेता छानिनेछन् भने अन्य दुई जना फस्ट रनर अप र सेकेण्ड रनर अप छानिनेछन्। जसका लागि आफ्नो मोबाइलको इनबक्समा गई cc टाइप गरी आफ्नो मनपर्ने प्रतियोगीको कोड टाइप गरी 31009 मा पठाउनुपर्नेछ। यसका साथै रीयो छमछमी ४ को मोबाइल एप डाउनलोड गरेर पनि भोटिङ गर्न सकिने व्यवस्था छ। भोटिङ लाइन शनिवार राति ९ः३० बजेसम्मका लागि खुला राखिएको छ।
अन्तिम ५ प्रतियोगीहरुमा दाङका आकाश विक (भोटिङ कोड नम्बर 01), झापाका दीलमाया लिम्बु (भोटिङ कोड नम्बर 03), महोत्तरीका नेशन सुश्लिङ मगर (भोटिङ कोड नम्बर 05), मकवानपुरका सन्ध्या आचार्य (भोटिङ कोड नम्बर 08) र पोखराका सपना धाही थापा (भोटिङ कोड नम्बर 09) छन्।
प्रतियोगिताको विजेताले अल्टाे के-10 कार प्राप्त गर्नेछन् भने फस्ट रनरअपले ५ लाख बराबरको र सेकेण्ड रनरअपले ३ लाख बराबरको उपहार प्राप्त गर्नेछन्। यसैगरी उत्कृष्ट सात जनाले १ लाख बराबरको उपहार प्राप्त गर्नेछन्।
यस प्रतियोगिताका निर्णायक मण्डलमा चर्चित नृत्याङ्गना एवं अभिनेत्री मिथिला शर्मा, कोरियोग्राफर महेश गोदार र नायिका सञ्चिता लुँइटेल रहेका छन्।
नेपालको विभिन्न भाषा, कला, संस्कृति र साहित्यको संरक्षण एवं सम्बद्र्धन गर्ने उद्देश्यले विं सं २०६६ सालमा नेपाल टेलिभिजनको रजत महोत्सवको अवसर पारेर डान्स रियालिटी शो छमछमीको शुरुवात भएको हो। यसको ग्रान्ड फिनालेमा माननीय सञ्चार तथा सूचना प्रविधीमन्त्री गोकुलप्रसाद बाँस्कोटा लगायत विशिष्ट व्यक्तित्व तथा कलाकारहरुको समेत सहभागिता रहनेछ।
काठमाडौंस्थित आर्मी अफिसर्स क्लबमा आकर्षक प्रस्तुती सहित हुने विशेष कार्यक्रमको नेपाल टेलिभिजन र एनटीभी कोहलपुरले राती ८ः४० बजेबाट प्रत्यक्ष प्रसारण गर्नेछन्।

प्रतिक्रिया