कला


यस पटकको पलेँटीमा डा. थापा

यस पटकको पलेँटीमा डा. थापा

नेपालखबर
कात्तिक १, २०७६ शुक्रबार ९:३६,

यो महिनाको सांगीतिक कार्यक्रम ‘पलेँटी शृङ्खला’मा डाक्टर सुमन थापाले गीत सुनाउने भएका छन्। सुमन पेशाले नेत्र विशेषज्ञ हुन् तर उनी गिटारमा औँला चलाउँदै गाउन औधी रुचाउँछन्। आफैँ गीत लेख्छन् र धुन पनि भर्छन्। नब्बेको दशकमा ‘बाइपास’ समुहसँग संलग्न रहेर आफ्नो सांगीतिक रहरलाई अगाडी बढाएका सुमन, हाल ‘ब्ल्यू फ्रेट’ नामको सांगीतिक समूहमा क्रियाशील छन्। यसपाली भने उनी पलेँटीका वाद्यवादकहरूसँग गायन अभ्यासमा जुटेका छन्।

प्राय अँग्रेजी भाषामा गीत, लेख्ने र गाउने सुमन थापा यसपाली पुरै नेपाली भाषाका गीत लिएर प्रस्तुत हुनेछन्। पलेँटीले उनलाई नयाँ सांगीतिक प्रयोग गर्ने सोचका साथ निम्त्याएको जानकारी गराएको छ।

 यसपालीको पलेँटीका निम्ति धेरैजसो गीत कवि श्रवण मुकारुङले लेखेका छन्। प्राय गीतमा डाक्टर सुमनको पेशा सुहाउँदो, आँखा र तिनले निहार्ने दृश्य सम्बन्धित विषय समेटिएको छ। सुमन थापाका निम्ति तयार पारिएका सबै नयाँ गीतहरूमा संगीतकार आभासले धुन भरेका छन्।

 यसपालीको पलेँटी पश्चिमी शैलीमा गाउने सुमन, ठेट नेपाली पारामा लेख्ने श्रवण र विभिन्न शैलीका सांगीतिक प्रयोग अपनाउने आभासको त्रिवेणी पलेँटी हुनेछ।

 तिलगंगा आँखा अस्पतालसँग आवद्ध थापा काठमाण्डौका बासिन्दा हुन्। उनले ‘एक एक पाइला’ अभियानमार्फत स्वास्थ्य शिविरहरुमा सहभागि भइ देशका विभिन्न जिल्ला भ्रमण गरेका छन्। उनले हालसम्म मोतिविन्दू र जलविन्दूका ५० हजारभन्दा धेरै सल्यक्रिया गरिसकेका छन्। शिविर यात्राका क्रममा डाक्टर सुमनले अनेकौं अनुभव र अनुभूति संगालेका छन्। पलेँटीमा गीत सुनाउने क्रममा सुमनले आफ्ना तिनै अनुभव र अनुभूतिलाई समेत बाँड्ने छन्।

 नेपालयको आरशालामा पलेँटीका निम्ति गिटार समातेर नयाँ धुन अभ्यास गरिरहेका सुमन भन्छन्, ‘पलेँटीमा गाउने कुराले म एकदमै उत्साहित छुस श्रवणजीले लेख्नु भएका गीत र आभासजीले भर्नु भएका धुनले मलाई रमाइलो नसा लगाएका छन्। यो क्षण मेरो सांगीतिक मोडमा अचानक भेटिएको सुन्दर बगैँचा हो।‘ प्रतिक्रिया दिएर उनी गीत गुनगुनाउन थाले, ‘किन बोल्नु बोल्दिन म बोल्छ आँखाले, पत्तै नपाई यो मनपेट खोल्छ आँखाले।’

 घाँटीमा भिरेको हार्मोनिकाबाट धुन निकाल्दै डाक्टर सुमन आफ्नो सन्देश प्रवाह गरिरहेका सुनिए, ‘ओ पासाङ दाइः ओ बैनी फूलमतिया! पर्ख है पर्ख म ‘स्लिट ल्याम्प’ बोकेर आउँदै छु, तिमीलाई सुन्दर संसार देखाउन।‘

 रिहर्सल सकेर अकेस्टिक गिटार बक्समा बन्द गरिरहेका सुमनलाई अस्पताल पुगेर अप्रेसन गर्नु छ त्यसैले उनी हतारमा देखिन्थे। ‘आर’शालाबाट बाहिरिँदै गर्दा उनले भरखर अभ्यास गरेको अर्को गीत गुनगुनाए, ‘हतार छ एकदम हतार छ।‘

 ‘यसपालीका सृजनाले भिन्दै अनुभूति गराइरहेका छन्। श्रवणजीको गीति लेखनको सरलताको सौन्दर्यलाई सुमनजीको स्वरमा प्रस्तुत गर्न पाउँदा खुशी लागेको छ। ‘संगीतकार आभासले भने।

 यही कार्तिक महिनाको ८ र ९ गते हुने कार्यक्रमलाई पलेँटीको शुरुवातदेखि नै संचालन गर्दै आएका संगीतकर्मी आभासले गायक सुमन थापाको पेशा र सांगीतिक जीवनको सेरोफेरोमा रहेर सम्वाद पनि गर्नेछन्।

 कालिकास्थानस्थित ‘आर’शालामा आयोजना हुने पलेँटीमा डाक्टर सुमनलाई वाद्यवादनतर्फ किबोर्डमा दिनेश रेग्मी, गिटारमा सुरज प्रधान र प्रकसनमा सुन्दरकुमार महर्जनले साथ दिनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad