मानव तस्करका प्रलोभनमा परी विभिन्न माध्यमबाट कम्बोडिया पुगेका १६ जना नेपालीलाई बिहीबार नेपाल फर्काइएको छ।
थाइल्यान्डको बैंककस्थित नेपाली राजदूतावासले उनीहरूलाई उद्धार गरी फर्काएको हो। उनीहरूलाई त्यहाँ अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ्ग केन्द्र, क्यासिनो, अनलाइन ठगी तथा अन्य विभिन्न गैरकानुनी काममा लगाइएका थिए।
दूतावासका अनुसार उनीहरू कम्बोडियाको भिषा विना बसिरहेका थिए। दूतावासले कम्बोडिया सरकार र गैर आवासीय नेपाली संघ, कम्बोडियाको सहजीकरणमा उनीहरूको उद्धार गिरएकाे हाे।
दूतावासले अझै त्याहाँ दर्जनौँ नेपालीहरू यस्तो ठगी प्रकरणमा अनधिकृत रूपले प्रयोग भएकाे जनाएकाे छ। अलपत्र र कठिन परिस्थितीमा रहेकाे ती नेपालीहरूको उद्धारका लागि पहल भइरहेको पनि दूतावासले विज्ञप्तीमार्फत जानकारी दिएको छ।
यस्तो अवस्थामा रहेर फर्कन चाहने नेपालीहरूलाई नेपाली राजदूतावास बैंकक वा गैर आवासीय नेपाली संघ कम्बोडियाका प्रतिनिधिहरु शिवराज पराजुलीलाई (+८५५१२२१५५७८) मा लालसिहं खडकालाई (+८५५९३२०३६६६) मा रामजी श्रीकुमार छेत्री (+८५५९६३४६५७८८)मा यथासिघ्र सम्पर्क गर्न आग्रह गरेको छ।
दूतावासका अनुसार स्क्यामिङ्ग केन्द्रहरूमा काम लगाइएकाको राहदानी कम्पनीले राख्ने गरेको वा स्क्यामिङ्ग केन्द्रहरूबाट ट्रान्सफर हुँदा राहदानी हराएको भन्दै नेपालीहरूलाई काम गर्न बाध्य पार्ने गरिएको छ। नेपाल फर्किन नेपाली राजदूतावास बैंककले निःशुल्क एक तर्फी यात्रा अनुमतिपत्र सम्बन्धित व्यक्तिले दिएको ठेगानामा पठाइदिने गरेको दूतावासले बताएको छ।
धेरै कमाइ हुने प्रलोभनमा परेर नेपालीहरू विना श्रम स्वीकृति विभिन्न देशमा जाने क्रम बढेको भन्दै दूतावासले चिन्ता व्यक्त गर्नुका साथै यस्तो कार्यमा संलग्न नहुन पनि अनुरोध गरेको छ।
दूतावासले भनेको छ–नेपाल सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी छिटो र धेरै पैसा कमाउने लोभमा कम्वोडिया, लाओस, म्यानमार थाइल्यान्ड लगायतका मुलुकहरूमा भ्रमणको बहाना गरी वैदेशिक रोजगारीमा नआउनका लागि राजदूतावास सम्बन्धित सबैमा अनुरोध गर्दछ।
Shares

प्रतिक्रिया