निर्वाचन विशेष


काठमाडौँ महानगर : मखन टोल, जनबहाल र महाबौद्ध क्षेत्रमा स्थापितको अग्रता

काठमाडौँ महानगर : मखन टोल, जनबहाल र महाबौद्ध क्षेत्रमा स्थापितको अग्रता

नेपालखबर
जेठ ७, २०७९ शनिबार ८:५८, काठमाडौँ

काठमाडौँ महानगरमा सुरुवातबाटै अग्रता लिँदै आएका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह तीन वडामा भने पछाडि देखिएका छन्। मतगणना जारी रहेका विभिन्न १० वडामध्ये उनी वडा नम्बर २४, २५ र २७ मा पछि देखिएका हुन्। 

मखन टोल क्षेत्रमा पर्ने वडा नम्बर २४ मा गणना भएका ६ सय मतमध्ये नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १५३ मत ल्याएका छन्। नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ११८ प्राप्त गर्दा शाहको पक्षमा ११६ मत आएको छ। 

२०७४ को निर्वाचनमा निवर्तमान महानगर प्रमुख विद्यासुन्दर शाक्यको गढ मानिन्थ्यो। गत निर्वाचनमा यस वडाबाट एमालेका बालकृष्ण श्रेष्ठले १ हजार ४५२ मत पाएर वडाध्यक्ष जित्दा कांग्रेसले ९१४ मत पाएको थियो।

जनबहाल क्षेत्रमा पर्ने वडा नम्बर २५ मा खसेको कुल मतमध्ये शनिबार बिहानसम्म १ हजार ५६५ मत गणना भएको छ। जसमध्ये स्थापितले ३८०, शाहले २४५ र सिंहले २३३ मत पाएका छन्। 

घना नेवा वस्ती मानिने जनबहालमा कांग्रेस र एमालेको लगभग बराबरी भोट छ। २०७४ को चुनावमा यस वडाबाट कांग्रेसका नीलकाजी शाक्य १ हजार ५२५ मतका साथ विजयी भएका थिए। एमालेले यस वडामा १ हजार ४९० मत पाएको थियो।  

महावौद्ध क्षेत्रमा पर्ने वडा नम्बर २७ मा २ हजार ४१८ मत गणना हुँदा एमालेका स्थापित अग्रस्थानमा छन्। उनले ७४३ मत ल्याएका छन्। 

यो वडामा स्वतन्त्र उम्मेदवार ३९५ मतसहित तेस्रो स्थानमा छन्। यहाँ कांग्रेस उम्मेदवार सिंहले ५७९ मत पाएकी छन्। नेवार समुदायको बाक्लो बसोबास रहेको महावौद्ध क्षेत्रमा २०७४ को चुनाव एमालेका चिनियामान बज्राचार्य १ हजार ५६६ मतका साथ विजयी भएका थिए। यहाँबाट कांग्रेसले १ हजार ३५८ मत पाएको थियो। 

अहिले काठमाडौँका ६, ७, ८, ९, १०, २४, २५, २६, २७ र ३१ नम्बर वडाको गणना भइरहेको छ। १, २, ३, ४, ५, २८, २९, ३० र ३२ नम्र वडाको गणना सम्पन्न भइसकेको छ। 

अहिलेसम्म काठमाडौँमा खसेको कुल मतमध्ये ९० हजार २९२ मत गणना भइसकेको छ। जसमध्ये शाह ३३ हजार २६० मतका साथ अग्रस्थानमा छन्। 

एमालेका स्थापित १७ हजार ६९२ मतका साथ उनलाई पछ्याइरहेका छन्। कांग्रेसकी सिंह १७ हजार ५७९ मतसहित तेस्रो स्थानमा छन्। वैशाख ३० मा सम्पन्न मतदानमा काठमाडौँमा १ लाख ८९ हजार ४२० मत खसेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad