निर्वाचन विशेष


६८३ तहको नतिजा सार्वजनिक हुँदा कांग्रेस एक्लैले जित्यो ३०३ पालिका, एमाले र माओवादीले कति जिते?

६८३ तहको नतिजा सार्वजनिक हुँदा कांग्रेस एक्लैले जित्यो ३०३ पालिका, एमाले र माओवादीले कति जिते?

नेपालखबर
जेठ ७, २०७९ शनिबार ७:२१, काठमाडौँ

स्थानीय तह निर्वाचनको मत गणना अन्तिम चरणमा पुग्दै गर्दा कांग्रेसले अहिलेसम्म ३०३ स्थानीय तहमा जित हासिल गरेको छ। 

सात सय ५३ स्थानीय तहमध्ये शनिबार बिहानसम्म देशभरका ६८३  स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ।


सार्वजनिक परिणाम अनुसार अहिलेसम्म सबैभन्दा धेरै पालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। अहिलेसम्म कांग्रेसले ३०३  स्थानीय तहमा प्रमुख जितेको छ भने मतगणना चलिरहेका २४ स्थानीय तहमा अझै पनि अग्रता कायम राखेको छ।

२०७४ मा भएको पहिलो स्थानीय तहको निर्वाचनमा सबैभन्दा धेरै पालिका जितेर पहिलो दल बनेको नेकपा एमाले यो निर्वाचनमा कांग्रेसभन्दा निकै पछि परेको छ। 

शनिबार बिहानसम्मको तथ्यांक अनुसार एमालेले अहिलेसम्म १८६ स्थानीय तहको प्रमुख जितेको छ। मतगणना चलिरहेका देशभरका २१ पालिकामा एमालेका उम्मेदवार अगाडि छन्।

२०७४ को तुलनामा यो निर्वाचनबाट आफ्नो अवस्था सुधार गरेको माओवादी केन्द्रले अहिलेसम्म ११७ पालिकाको प्रमुख जितेको छ भने ४ तहमा अग्रता कायम राखेको छ।  ०७४ मा माओवादीले १०६ पालिका प्रमुख जितेको थियो। 

जनता समाजवादी पार्टी (जसपा) ले अहिलेसम्म २८ स्थानीय तहको प्रमुख जितेर चौथो स्थान कायम गरेको छ। उसले ९ स्थानीय तहमा अग्रता कायम गरेको छ। 

एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीले अहिलेसम्म १७ स्थानीय तहको प्रमुख जितेको छ। २ स्थानीय तहमा उसले अग्रतालाई कायम राखेको छ। 

अहिलेसम्म देशभरमा ६ स्थानीय तहको प्रमुखमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। 

महन्थ ठाकुर नेतृत्वको लोसपाले अहिलेसम्म १० स्थानीय तहको प्रमुख जितेको छ भने मतगणना चलिरहेका ६ स्थानमा अग्रता कायम राखेको छ।

राष्ट्रिय जनमोर्चाले अहिलेसम्म चार स्थानीय तहको प्रमुख जितेको छ भने राप्रपाले चार तहको प्रमुख जितेको छ। 

रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले कैलालीका दुई पालिकामा प्रमुख जितेको छ भने सीके राउत नेतृत्वको जनमत पार्टीले सप्तरीका दुई पालिका प्रमुख जितेको छ। 

नेपाल मजदुर किसान पार्टीले अहिलेसम्म भक्तपुरको एउटा स्थानीय तहमा मात्रै जित हासिल गरेको छ भने तमलोपाले धनुषाको एक स्थानीय तहको प्रमुख जितेको छ। 

विवेकशील साझा पार्टीले पनि एउटा स्थानीय तहको प्रमुख जितेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad