निर्वाचन विशेष


५३५ स्थानीय तहको नतिजा : कांग्रेस २४३, एमाले १५५ र माओवादी केन्द्र १०२ पालिकामा विजयी

५३५ स्थानीय तहको नतिजा : कांग्रेस २४३, एमाले १५५ र माओवादी केन्द्र १०२ पालिकामा विजयी

नेपालखबर
जेठ ५, २०७९ बिहिबार ६:४६, काठमाडौँ

सात सय ५३ स्थानीय तहमध्ये बिहीबार बिहानसम्म देशभरका पाँच सय ३५ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ।

अहिलेसम्म सबैभन्दा धेरै पालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। अहिलेसम्म दुई सय ४३ स्थानीय तहमा कांग्रेसले प्रमुख जितेको छ भने ७५ स्थानीय तहमा अग्रता कायम गरिरहेको छ।

२०७४ को स्थानीय तहको निर्वाचनमा सबैभन्दा धेरै स्थानीय तह जितेर पहिलो दल बनेको नेकपा एमाले यो निर्वाचनबाट दोस्रो स्थानमा पुग्ने निश्चित भएको छ। 

एमालेले अहिलेसम्म एक सय ५५ स्थानीय तहको प्रमुख जितेको छ। मतगणना चलिरहेका ५२ पालिकामा एमालेका उम्मेदवार अगाडि छन्।

माओवादी केन्द्रले अहिलेसम्म १०२ स्थानीय तहको प्रमुख जितेको छ भने २० पालिकामा उसले अग्रता कायम राखेको छ। अहिलेसम्म सार्वजनिक मत परिणाम र अग्रतालाई हेर्दा माओवादी केन्द्रले ०७४ को भन्दा आफ्नो अवस्था केही सुधार गर्ने देखिन्छ। 

जनता समाजवादी पार्टी (जसपा) ले अहिलेसम्म १२ स्थानीय तहको प्रमुख जितेर चौथो स्थान कायम गरेको छ। उसले २० स्थानीय तहमा अग्रता कायम गरेको छ। 

एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीले अहिलेसम्म  ९ स्थानीय तहको प्रमुख जितेको छ। ११ स्थानीय तहमा उसले अग्रतालाई कायम राखेको छ। 

देशभरमा पाँच स्थानीय तहको प्रमुखमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। 

मतगणना चलिरहेको कैलालीको धनगढी उपमहानगरपालिका र महोत्तरीको बर्दिबास नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार अघि छन्।

राष्ट्रिय जनमोर्चाले अहिलेसम्म तीन स्थानीय तहको प्रमुख जितेको छ भने राप्रपाले काठमाडौंको शंखरापुर नगरपालिका र झापाको हल्दीबारी गाउँपालिकाको प्रमुख जितेको छ। 

नेपाल मजदुर किसान पार्टीले अहिलेसम्म भक्तपुरको एउटा स्थानीय तहमा जित हासिल गरेको छ।

त्यसैगरी लोसपा, तमलोपा र सीके राउत नेतृत्वको जनमत पार्टीले अहिलेसम्म एक एक स्थानीय तहको प्रमुख जितेका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad