बेदकोट नगरपालिकामा नेकपा एमालेले विरासत गुमाएको छ। यसपटकको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले बेदकोट नगरमा वर्चश्व जमाएको छ।
०७४ सालमा एउटा वडामा सिमित भएको कांग्रेसले यसपटक मेयर उपमेयर सहित ५ वडामा बाजी गरेको छ। ०७४ सालको स्थानीय तह निर्वाचनमा मेयर उपमेयर सहित ८ वडामा जितेको एमाले यसपटक २ वडामा खुम्चिन पुगेको छ।
यस्तै गत निर्वाचनमा एक वडा मात्रै जितेको नेकपा माओवादी केन्द्रले यसपटक २ वडामा जित निकालेको छ। नेकपा एकीकृत समाजवादी पार्टीले पनि बेदकोटको १ वडामा जित हासिल गरेको छ।
नेपाली कांग्रेसका भोजराज बोहरा र तुलशी जोशी दोस्रो प्रयासमा मेयर र उपमेयर बन्न सफल भएका छन्।
नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धन र नेकपा एमालेलाई उछिन्दै कांग्रेसका भोजराज बोहरा मेयर र तुलशी जोशी उपमेयरमा निर्वाचित भएका हुन्।
यसअघि ०७४ सालको निर्वाचनमा बोहरा र जोशी एमालेका अशोक चन्द र सुशिला सिंहसँग पराजित भएका थिए।
मेयरमा निर्वाचित बोहराले ८ हजार ७८ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी एमालेकी सुसिला सिंह ४ हजार ७४० मत प्राप्त गरिन्।
माओवादी र समाजवादीको गठबन्धनबाट मेयरका उम्मेदवार बनेका समाजवादीका रामचन्द्र रेग्मीले ३ हजार ८९८ र राप्रपाका बमबहादुर बलमे १ हजार ७५१ मत ल्याए।
उपमेयरमा नेपाली कांग्रेसकी तुलशी जोशी ७ हजार २५४ मत सहित विजयी भइन्। उनकी प्रतिस्पर्धी एमालेकी पार्वती भट्टले ५ हजार ७२७ मत प्राप्त गरिन् । गठबन्धनबाट माओवादीकी हिरा जैसीले ३ हजार ६५२ मत प्राप्त गरिन्।
Shares

प्रतिक्रिया