निर्वाचन विशेष


केन्द्रको ‘पावर’ लाएर टिकट खोसेका भट्टराई बने दिक्तेलका मेयर

केन्द्रको ‘पावर’ लाएर टिकट खोसेका भट्टराई बने दिक्तेलका मेयर

नेपालखबर
जेठ ४, २०७९ बुधबार ११:२९, काठमाडौँ

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा माओवादी केन्द्र निर्वाचित भएको छ। 

बुधबार बिहान सम्पन्न मत परिणाम अनुसार भट्टराईले निकटतम प्रतिद्वन्द्वी एमालेका कुमार आचार्यलाई ४ हजार ३९३ मतले हराउँदै निर्वाचित भएका हुन्।

भट्टराईले ११ हजार ३८९ मत पाउँदा आचार्यले ६ हजार ९९६ मत मात्रै पाए। २०७४ सालको निर्वाचनमा यो नगरमा प्रमुख र उपप्रमुख नै एमालेले जितेको थियो। 

तर यसपटक उपमेयरमा दोहोरिन चाहेकी बीनादेवी राई पनि पराजित भइन्। माओवादीका बिसन राई १० हजार ४३८ मत पाएर निर्वाचित भए। बीनाले ७ हजार ३१९ मत मात्रै पाइन्। 

मेयरमा निर्वाचित भट्टराई उम्मेदवारी दिने बेलामा भने बिबादमा परेका थिए। प्रदेशबाट टिकट नपाएपछि उनले केन्द्रबाट ‘पावर’ लाएर टिकट लगेका थिए। 

वैशाख १२ गते उम्मेदवारी दर्ताको समय घर्किँदै जाँदा पनि नेपाली कांग्रेसले टिकट वितरणको टुंगो लगाएन। नगरपालिकाको टिकटका लागि प्रदेश नं १ कार्यसमितिले विराटनगरमा छलफल गरिरहेको थियो। 

तर जिल्ला कार्यसमितिले गाउँपालिकामा कसलाई टिकट दिए नगरपालिकामा प्रदेशले कसलाई दिने भन्ने बार्गेनिङ चलिरहेको थियो। 

नेतृत्वको हानथापकै कारण टिकट लिएर जिल्ला पुग्नै नसकिने बेलामा खोटाङका दुई वटा नगरपालिकाका मेयरका उम्मेदवारको टुंगो लग्यो। 

दुवै उम्मेदवार विराटनगरमै थिए। कांग्रेसले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा पूर्व जिल्ला उपसभापति धर्मराज पोख्रेल र हलेसी तुवाचुङ नगरपालिकामा बिमला राईलाई नगर प्रमुखको टिकट दियो। 

टिकट पाइसकेपछि धर्मराज पोखरेलले काठमाडौंबाट हेलिकप्टर मगाए। सोही हेलिकप्टरमा बिमला पनि दिक्तेल पुगिन्। दिक्तेलमा धर्मराजलाई छाडेर हेलिकप्टर हलेसी पुग्यो। 

तर धर्मराज हेलिकप्टरबाट झर्नासाथ कांग्रेसकै कार्यकर्ताले उनको झोला खोसे। उनीमाथि हातपात पनि गरे। प्रहरीले जोगाएर पार्टी कार्यालय पुर्‍यायो। 

प्रहरी घेराबाटै निर्वाचन अधिकृतको कार्यालय पुगेर धर्मराजले नेपाली कांग्रेसको तर्फबाट मेयरमा उम्मेदवारी दर्ता गराए। उनको उम्मेदवारी दर्ता पछि जिल्लाका कांग्रेसी नेता कार्यकर्ताले चर्को असन्तुष्टि जनाए। 

ती कार्यकर्ताको माग मेयरको टिकट तीर्थराज भट्टराईलाई दिनुपर्छ भन्ने थियो। 

यता तीर्थराज भट्टराईले पनि कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको जोडमा केन्द्रीय सभापति शेरबहादुर देउवाको पत्र झिकाए र उनले पनि कांग्रेसकै तर्फबाट उम्मेदवारी दिए। 

कांग्रेसबाट दुई जनाको उम्मेदवारी परेसँगै निर्वाचन अधिकृतको कार्यालय पनि अन्योलमा पर्‍यो। 

तर शेरबहादुर देउवाले भोलिपल्ट फेरि अर्को पत्र पठाउँदै पार्टीको आधिकारीक उम्मेदवार तीर्थ भट्टराई नै भएको र धर्मराज पोखरेलको नाम पार्टीको उम्मेदवारबाट हटाउन भने। 

पार्टीको केन्द्र र जिल्लाबाट पनि साथ नपाएपछि अन्ततः धर्मराजले उम्मेदवारी फिर्ता लिए। उनै पोखरेलको सहयोगमा भट्टराई मेयर बने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad