काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले एमाले र काँग्रेसका उम्मेदवारलाई लगातार पछि पार्न थालेपछि देशभरिका मतदातामा चासो बढेको छ, के बालेनले चुनाव जित्लान् ? एमालेका केशव स्थापित र कांग्रेसकी सिर्जना सिंहको ‘पोजिसन’ कस्तो होला ?
कुल ३२ वटा वडा रहेको काठमाडौं महानगरपालिकामा चारवटा वडाको मात्रै मतगणना भइरहेको छ। ती वडाको गणना पनि सकिइरहेको छैन। यो स्थितिमा बालेन शाह, एमाले र कांग्रेसले अहिले ल्याइरहेको पोजिसनमा तलमाथि नपर्ला भन्न सकिँदैन।
यहाँ हामीले हाल गणना भइरहेका चारवटा वडाको सामान्य विश्लेषण गर्ने प्रयास गरेका छौं। अहिलेसम्म जुन वडामा मतगणना भइरहेका छन्, ती चारवटै वडाहरु गत ०७४ को स्थानीय चुनावमा एमालेको गढ मानिन्थे। यी वडामा नेपाली काँग्रेस गत स्थानीय चुनावमा फराकिलो अन्तरले एमालेसित हारेको थियो।
यो आधारमा विश्लेषण गर्दा अहिले बालेन शाहले वडा नम्बर १,३,४ र ३२ नम्बरमा जसरी अग्रता कायम गरिरहेका छन्, यसबाट कांग्रेसलाई भन्दा बढी एमालेलाई धक्का लागेको देखिन्छ।
अब मतगणना भइरहेका चारवटा वडाको विगतको अवस्था हेरौं।
काठमाडौं अपडेटः बालेन २०७१, स्थापित ११६४
२०७४ को स्थानीय चुनावमा काठमाडौंको वडा नम्बर १ मा एमालेका भरतलाल श्रेष्ठले १ हजार ३५ मत ल्याएर जित्दा काँग्रेसले ६३९ मत मात्र पाएको थियो। यहाँ राप्रपाले १८५ मत पाएको थियो भने माओवादीले ५५, संघीय फोरमले २७ र स्वतन्त्रले २० मत पाएका थिए। यसपालि यस वडामा भइरहेको मतगणनामा मेयर पदमा बालेन शाहले एमालेलाई पछि पारिदिएका छन्।
काठमाडौंको वडा नम्बर ३ मा ०७४ सालको स्थानीय चुनावमा एमाले लोकप्रिय मतका साथ जित निकालेको थियो। यस वडामा एमालेका दीपक केसीले ३०६२ मतका साथ वडाध्यक्ष जितेका थिए। केसी यसपालि एमाले छाडेर माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीबाट उम्मदेवार बने। यसबाट एमालेलाई धक्का लागेकै थियो, यस वडामा पनि बालेनले अग्रता लिए।
एमालेले ३ हजार बढी मतले जितेको वडा नं ३ मा ०७३ मा नेपाली कांग्रेसले १ हजार ५४१ मत मात्रै पाएको थियो। यस वडामा माओवादीले ४५२, राप्रपाले ३४८, जनमोर्चाले १० र स्वतन्त्रले १०८ मत पाएका थिए। कांग्रेसको भन्दा दोब्बर मताधार रहेको यस वडामा पनि बालेन शाहले अग्रता लिँदा काँग्रेसलाई कम र एमालेलाई बढी क्षति पुगेको देखिन्छ।
काठमाडौंको वडा नम्बर ४ मा पनि यसहघि नेकपा एमालेले नै जितेको थियो। यहाँ एमालेका मोहन बहादुर विष्टले ३ हजार ८१३ मत पाएका थिए भने काँग्रेसको मत ३ हजार ४८० थियो। यहाँ राप्रपाको ४९१, माओवादीको ३०६, संघीय फोरमको ११४, लोकतान्त्रिक फोरमको ४५ र स्वतन्त्रको ८९ मत खसेको थियो। अर्का स्वतन्त्रले ५ मत पाएका थिए। अहिले एमालेको यो गढमा पनि लौरो पसेको छ। अर्थात्, बालेनले यस वडामा पनि लिड गरेर पूर्वविजेता एमालेलाई धक्का दिएका छन्।
गत चुनावको आँकडा हेर्दा काठमाडौं वडा नम्बर ३२ नेकपा एमालेको बलियो गढ हो। ०७४ सालमा यस वडाबाट एमालेका नवराज पराजुलीले ५ हजार ८७९ मतका साथ अध्यक्ष जितेका थिए। यहाँ कांग्रेसले ४ हजार १९ मत ल्याएको थियो। यस वडामा ०७४ सालमा माओवादीले ७६३, राप्रपाले ६७८, संघीय फोरमले ११९ र स्वतन्त्रले ९२ मत पाएका थिए। अर्का एक स्वतन्त्रले २ मत पाएका थिए। एमालेको यो गढमा पनि बालेन शाहले अग्रता लिइरहेको स्थिति छ।
यसअघि नेकपा एमालेले जितेका वडाबाट स्वतः विद्यासुन्दर शाक्यको अग्रता कायम भएको थियो। त्यसरी एमालेको अग्रता कायम भएको ठाउँ एमालेले बचाउन नसक्नु भनेको उसमाथि लागेको धक्का हो। अब कांग्रेसको अग्रता लिएका वडाको अवस्था के हुन्छ, त्यो हेर्न बाँकी छ।
०७४ को चुनावमा काठमाडौंका ३२ मध्ये एमालेले १८ र कांग्रेसले १४ वडा जितेका थिए।
प्रतिक्रिया