ad ad

निर्वाचन विशेष


मुस्लिम र क्रिश्चियन बहुल गाउँपालिका हिन्दुवादी राप्रपाका गढ

तर, यसपटक विरासत जोगाउन कठिन
मुस्लिम र क्रिश्चियन बहुल गाउँपालिका हिन्दुवादी राप्रपाका गढ

सीताराम बराल
बैशाख २०, २०७९ मंगलबार २१:१९, काठमाडौँ

राजतन्त्र र हिन्दु राष्ट्र पुनस्र्थापनाको एजेन्डा बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का लागि दोस्रो संविधान सभा (२०७०) र २०७४ को पहिलो स्थानीय तह गरी दुवै निर्वाचनका परिणाम आश्चर्यजनक थिए। 

तर, २०७० को दोस्रो संविधान निर्वाचन सकारात्मक हिसाबले आश्चर्यजनक थियो भने २०७४ को पहिलो स्थानीय तह निर्वाचन नकरात्मक हिसाबले। 

२०७० मा राप्रपाले आश्चर्यजनक रुपमा लोकप्रिय मत प्राप्त गरी समानुपातिकतर्फ २५ सिट प्राप्त गरेको थियो। यस्तो सफलता प्राप्त गरेको राप्रपा २०७४ को स्थानीय तह निर्वाचनमा ७ सय ७३ मध्ये जम्मा ५ वटा स्थानीय तहका प्रमुखमा मात्र विजय हासिल गर्न सफल भयो। 

यसमध्ये उसले बाँकेको नेपालगञ्ज उपमहानगरपालिका (धबल शमशेर राणा), झापाको हल्दिबारी (रविन चाम्लिङ) र गौरीगञ्ज (बाबुराजा श्रेष्ठ) गाउँपालिकामा मेयर–प्रमुख पदमा मात्र विजय हासिल गरेको थियो भने झापाकै कचनकबल र धादिङको रुवीभ्याली गाउँपालिका भने प्रमुख–उपप्रमुख दुवै पदमा विजय हासिल गरेको थियो।  

रोचक चाहिँ के भने हिन्दुराष्ट्र पुनर्स्थापनाको एजेन्डा बोकेको राप्रपाले अध्यक्ष–उपाध्यक्षमा नै विजय हासिल गरेका दुई पालिकामध्ये कचनकबल (अध्यक्ष– अञ्जार आलम) मा मुस्लिम धर्मावलम्बीहरुको र रुवीभ्याली (अध्यक्ष– चेरुङ तामाङ) मा क्रिश्चियन धर्मावलम्बीहरुको बाहुल्य छ। 

तर, प्रमुख–उपप्रमुख गरी दुवै पदमा विजय हासिल गरेका यी दुई गाउँपालिकामा पहिलेजस्तै जित निकाल्न राप्रपालाई यसपटक हम्मे पर्ने देखिएको छ। दुवै गाउँपालिकामा ठूला दलहरुको गठबन्धनका कारण राप्रपालाई २०७४ को विरासत जोगाउन अप्ठेरो पर्ने देखिएको हो।  

कचनकबलः राप्रपा विरुद्ध कांग्रेस–एमाले 
कचनकबलमा २०७४ को निर्वाचनमा राप्रपा उम्मेदवार अञ्जार आलम ५ हजार ८ सय १६ मत प्राप्त गरी विजयी भएका थिए। उपाध्यक्षमा पनि राप्रपाकै निमसरी राजवंशी ५ हजार ७ सय ७४ मत प्राप्तगरी विजयी भएकी थिइन्।

निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार कलेन्द्रप्रसादसिंह राजवंशीले यहाँ ५ हजार ३ सय ७३ मत प्राप्त गरेका थिए। तेस्रो स्थान प्राप्त गरेका एमाले उम्मदेवार शेरबहादुर खत्रीको ३ हजार ९ सय ७२ र चौथो स्थानमा रहेका माओवादी केन्द्रका हंशनारायणसिंह राजवंशीको मत १ हजार २ सय ५० थियो। 

सत्ता गठबन्धनको नेतृत्व गरेको नेपाली कांग्रेसले गठबन्धनबाहिरका दलसँग गठबन्धन नगर्ने निर्णय गरे पनि कचनकबलमा भने उसले प्रमुख प्रतिपक्षी एमालेसँग नै तालमेल गरेको छ। कांग्रेस–एमाले गठबन्धनबाट यहाँ २०७४ मा पराजित कांग्रेस उम्मेदवार कलेन्द्रप्रसाद राजवंशी नै उम्मेदवार बनेका छन्। 

२०७४ को स्थानीय तह निर्वाचनको मत परिणामका आधारमा यहाँ माओवादी केन्द्र चौथो शक्ति हो। 

सत्ता गठबन्धनको केन्द्रीय नीति विपरीत कांग्रेसले यहाँ एमालेसँग तालमेल गरेपछि आफ्नो स्थिति मजबुत बनाउन यहाँ राप्रपाले माओवादी केन्द्रसँग तालमेल गर्दा उसको स्थिति केही सुदृढ हुने थियो। तर, कांग्रेस–एमालेको गठबन्धनविरुद्ध यहाँ राप्रपा र माओवादी केन्द्रबीच तालमेल हुन सकेको छैन। 

एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा एमालेविरुद्ध राप्रपा नेतृत्वको गठबन्धनमा कांग्रेससँगै रहेको माओवादी केन्द्र कचनकबलमा भने राप्रपा र कांग्रेस–एमाले गठबन्धनसँग एक्लै भिड्नुपर्ने बाध्यतामा छ। 

राष्ट्रिय राजनीतिका पहिलो र दोस्रो ठूलो दल गठबन्धन बनाएर उत्रिएपछि राप्रपामाथि चुनौती थपिने नै भयो। अझ २०७४ को निर्वाचनमा अध्यक्षतर्फ यो गाउँपालिकामा कांग्रेस–एमालेले प्राप्त गरेको मतलाई आधार मान्ने हो भने यसपटक राप्रपाले यहाँ विजय हासिल गर्ने कुनै सम्भावना देखिँदैन। 

त्यो निर्वाचनमा कांग्रेस र एमाले उम्मेदवारको मतको जोड  ९ हजार ३ सय ४५ हुन आउँछ, जुन विजेता राप्रपाका आलमले प्राप्त गरेको भन्दा ३ हजार ५ सय २९ बढी हो। 

कचनकबल राप्रपाले प्रमुख–उपप्रमुख दुवै पदमा विजय हासिल गरेका दुईमध्ये एक गाउँपालिका मात्र होइन, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको निर्वाचन क्षेत्र (झापा–३) अन्तर्गतको स्थानीय तह पनि हो। खासमा लिङ्देनको निर्वाचन क्षेत्र भएकाले पनि यहाँ कांग्रेस–एमालेले राप्रपाविरुद्ध तालमेल गरेका हुन्। 

रुवीभ्यालीः सत्तागठबन्धनको चुनौती 
२०७४ को स्थानीय तह निर्वाचनमा उत्तरी धादिङको रुवीभ्याली गाउँपालिकामा राप्रपाका अध्यक्ष उम्मेदवार चेरुङ तामाङ १ हजार ४ सय ८७ मत प्राप्त गरी विजयी भएका थिए। राप्रपाकै विना लामा १ हजार ४ सय ९ मत प्राप्त गरी उपप्रमुख निर्वाचित भएकी थिइन्।
 
प्रमुखमा निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका रामसिंह तामाङले प्राप्त गरेको मत ९ सय ५३ थियो। तेस्रो स्थानमा रहेको एमालेका जीवन तामाङले ८ सय ७३ मत प्राप्त गरेका थिए भने चौथो स्थानमा ६ सय ९४ मतका साथ नेपाली कांग्रेसका कुलबहादुर तामाङ थिए। 

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा राप्रपाले ०७४ मा विजयी चेरुङ तामाङको साटो गोम्बा घलेलाई प्रतिस्पर्धामा उतारेको छ। माओवादी केन्द्रले २०७४ मा निकटतम प्रतिद्वन्द्वी रहेर पराजित भएका रामसिंह तामाङगलाई नै उम्मेदवारको रुपमा दोहोर्याएको छ। 

दुवै पद जितेको राप्रपाविरुद्ध झापामा जस्तै यहाँ पनि गठबन्धन निर्माण भएको छ। सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको साझा उम्मेदवारका रुपमा माओवादी केन्द्रका रामसिंह छन्। राप्रपाजस्तै एमाले पनि यहाँ बिनागठबन्धन प्रतिस्पर्धामा छ। 

एमालेबाट विभाजित एकीकृत समाजवादीको पनि धादिङमा राम्रै प्रभाव देखिन्छ। रुवीभ्यालीमा सत्ता गठबन्धनमा रहेका कांग्रेस–माओवादी केन्द्र–एकीकृत समाजवादीबीचको गठबन्धनका कारण राप्रपालाई यसपटक विजय हासिल गर्न सहज छैन।  

राप्रपाविरुद्धको गठबन्धनमा रहेका माओवादी केन्द्र र नेपाली कांग्रेसले २०७४ मा प्राप्त गरेको मतको जोडले पनि यही बताउँछ।  यी दुई दलले २०७४ मा प्राप्त गरेको मतसंख्याको जोड (१ हजार ८ सय ७३) भन्दा विजेता राप्रपा उम्मेदवारले प्राप्त गरेको मत (१ हजार ४ सय ८७) भन्दा ३ सय ३९ बढी हो। 

यो मतमा एकीकृत समाजवादीको मतसमेत जोडिँदा सत्ता गठबन्धनका उम्मेदवारको मत अझ बढ्ने देखिन्छ। 

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठ भने जे–जस्ता गठबन्धन निर्माण भए पनि यी दुई स्थानीय तहमा राप्रपाको विजयमा कुनै शंका नरहेको दाबी गर्छन्।

‘२०७४ को निर्वाचन परिणामलाई आधार बनाएर राप्रपाको मूल्याङ्कन गर्दा सही आकलन गर्न सकिँदैन,’ श्रेष्ठ भन्छन्, ‘किनभने, २०७४ मा हामी सबभन्दा खराब स्थितिमा थियौँ, अहिले सबैभन्दा बढी सबल स्थितिमा छौँ।’ 

झापाका दुई अध्यक्षलाई ‘सहज’  
उपरोक्त दुई पालिकाका अध्यक्ष–उपाध्यक्षबाहेक राप्रपाका धबल शमशेर राणा नेपालगञ्ज उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएका थिए भने झापाको हल्दिबारी गाउँपालिकाको प्रमुखमा पनि सोही पार्टीका रविन लिङ्देन विजयी भएका थिए। झापाकै गौरीगञ्ज गाउँपालिकामा पनि राप्रपाका बाबुराजा श्रेष्ठ प्रमुखमा विजयी भएका थिए। 

राप्रपाले मेयरमा विजय हासिल गरेको नेपालगञ्जमा यसपटक कांग्रेस–जसपा–माओवादी केन्द्र–एकीकृत समाजवादीको गठबन्धन छ। सत्ता गठबन्धनका कारण राप्रपाको उम्मेदवार बनेका नन्दलाल वैश्यलाई २०७४ मा राणाले निकालेजस्तो जित निकाल्न सम्भव छैन। 

व्यक्तिगत लोकप्रियताका आधारमा विजय हासिल गरेका रविन लिङ्देनलाई झापाको हल्दीबारीमा र गौरीगञ्जमा बाबुराजा श्रेष्ठलाई नै यसपटक पनि राप्रपाले गाउँपालिकाको प्रमुखका लागि प्रतिस्पर्धामा उतारेको छ। तर, अन्यत्र जस्तो झापाका यी दुई गाउँपालिकामा भने राप्रपाविरुद्ध गठबन्धन निर्माण भएको छैन। 

यीबाहेक राप्रपाले एमालेसँगको तालमेलका कारण डोल्पाको ठूलीभेरी नगरपालिका, म्याग्दीको बेनी र बाग्लुङको बाग्लुङ नगरपालिकाको उपमेयरमा विजय हासिल गरेको थियो। तर, यी पालिकामा यसपटक गठबन्धन नभएका कारण २०७४ मा जस्तै विजय हासिल गर्न राप्रपा उम्मेदवारलाई सहज छैन। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .