कोही फोटो खिचिरहेका छन्। कोही टिकटक बनाउँदै छन्। पुलमा मानिसको खचाखच भिड छ। दिनहुँ पुल आसपासमा यस्तै चहलपहल भइरहन्छ।
एक खम्बामा ठडिएको कैलालीको चिसापानीस्थित कर्णाली पुल यस क्षेत्रको पर्यटकीय गन्तव्यका रुपमा चिनिन थालेको छ। शैक्षिक भ्रमण तथा आन्तरिक अवलोकनकर्ताको प्रमुख रोजाइमा कर्णाली पुल पर्ने गरेको छ।
पछिल्लो समय दैनिक हजारौँले याे पुलको अवलोकन गर्ने गरेका छन्। कर्णाली नदीमाथि एक खम्बे पक्की पुल, चारैतिर छरिएको प्राकृतिक सौन्दर्य, नदीको बहाव लगायत दृश्यले लोभ्याउने गरेको छ।
पुल आसपासको चिसापानी क्षेत्रमा चहलपहल बढेसँगै व्यापार व्यवसाय पनि फस्टाउँदै गएको छ। पहिले केही सामान्य पसल मात्रै थिए भने अहिले दर्जनौँ होटल, लज, रेष्टुरेन्टहरु खुलेका छन्।
स्थानीय युवाले घरमै बसेर रोजगारी पाउन थालेका छन्। चिसापानीका स्थानीयले माछाका परिकार, सुकुटी लगायत खान्की बिक्री गर्ने अवसर पाएका छन्।
कर्णाली पुलले सुदूरपश्चिमलाई देशको अन्य भागसंग जोडेको छ। यसको निर्माण सन् १९९३ मा पूरा भएको हो। यो पुलको बिचमा ठूलो खम्बा छ र त्यसमा स्टीलका तारहरू बाँधेर ट्रसलाई अड्याइएको छ।
कर्णाली पुल ५०० मिटर लामो तथा १० मिटर चौडा छ। बिचको खम्बाको एक भाग तिर ३२५ मिटर छ भने अर्को भाग तिर १७५ मिटर छ। यसको निर्माणमा ३,८७० टन स्टील प्रयोग गरिएको छ। यसको निर्माण जापानको कावासाकी हेवी इन्डस्ट्रिजले गरेको हो।
मानिसको आवत–जावत र पर्यटनको मिश्रणले चिसापानीलाई यस क्षेत्रकोे हबमा परिणत गर्दैछ।
हेर्नुहाेस् थप तस्बिर








Shares

प्रतिक्रिया