ad ad

कारोबार


एप्पलले यसरी जमाइरहेको छ बजारमा आधिपत्य, अमेरिकी सरकारले लगायो गम्भीर आरोप

एप्पलले यसरी जमाइरहेको छ बजारमा आधिपत्य, अमेरिकी सरकारले लगायो गम्भीर आरोप

नेपालखबर
चैत ९, २०८० शुक्रबार १८:४२, काठमाडौँ

आईफोन निर्माता कम्पनी एप्पलमाथि अमेरिकी सरकारले ऐतिहासिक मुद्दा दर्ता गरेको छ। 

कम्पनीले स्मार्टफोन बजारमा एकाधिकार जमाएको र प्रतिस्पर्धालाई छिन्नभिन्न पारेको आरोप लागेको हो। 

अमेरिकी जस्टिस डिपार्टमेन्टले आईफोन एपस्टोरमा आफ्नो नियन्त्रणको दुरुपयोग गर्दै ग्राहक र विकासकर्तालाई ‘कैद’ गरेको डिपार्टमेन्टले बताएको छ। 

न्युजर्सीमा रहेको एक संघीय अदालतमा १६ राज्यका मुख्य न्यायाधिवक्तासँगै  अमेरिकी सरकारका महान्यायाधिवक्ता मरिक गारल्यान्डले दायर गरेको मुद्दालाई एप्पलविरुद्धको हालसम्मकै ठूलो चुनौतीका रुपमा हेरिएको छ। 

तर एप्पलले भने आरोपलाई अस्वीकार गर्दै कडा प्रतिवाद गर्ने बताएको बीबीसीले जनाएको छ। 

के–के छन् आरोप? 
अमेरिकी सरकारका अनुसार एप्पलले शृंखलाबद्ध रुपमा शेपशिफ्टिङ नियम प्रयोग गर्दै यसका हार्डवेयर र सफ्टवेयरको पहुँचमा कडाइ गरेको र आफ्नो नाफा बढाउन ग्राहकको लागत बढाएको तथा नवप्रवर्तनलाई दबाएको पाइएको छ। 

त्यतिमात्र नभई अमेरिकाको संघीय ‘एन्टि–ट्रस्ट ल’को उल्लंघन गर्दै प्रतिस्पर्धाको सामान्य नियम छलेर स्मार्टफोन बजारमा आफ्नो एकाधिकार जमाएको दायर गरिएको मुद्दामा उल्लेख छ। 

कम्पनीले कानुन नमिचेको भए ग्राहकले आईफोनकै लागि उच्च मूल्य तिर्नु नपर्ने अमेरिकी सरकारको भनाइ छ। ८८ पृष्ठ लामो मुद्दामा एप्पलले आफ्नो शक्तिको कसरी दुरुपयोग गरेको थियो, खुलाइएको छ। 

खासगरी आफ्ना एपहरुको समीक्षा प्रक्रियामार्फत एप्पलले सुपर एप र स्ट्रिमिङ एपहरुको विकासलाई रोकेको आरोप छ। ती एपले ग्राहकलाई आईफोनमै जोडिन नदिन सक्ने भयले कम्पनीले त्यसो गरेको अमेरिकी सरकारको आरोप छ। 

यसबाहेक अन्य प्रतिस्पर्धीका स्मार्टवाचलाई आईफोनमा कनेक्ट हुन कठिन पारेको, एप्पल पे कारोबारबाट अर्बौँ डलर आम्दानी गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई ‘ट्याप टु पे’मा पहुँच नदिएको आरोप लागेको छ।

त्यस्तै अन्य फोनहरुबाट आएका म्यासेजलाई ‘ग्रिन बबल्स’ले छुट्याएको र भिडिओ तथा अन्य फिचरलाई साँघुर्‍याएको आरोप छ। यसले बजारमा आफ्नो पकड जमाउन एप्पललाई मद्दत गरेको दायर मुद्दामा उल्लेख छ। 

सन् २००९ यता एप्पलले अमेरिकी सरकारबाट झेल्नुपरेको यो तेस्रो मुद्दा हो भने राष्ट्रपति जो बाइडेनको प्रशासनबाट एन्टिट्रस्ट चुनौती सामना गर्नुपरेको पहिलोपटक हो। 

यो मुद्दा सरकारले जितेमा एप्पलले अहिलेका सम्झौता र अभ्यासलाई बदल्नुपर्नेछ। मुद्दा दायरले कम्पनीलाई समेत ठूलो क्षति हुनेछ। दायर हुनासाथ कम्पनीको सेयर ४ प्रतिशतभन्दा धेरैले घटेको बताइएको छ। 

गत महिनामात्रै एप्पलले युरोपेली संघबाट १ अर्ब ८० करोड युरो जरिवाना तिर्नुपरेको थियो। म्युजिक स्ट्रिमिङमा प्रतिस्पर्धा कानुन उल्लंघन गरेको पाइएपछि ईयूले कम्पनीलाई उक्त जरिवाना तिराएको थियो। 

अमेरिकी सरकारका अनुसार अमेरिकी स्मार्टफोन बजारमा एप्पलको हिस्सा ७० प्रतिशत नाघेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .