संघाई परिवारको त्रिवेणी स्पिनिङ मिल्स प्रालिको सञ्चालन आय सन् २०२० को तुलनामा सन् २०२१ मा घटेको छ।
कम्पनीले सन् २०२१ मा १ अर्ब ८० करोडको मात्रै कारोबार गरेको हो। अघिल्लो वर्ष कम्पनीले १ अर्ब ९० करोडको कारोबार गरेको थियो। कोभिड सुरु हुनुअघिको वर्ष सन् २०१९ मा कम्पनीको सञ्चालन आय ३ अर्ब रहेको थियो।
सञ्चालन आम्दानीमा ह्रास आए पनि कम्पनीको पीबीआईएलडीटी मार्जिन भने २.५३ प्रतिशतबाट बढेर ६.७४ प्रतिशत पुगेको केयर रेटिङ नेपालले जनाएको छ।
बाराको चटापिप्रामा रहेको कम्पनीको क्षमता प्रतिवर्ष १४ हजार ६ सय ८९ मेट्रिक टन रहेको छ। कम्पनीले पोलिस्टर, भिस्कज, एक्रिलिक÷ब्लेन्डेड यार्नहरु उत्पादन गर्छ। सन् २०२१ मा कम्पनीको कुल बिक्रीको ६८ प्रतिशत निर्यात भएको थियो। घरेलु र विदेशी सरकारी नीतिले कम्पनीको निर्यातलाई सहयोग मिलेको रेटिङ एजेन्सीले जनाएको छ।
नेपाल सरकारले पोलिस्टर, भिस्कज, एक्रिलिक र कटन निर्यात प्रयोजनका लागि यार्नमा तीन प्रतिशत सहुलियत दिएको छ। यस्तो सहुलियत भारत निर्यात गर्ने कम्पनीहरुले पनि पाउँछन्। यसले गर्दा पनि सिन्थेटिक यार्न नेपालबाट निर्यातमा प्रवर्द्धन भएको छ।
कम्पनीले दुई दशकयता यार्न उत्पादन गर्दै आएको छ। संघाई परिवारको बैंकिङ, बीमा, उत्पादन र व्यापारमा व्यवसाय रहेको छ।
Shares
प्रतिक्रिया