कारोबार


अब सहकारीले पनि बैंकको एटीएमजस्तै कोप कार्ड जारी गर्न सक्ने

एससीटी, राष्ट्रिय सहकारी बैंक र ग्लोबल आईएमई बैंकले सुरु गरे कोप कार्ड
अब सहकारीले पनि बैंकको एटीएमजस्तै कोप कार्ड जारी गर्न सक्ने

नेपालखबर
साउन २०, २०७९ शुक्रबार १२:२३, काठमाडौँ

स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी), राष्ट्रिय सहकारी बैंक र ग्लोबल आईएमई बैंकले सहकारीहरुको लागि कोप कार्ड सुरु गरेका छन्। 

एससीटीले विगत २० वर्षदेखि बैंक तथा वित्तीय संस्थाहरुलाई एटीएम कार्ड सेवा उपलब्ध गराउँदै आइरहेकोमा अबदेखि सहकारीहरुको लागि सहकारी पहिचानसहितको कोप कार्डको सेवा सुरु भएको हो।  

राष्ट्रिय सहकारी बैंक लिमिटेड र ग्लोबल आइएमई बैंक लिमिटेडबीचको सहकार्यमा राष्ट्रिय सहकारी बैंक लिमिटेडको २०औँ स्थापना दिवसको अवसरमा आयोजित समारोहमा उद्घाटन गरी शुभारम्भ गरिएको ती संस्थाहरुले जनाएका छन्।

नेपाल राष्ट्र बैंकको नीति तथा निर्देशन अनुरुप यस स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडले समग्र भुक्तानी प्रणालीमा र विद्युतीय कारोवारमा एटीएम कार्ड, स्मार्ट क्यूआर र मोबाइल बैंकिङमार्फत आफनो सेवा दिँदै आएको छ। 

अहिलेसम्म बैंक तथा वित्तीय संस्थाहरुलाई मात्र सुबिधा पु¥याउँदै आइरहेकोमा हाल बढ्दै गएको सहकारीको भुमिका र कारोवार समेतलाई मध्यनजर गर्दै सहकारीहरुले पनि न्यूनतम लागतमा सहजै एटीएम कार्ड जारी गर्न सक्ने प्रविधि र प्रक्रिया मिलाइएकोे ती संस्थाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

‘विगत केही समय अगाडिदेखि एससीटीले १०० भन्दा बढी सहकारीहरुलाई कार्ड सेवा दिइसके पनि यसलाई अझ बढी प्रभावकारी बनाउन र सहकारीका सबै सदस्यलाई सेवा पु¥याउन राष्ट्रिय सहकारी बैंक लिमिटेडको सहकार्यमा बैंकमा आबद्ध सम्पूर्ण सहकारीहरुलाई एउटै ब्राण्डको कोप कार्ड जारी गरी सञ्चालनमा ल्याउन लागेको हो’, विज्ञप्तिमा भनिएको छ, ‘यसरी प्रदान गर्ने कार्ड अन्तर्राष्ट्रिय स्तरको चिप कार्ड र कन्टाक्टलेश प्रबिधिमा आधारीत हुने र नेपाल तथा भारतका एटीएम÷पस जुनसुकै स्थानबाट सहजै चलाउन सकिनेछ।’ 

यस कोप कार्ड ग्लोबल आइएमई बैंकको प्रायोजनमा राष्ट्रिय सहकारी बैंकमार्फत सहकारीहरुले जारी गर्ने बैंकले जनाएको छ। योसँगै सम्पूर्ण सहकारीहरुले सजिलै राष्ट्रिय सहकारी बैंक लिमिटेडमा सम्पर्क गरी कोप कार्ड जारी गर्न सक्नेछन्।

सहकारीहरुले आफनो सदस्यहरुलाई कोप कार्डको वितरण गरेपछि सहकारीमा आबद्ध सदस्यहरुले आफ्नो सहकारीको खातावाट जुनसुकै बेला जहाँवाट पनि एटीएममार्फत रकम निकाल्न सक्नेछन् भने पसको माध्यमवाट कुनै पनि सेवा वा वस्तु खरिद गर्न सक्नेछन्। 

यो सुविधाका कारण सदस्यहरुको सहकारीप्रति विश्वास बढ्दै जाने, नगद कारोबार कम भएर औपचारिक रुपमा बचत परिचालन हुने र वित्तीय सेवा २४ घण्टा उपलब्ध हुनेछ। यस सहकार्यले समग्र सहकारी क्षेत्रको भुक्तानी प्रणालीमा र विद्युतीय कारोबारमा पहुँच बढदै जाने र साधारण बैंकिङ कारोवारको लागि बैंक गइरहनुपर्ने बाध्यतावाट मुक्ति दिनेछ र सहकारीहरुको विकासमा थप योगदान पुग्न जाने आशा लिइएको छ।

कार्ड शुभारम्भ कार्यक्रमलाई प्रमुख अतिथीको रूपमा सम्बोधन गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सार्वजनिक निजी र सहकारी क्षेत्रको सहभागिता एवम् विकास मार्फत उपलब्ध साधन स्रोतको अधिकतम परिचालनद्वारा तीव्र आर्थिक वृद्घि हासिल गर्दै दिगो आर्थिक विकास गर्दै शोषणरहित समाजको निर्माण गर्ने लक्ष्य सरकारले लिँदै आएको बताइन्। 

राष्ट्रिय सहकारी बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाईंले सहकारीमा प्रबिधिको महत्व र उपयोगिताका बारे प्रतिवेदन प्रस्तुत गर्दै यस सेवाद्धारा सहकारीहरुलाई विद्युतीय कारोवारका लागि थप प्रबिधियुक्त सुविधाहरू दिँदै जाने र सहकारीहरुलाई अझ सवल बनाउँदै जाने विश्वास व्यक्त गरे।

ग्लोबल आइएमई बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृ रत्नराज बज्राचार्यले आफनो मन्तव्यमा ग्लोबल बैंकले यस सहकार्यमा सहभागी भई सहकारी क्षेत्रमा पनि केही टेवा पुर्याउन पाएकोमा खुसी व्यक्त गरे।

स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडका अध्यक्ष सुमन पोखरेलले विद्युतीय भुक्तानी प्रणालीमा सहकारी क्षेत्र पनि जोडिन पाउँदा सहकारी क्षेत्रको समग्र सेवाको विविधिकरण हुने विश्वास व्यक्त गरे। 

कोप कार्ड सार्वजनिक कार्यक्रममा तारापुन्ज मल्टिप्रपोज कोअपरेटिभ लिमिटेड, मुनाल सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड र फ्रेन्डस सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड गरी तीन सहकारी पुरस्कृत भएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .