ad ad

कारोबार


पुनर्जीवनको पर्खाइमा काठमाडौंका ढुंगेधारा

कायस्थ भन्छन्- उत्पत्यकाका हिटीको एकीन तथ्यांक छैन
पुनर्जीवनको पर्खाइमा काठमाडौंका ढुंगेधारा

काठमाडौंको ताम्सीपाखामा रहेको ढुंगेधारा। तस्बिर : विजय सिंह


वसन्त अर्याल
जेठ २४, २०७९ मंगलबार ६:५१, काठमाडौँ

काठमाडौं उपत्यकामा संरक्षण अभावमा हराउँदै गएका हिटी (ढुंगेधारा) अहिले चर्चामा छन्। 

नवनिर्वाचित मेयर बालेन्द्र शाहले हिटीलाई पुनर्जीवित गर्ने घोषणासँगै बढी चर्चामा आएका छन्। 

काठमाडौंबाहेक ललितपुर र भक्तपुरले पनि हिटी संरक्षण गर्ने वाचा गरिरहेका छन्। हिटीहरुलाई पुनर्जीवित गर्ने बताए पनि उपत्यकामा कति हिटी छन् भन्ने एकीन तथ्यांक नै छैन। 

सहरमा आधुनिकतासँगै कति हिटी पुरिएका छन् त कतिमा पानी नै आउँदैनन्। काठमाडौं उपत्यकामा हिटी संरक्षण अभियानमा लागेका यादवलाल कायस्थ काठमाडौं उत्पत्यकामा कति हिटी छन् भन्ने एकीन तथ्यांक नै नभएको बताउँछन्। 

‘काठमाडौंमा कति हिटी छन्? फरक–फरक निकायसँग छुट्टै तथ्यांक छ’, कायस्थले भने, ‘कुनैमा ५७३ लेखिएको छ कुनैमा ४२९ वटा लेखेको छ।’

काठमाडौंको कोहिटीस्थित पौराणिक ढुंगेधारा जहाँ अहिले पनि पानी बगिरहेको छ।

बुद्धाचार्यको पुस्तकमा काठमाडौं उपत्यकामा ३ हजार बढी हिटी रहेको उल्लेख गरिएको उनले जानकारी दिए।  

कायस्थले अभियानमार्फत दर्जन बढी अस्तित्व नै सकिने गरी पुरिएका हिटीको संरक्षण गरेका छन्। अहिले रहेका हिटीमा कुनमा पानी आउँछ कुनमा आउँदैन एकीन तथ्यांक कसैले नराखेको उनको भनाइ छ।  

‘वर्षातको समयमा पानी आउने अधिकांश धारामा सुख्यायाममा पानी आउँदैन’, कायस्थले नेपालखबरसँग भने, ‘हामीले सधैँ पानी नै ल्याउने गरी हिटी संरक्षण अभियान चलाइरहेका छौँ।’

यता मेयर शाहले काठमाडौंलाई पोखरी इनार, ढुंगेधारा र कुवाहरुको सहर भएको बताए। 

धेरैजसो पानीका मुहान सुक्दै गएका र मानिसहरुले पाइप, ट्यांकर र जारका पानीमा धेरै निर्भर रहनुपरेकाले पानीका स्रोत संरक्षण आवश्यक रहेको उनी बताउँछन्। 

‘काठमाडौमा जहाँ खुला र खाली जमिन कम हुँदै गएको छ। सहर घरै–घरले भरिँदै गएका छन्’, उनको भनाइ छ, ‘खुला ठाउँ पनि सडक र सिमेन्टेड हुँदै छन्। वर्षायाममा जतिसुकै धेरै पानी परे पनि वरपर सिमेन्टका भुइँ भएका कारण यसरी परेका पानी मुहानले सोस्न नपाउने हुन्छ।’ 

गत वैशाख ३० को स्थानीय तह निर्वाचनअघि नै शाहले आफ्नो घोषणापत्रमा सबै ढुंगेधारा/हिटी पुनर्जागृत गराउन पुराना स्रोतहरुलाई पुनर्जीवित गराइने वाचा गरेका थिए। 

काठमाडौंमा पानीको व्यवस्थापन सरकारी कार्यालयहरुमा स–साना जमिन पुनर्भरण पोखरीहरु निर्माण, बोरिङ प्राणाली भएका सबै घरहरुमा जमिन पुनर्भरणका निम्ति रिभर्स बोरिङ गर्ने बालेन्द्रको योजना छ।

काठमाडौंको भीमसेनस्थानमा रहेको ढुंगेधारा।

हिटीमा पानी ल्याउने ३ विकल्प 
त्यसो त काठमाडौंका हिटीमा पानी ल्याउने विकल्पहरु रहेको बताउँछन् कायस्थ। 

अहिले दरबारमार्गमा १४औँ शताब्दीमा पुरिएको हिटीको पुनर्निर्माण हुँदै छ। 
त्यसमा पानी ल्याउन लागिपरिरहेको छ कायस्थको टिम। काठमाडौंका केही हिटीमा आफ्नै मूलको पानी आउँथ्यो भने केहीमा राजकुलोबाट पानी ल्याई खसाइएको थियो। 

‘हामीले संरक्षण तथा पुनर्निर्माण गरिरहेका केही हिटीमा प्राकृतिक मूलबाटै पानी ल्याउन सकिन्छ’, उनले उपाय सुझाउँदै थपे, ‘राजकुलोबाट पानी ल्याउन नसक्ने हिटीमा मेलम्ची, केयूकेएलका स्रोतहरुबाट पानी खसाउन सकिन्छ।’

उनका अनुसार हाल पुनर्निर्माण भइरहेका सबै हिटीमा पानी ल्याउन सकिन्छ। त्यसको लागि ३ विकल्प दिन्छन् उनी। 

‘प्राकृतिक स्रोतका आधारमै ढुंगेधारामा पानी ल्याउन सकिन्छ’, उनले भने, ‘पानीका मुहानमा धेरै भौतिक पूर्वाधार बनेकाले केहीमा ल्याउन सकिन्छ, केहीमा सकिँदैन।’

दोस्रोमा मेलम्ची र केयूकेलका खानेपानी वितरण प्रणालीबाट ढुंगेधारामा पानी ल्याउन सकिन्छ। उनले पहिलो र दोस्रो विकल्प पनि सम्भव नभए ऐतिहासिक हिटीलाई संरक्षण गरी उपकरण प्रयोग गरी पानी बगाइरहन सकिन्छ। 

हिटीभित्र प्लास्टिकका कालोट्यांकी 
उपत्यकाका विभिन्न हिटीभित्र ढुंगाको धारासँगै ट्यांकी राखी पानी वितरण समेत गरिन्छ। काठमाडौंको भीमसेन स्थानको हिटीमाथि कालो पानी ट्यांकी राखिएको छ। 

त्यहाँ ट्यांकरबाट पानी राखी बिक्री समेत हुने गरेको छ। एक स्थानीयका अनुसार धारोमा पानी आउँदा पनि ट्यांकीबाट पानी लैजाने गरिएको छ। 

हिटी संरक्षण अभियन्ता कायस्थले कालो ट्यांकी राखिनु हिटीको मर्मविपरीत भएको बताए।  

‘हि’को अर्थ रगत र ‘टी’को अर्थ तरल पदार्थ हुन्छ। रगतजत्तिकै तरल पदार्थ हो’, कायस्थले भने, ‘हिटी पानी आउने ढुंगाको धारो मात्रै नभई पुरातात्विक महत्व छ। कालोट्यांकीलाई लुकाएर पानी ल्याउन सकिन्छ।’

काठमाडौंको डल्लुमा रहेको ढुंगेधारा जीर्णोद्धारपछि ।

हरेक वर्ष बजेट विनियोजन तर हुँदैन खर्च 
काठमाडौं महानगरपालिकाले पोखरी र ढुंगेधारा संरक्षण गर्न हरेक वर्ष बजेट विनियोजन गर्दै आएको छ। तर खर्च प्रगति भने छैन। 

मेयर बालेन्द्र शाहले आगामी आर्थिक वर्षको लागि ढुंगेधारा संरक्षण गर्न बजेट विनियोजन गर्ने घोषणा समेत गरेका छन्। 

‘हाम्रा सांस्कृतिक तथा सामाजिक व्यवहारहरु तथा आफ्ना रैथाने ज्ञानलाई  राज्यले नै अपनत्व लिनुपर्छ भन्ने हाम्रो मान्यता छ’, शाह भन्छन्, ‘आगामी बजेटमा काठमाडौंमा रहेका सम्पूर्ण ढुंगेधारा जुन निष्क्रिय अवस्थामा छन्, पानीको मुहान सुकेको अवस्थामा छन्। तिनलाई ब्युँताउन सम्बन्धित शीर्षकमा बजेट विनियोजन गरेर उपयुक्त प्रयासहरु गर्नेछौँ।’

काठमाडौं महानगरले हिटी तथा पोखरी संरक्षणको लागि आव २०७४/०७५ मा एक करोड ९ लाख, ०७५/०७६ मा १ करोड, ०७६/०७७ मा एक करोड २५ लाख, ०७७/७८मा २ करोड ४० लाख र चालू आर्थिक वर्षमा ५ करोड ८८ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो।

टेकुमा रहेको ढुंगेधारा जीर्णोद्धारको क्रममा।

२०७८ सालको बजेटमा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले काठमाडौंका ढुंगेधारा संरक्षण गर्न बजेट विनियोजन गरेका थिए। २० वटा खानेपानीको स्रोत तथा ढुंगेधारा संरक्षण गर्ने घोषणामै सीमित भएको छ। 

काठमाडौंका ढुंगेधाराका थप तस्बिर हेर्नुहोस्- 

भीमसेनस्थाननजिकै परोपकार स्कुलअगाडि संरक्षणको पर्खाइमा रहेको ढुंगेधारा।

काठमाडौं वडा नं. १८ मा रहेको कय्ताहिटी।

ताम्सीपाखामा रहेको ढुंगेधारा।

काठमाडौंको मातातीर्थमा रहेको ढुंगेधारा।

काठमाडौंको वडा नं. १५ मा रहेको ढुंगेधारा जीर्णोद्धारपछि।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .