कारोबार


कलेज छोडेर व्यवसाय रोजेका अदानीः बफेटलाई उछिन्दै बने विश्वको पाँचौँ धनी

कलेज छोडेर व्यवसाय रोजेका अदानीः बफेटलाई उछिन्दै बने विश्वको पाँचौँ धनी

गौतम अदानी।


नेपालखबर
बैशाख २४, २०७९ शनिबार १६:५७, काठमाडौँ

गौतम अदानी अविश्वसनीय रुपमा उदाइरहेका छन्। भारतीय पूर्वाधार धनाढ्य केही महिनाअघि मात्रै इतिहासमै पहिलोपटक एसियाकै धनी बनेका थिए। र, उनको उदय अझै जारी छ। 

अदानीले अहिले विश्वको पाँचौँ सर्वाधिक धनी बन्नेक्रममा चर्चित लगानीकर्ता वारेन बफेटलाई नै पछि छोडिदिएका छन्। 

अदानी अदानी ग्रुपका संस्थापक प्रमुख रहेका छन्। यो ग्रुपको भारतमा एउटा बन्दरगाह र छवटा सार्वजनिक कम्पनीहरु छन्, जसलाई उनी हाँकिरहेका छन्। 

यो वर्ष उनका कम्पनीहरुको सेयर १९ प्रतिशतदेखि १९५ प्रतिशतसम्मले बढेको छ। अदानीले नवीकरणीय ऊर्जा, मिडिया, विमानस्थल र अन्य धेरैको तीव्र विस्तार गरेका छन्। 

अप्रिलको सुरुतिर यूएईका राजकुमारका भाइले चलाएको आबुधाबीको इन्टरनेशनल होल्डिङ कम्पनीले अदानीको हरित ऊर्जाकेन्द्रित तीन कम्पनीमा दुई अर्ब अमेरिकी डलर लगानी गरेको थियो। 

उनी भन्ने गर्छन्, ‘म विश्वको ठूलो हरित ऊर्जा उत्पादक बन्न चाहन्छु।’ नवीकरणीय ऊर्जा परियोजनाहरुमा ७० अर्ब डलरसम्म लगानी गर्ने उनको लक्ष्य छ। 

कपडा व्यापारीका छोरा 
अदानी एक कपडा व्यापारीका छोरा हुन्। उनले सन् १९८८ मा कलेज पढ्न छोडेर वस्तु निर्यात व्यवसाय थालेका थिए। सन् २००८ सम्ममा अर्बपति बन्दै फोर्ब्सको अर्बपति वरीयतामा पहिलोपटक समावेश भए। जतिबेला उनको सम्पत्ति नौ अर्ब ३० करोड अमेरिकी डलर थियो। 

उनको सम्पत्ति ह्वात्तै बढ्ने क्रम भने त्यतिबेला सुरु भयो जहिलेदेखि कोरोना महामारी सुरु भएको थियो। त्यतिखेर उनले व्यवसाय विस्तारलाई जोड दिए। सन् २०२० मा उनले मुम्बई इन्टरनेशनल एयरपोर्टको ७४ प्रतिशत सेयर खरिद गरे। यो विमानस्थल भारतको दोस्रो व्यस्त विमानस्थल हो। त्यही बेला उनले भारतमा जापानी सफ्टब्यान्कको नवीकरणीय ऊर्जा युनिट साढे ३ अर्ब डलरमा किने। 

त्यसपछि गत अप्रिलमा मात्रै उनले भारतको ठूलो जलसेवा कम्पनी ओसन स्पार्कल २२ करोड डलरमा किन्ने सम्झौता गरे। 

२ वर्षअघि ८ अर्बका मात्रै मालिक थिए, अहिले भारतकै धनी  
दुई वर्षअघि मात्र उनको सम्पत्ति आठ अर्ब ९० करोड करोड थियो। तर सन् २०२१ मार्चमा आइपुग्दा उनको अनुमानित सम्पत्ति साढे ५० अर्ब डलर भइसकेको थियो।

सेयर मूल्य आकाशिँदा अदानीले भरपूर फाइदा उठाए। गत मार्चमा त्यो अझै दोब्बर हुनपुग्यो। परिणामतः उनी ९० अर्ब डलरका मालिक भए। अदानी ग्रुपको सेयर वृद्धि अझै रोकिएन। 

अदानीको १ सय २४ अर्ब डलर बढी सम्पत्तिले उनलाई भारतकै सर्वाधिक धनी बनाएको छ। लामो समय भारतको उच्च धनाढ्यको पदमा रहेका मुकेश अम्बानीलाई उनले पछि पारेका छन्।

फोर्ब्सको शुक्रबारको अनुमानित सम्पत्ति तथ्यांक हेर्ने हो भने उनले अम्बानीलाई २५ अर्ब डलरले पछि पारेका छन्। अम्बानीको सम्पत्ति शुक्रबारसम्म ९९ अर्ब २० करोड डलर रहेको छ। 

अदानी र बफेटको शुक्रबारको अनुमानित सम्पत्ति। स्रोत : फोर्ब्स

बफेटलाई पनि उछिने 
फोर्ब्सको अनुमानमा शुक्रबारसम्म अदानी १ खर्ब २४ अर्ब ७० करोड डलर सम्पत्तिका मालिक छन्। यता सोही दिनसम्म वारेन बफेटको सम्पत्ति भने १ खर्ब १५ अर्ब ९० करोड डलर छ। अदानी ५९ वर्षका र बफेट ९१ वर्षका व्यक्ति हुन। 

शुक्रबार अदानीको सम्पत्ति ३.६ अर्ब डलरले बढेको थियो। सोही दिन बफेटको भने ३.१ अर्ब डलरले घटेको थियो। यसले बफेटलाई छैटौँ स्थानमा धकेल्दै अदानी विश्वकै पाँचौँ स्थानमा आफूलाई राख्न सफल भएका छन्। बफेट बर्कशाइर हाथावेका मालिक हुन्। 

उनीभन्दा ४ जनामात्रै धनी 
अदानीको उदयले निरन्तरता पाउँदा विश्वमा उनीभन्दा केवल चार जना मात्रै धेरै सम्पत्ति भएका व्यक्तिहरु छन्।

तिनमा अमेरिकी अर्बपति इलोन मस्क (२४६ अर्ब ७० करोड डलर), फ्रान्सका बर्नार्ड आर्नो र फेमिली (१४४ अर्ब ५० करोड डलर), अमेरिकाका जेफ बेजोस (१४२ अर्ब २० करोड डलर), अमेरिकाकै बिल गेट्स (१२९ अर्ब १० करोड डलर) रहेका छन्। फोर्ब्सबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .