कारोबार


नेपालगन्ज–दिल्ली सिधा हवाई उडानको पहल गर्न अर्थमन्त्रीसँग व्यवसायीको माग

नेपालगन्ज–दिल्ली सिधा हवाई उडानको पहल गर्न अर्थमन्त्रीसँग व्यवसायीको माग

नेपालखबर
मंसिर २२, २०८२ सोमबार ५:३६, नेपालगन्ज

निजी क्षेत्रले नेपालगन्ज–दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण गराएको छ। 

सो उडान सन्दर्भमा आइतबार नेपालगन्जमा अर्थमन्त्री रामेश्वर खनालमार्फत प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापन पत्र बुझाउँदै उद्योग वाणिज्य सङ्घ नेपालगन्जका अध्यक्ष टङ्क धामीले विगत एक दशकदेखि नेपालगन्ज–दिल्ली हवाई उडानका लागि निरन्तर प्रयास गर्दै आएको बताए। 

उनले सिधा हवाई सम्पर्कले यस क्षेत्रको व्यापार उद्योग, पर्यटनलगायतका क्षेत्र चलायमान हुने भएकाले उडानका लागि पूर्वाधार निर्माणसमेत भएको जानकारी दिए। यसमा सरकारका तर्फबाट नीतिगत र कार्यान्वयनका कदम चाल्नु पर्ने आग्रह उनले गरे। 

अर्थमन्त्री खनालले अहिलेको सरकार विशेष परिस्थितिमा निर्माण भएकाले चाहना हुँदाहुँदै काम गर्न नसकिने स्पष्ट पारे। 

आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनपछि नयाँ सरकार निर्माण हुने उल्लेख गर्दै उनले यो सरकार अब तीन महिनाको लागि मात्रै भएको बताए। 

‘राजनीतिक स्थितिलाई बिगार्ने र निर्वाचनका कामलाई प्रभावित गर्ने काम हामीबाट हुँदैन’, उनले भने । नेपाल उद्योग वाणिज्य सङ्घका केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरीले वस्तुको भन्सार दर घटाउन सरकारलाई आग्रह गर्दै तस्करीका कारण नेपाली व्यवसायी मर्कामा परेको बताए।

सङ्घका अध्यक्ष धामीले रुपैडिहाबाट सामान ल्याउँदा ठुलो परिमाणमा भन्सार चुहावट भएको उल्लेख गर्दै त्यसरी हुने चुहावट रोक्न आवश्यक भएको धारणा राखे। सङ्घले विभिन्न विषय समेटेको २१ बुँदे ज्ञापन पत्र बुझाएको थियो। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad