कारोबार


पाल्पामा सयपत्री फूलको माग उच्च

व्यावसायिक फूल खेती गरेका किसानलाई २ देखि ३ लाखसम्म आम्दानी
पाल्पामा सयपत्री फूलको माग उच्च

नेपालखबर
कात्तिक १३, २०८१ मंगलबार ९:४७, पाल्पा

ढकमक्क फुल्दै गरेको सयपत्री फूलले यतिबेला ग्राहक तथा व्यवसायीको मन तानिरहेको छ। तिहार नजिकिँदै गर्दा व्यवसायीलाई फूलको माग आइरहेको छ। 

वैदेशिक रोजगारीबाट फर्केर पुष्प व्यवसायमा लागेका पाल्पा रामपुर नगरपालिकाका युवा दिलबहादुर थापा र लालबहादुर थापा बारीभरि फूल देख्दा खुसी छन्। बारीमा फूलको रेखदेख गर्ने, ग्राहकको विवरण सङ्कलन गर्न उनको व्यस्तता बढ्न थालेको छ।

यस व्यवसायबाट वार्षिक रु दुईदेखि तीन लाखसम्म आम्दानी गर्दै आएको उनी बताउछन्। करिब चार रोपनी क्षेत्रफलमा फूलखेती गरिहरेका छन्। तिहार पर्वलाई लक्षित गरी लगाइएको फूलले राम्रो आम्दानी दिएको उनी बताउछन् । यसपटकको तिहारमा रु दुई लाखदेखि दुई लाख ५० हजारसम्म आम्दानी हुने उनको अनुमान छ।

‘तिहारमा सधैँ फूलको अभाव हुने भएपछि व्यावसायिक रूपमा खेती सुरु गरेको हो, सुरुमा फूल व्यवसाय गर्दा छिमेकी, आफन्त यस व्यवसायले बजार लिन्छ भनेर पत्याएका थिएनन्’, उनले भने, ‘चुनौतीका बाबजुद पनि व्यवसाय सुरु गरियो, पहिलो वर्षमा नै नसोचेको आम्दानी भएपछि व्यवसायलाई निरन्तर रूपमा अगाडि बढाइएको छ।’

यहाँ उत्पादन भएको फूल प्रतिकिलो रु पाँच सय खुद्रा, होलसेल रु चार सय, प्रतिमाला रु एक सय ५० खुद्रा, होलसेल रु एक सय २० कायम गरिएको छ। बुटवल, नेपालगञ्ज, तानसेनलगायत विभिन्न बजारबाट फूल मालाको माग धेरै आएको लालबहादुर थापा बताउँछन्। रामपुरमा फूल मालाको अभाव हुन नदिन स्थानीय ग्राहकलाई नै प्राथमिकतामा राखेर बिक्री गर्दै आएको लालबहादुरले जानकारी दिए। 

‘तिहार सुरु नहुँदैदेखि नै फूल मालाको माग धेरै आएको छ, हामीले बाहिर बजारमा पठाउँदैनौँ, स्थानीय ग्राहक तथा व्यापारीलाई नै बिक्री गर्ने गरेका छौँ, स्थानीय ग्राहकलाई पुर्‍याउन हामीलाई हम्मेहम्मे पर्ने गरेको छ’, उनले भने। 

उनीहरूले विगत पाँचरछ वर्षदेखि निरन्तर रूपमा व्यवसाय गरिरहेका छन्। यहाँ कर्मा ५५५ जातको सयपत्री फूल लगाइएको छ । यस जातबाट उत्पादन राम्रो हुने भएपछि कर्मा ५५५ लाई रोजाइमा पारेका छन्। 

दिलबहादुर र लालबहादुरले जग्गा भाडामा लिएर फूलखेतीसँगै तरकारी खेती पनि गरिरहेका छन् । तरकारीको तुलनामा फूलबाट छोटो समयमा दोब्बर बढी आम्दानी लिन सकिने, मेहनत र लगानी धेरै नपर्ने व्यवसायीको अनुभव छ।

रामपुर नगरपालिकाले प्लास्टिकजन्य माला बिक्री तथा प्रयोगमा रोक लगाएपछि व्यवसायीलाई हौसला मिलेको छ । यस वर्षको तिहारलाई लक्षित गर्दै नगरपालिकाले अग्रिम सूचना जारी गरी प्लाष्टिकजन्य फूलमाला बिक्री वितरण नगर्न सम्बद्ध व्यवसायीमाझ अनुरोध गरेको छ । नगरपालिकाले प्लाष्टिकजन्य फूलमाला बिक्रीमा प्रतिबन्ध लगाएपछि यस वर्ष सयपत्री फूल मालाको माग रामपुर बजारमा बढेको छ।

रामपुरका दिलबहादुर र लालबहादुरले थालनी गरेको पुष्प व्यवसाय देखेर पछिल्लो समय घर तथा विद्यालय, विभिन्न संघसंस्थामा फूल लगाउन थालिएको छ । यहाँबाट बिरुवा खरिद गरेर लगाउने कार्य भइरहेको छ । यतिबेला ढकमक्क फुलेको फूलमा रमाउँदै तस्बिर खिच्ने, भिडियो बनाउने, टिकटक बनाउने, अवलोकन गर्न जाने, फूलखेतीबारे जानकारी लिन जानेको चहलपहल छ।

रामपुर नगरपालिकाले यहाँ थालनी गरिएको व्यवसायमा हौसला प्रदान गर्न सहयोग गर्दै आएको छ । नगरपालिकाको सहयोगमा एकहप्ते पुष्प व्यवसाय तालिम लिएर व्यवसाय थालनी गरिएको व्यवसायीले बताएका छन्। 

यहाँ तिहारमा मात्र नभई अन्य समय पनि सयपत्री फूलखेती हुने गरेको छ। नगरपालिकाभित्र हुने विभिन्न संघसंस्थाको सभासमारोह, कार्यक्रम, विवाह, व्रतबन्ध, शुभ कार्यलगायतमा राम्रो खपत हुने गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad