कारोबार


कोसी, बागमती र लुम्बिनीका तीन लघुवित्तबीच मर्जर सम्झौता

कोसी, बागमती र लुम्बिनीका तीन लघुवित्तबीच मर्जर सम्झौता

नेपालखबर
चैत ३०, २०८२ सोमबार १४:३९, विराटनगर

नेपालको लघुवित्त क्षेत्रमा मर्जर प्रक्रिया अघि बढेको छ। मोरङको कटहरीमा केन्द्रीय कार्यालय रहेको जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, बाँकेको कोहलपुरमा केन्द्रीय कार्यालय रहेको युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र काभ्रेपलाञ्चोकको बनेपामा केन्द्रीय कार्यालय रहेको मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडबीच मर्जर सम्झौता भएको छ।

मर्जरसम्बन्धी समझदारी पत्रमा जीवन विकासका अध्यक्ष विक्रमराज सुवेदी, युनिक नेपालका अध्यक्ष शिवबहादुर चौधरी र मानुषी लघुवित्तकी सञ्चालक वीणा श्रेष्ठले हस्ताक्षर गरेका छन्। तीन संस्थाबीच भएको सम्झौता नेपालको लघुवित्तको क्षेत्रमा भएको हालसम्मको ठूलो मर्जरको सम्झौता भएको जानकारहरूले बताएका छन्। 

लघुवित्तको पुँजीगत आधार सुदृढ बनाउँदै आधुनिक प्रविधिमैत्री वित्तीय सेवा प्रवाह गर्ने र वित्तीय क्षेत्रप्रति सर्वसाधारणको विश्वास अभिवृद्धि गर्ने उद्देश्यका साथ तीन संस्थाबीच मर्जर सम्झौता भएको जीवन विकास लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सञ्जयकुमार मण्डलले जानकारी दिए। मर्जरपछि संस्थाको नाम ‘जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड’ रहनेछ। संस्थाको केन्द्रीय कार्यालय जीवन विकास लघुवित्तको केन्द्रीय कार्यालय मोरङको कटहरी गाउँपालिका–२ मा रहनेछ।

युनिक नेपाल र मानुषी लघुवित्तको केन्द्रीय कार्यालयलाई प्रादेशिक कार्यालयको रूपमा रूपान्तरण गरिने समझदारी पत्रमा उल्लेख छ। संस्थाको प्रमुख कार्यकारी अधिकृत जीवन विकास लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सञ्जयकुमार मण्डल रहनेछन्। मर्जरपछि तीन वटै संस्थाका कर्मचारी समायोजन गर्ने सहमति भएको छ।

हाल जीवन विकासको चुक्ता पुँजी एक अर्ब ७५ करोड १२ लाख ३२ हजार, युनिक नेपालको १४ करोड ८५ लाख ७५ हजार र मानुषी लघुवित्तको १० करोड ९३ लाख ७५ हजार रुपैयाँ छ।

जीवन विकासले १६० शाखा कार्यालय मार्फत कोसी, मधेस र बागमती प्रदेशका ३१ जिल्लाका तीन लाख १५ हजारभन्दा बढी सदस्यलाई लघुवित्त सेवा प्रदान गरिरहेको छ। युनिक नेपालले १० जिल्लामा ८० हजारभन्दा बढी र मानुषीले १४ जिल्लामा ३४ हजार सात सयभन्दा बढीलाई वित्तीय सेवा प्रवाह गरिरहेका छन्। 

मर्जर प्रक्रियालाई अगाडि बढाउन ६ सदस्यीय संयुक्त मर्जर समिति गठन गरिएको छ। मर्जर समितिको संयोजकमा जीवन विकास लघुवित्तका सञ्चालक प्रकाशकुमार श्रेष्ठ चयन भएका छन्। सदस्यहरूमा अशोक सिटौला, पुरनप्रसाद चौधरी, सन्तराम थारू, नवीना ढाख्वा शाक्य र ताराकुमार रिजाल सदस्य छन्। 

समितिको सदस्य सचिवमा जीवन विकास लघुवित्त वित्तीय संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत दामोदर रेग्मी छन्। मर्जर प्रक्रिया २०८३ असार मसान्तभित्रै सम्पन्न गरी एकीकृत कारोबार सुरु गर्ने तयारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad