कोसी प्रदेश सरकारले आयोजना गरेको पर्यटन वर्ष-२०८२ को उद्घाटन कार्यक्रम सम्पन्न भएको तीन महिना बितिसक्दा पनि तेह्रथुमको वसन्तपुरका होटल व्यवसायीले सरकारबाट सेवा बापतको रकम नपाएको गुनासो गरेका छन्।
उद्घाटन समारोहको बेलामा विभिन्न अतिथिलाई बास, भोजन र अन्य आतिथ्य सुविधा प्रदान गरेका होटल व्यवसायीले आर्थिक वर्ष सकिएर साउन पहिलाे साता बित्न लाग्दा पनि सरकारले भुक्तानी नगरेको भन्दै आक्रोश पोखेका छन्।
गत चैत २७ गते प्रदेश सरकारले तामझामसहित आयोजना गरेको पर्यटन वर्षको कार्यक्रममा भएको खर्चको भुक्तानी सरकारले अझै नदिँदा व्यसायीको मन दुखेको छ। यसलाई उनीहरूले सरकारको काम गर्ने शैलीमाथि नै प्रश्न उठेको बताएका छन्।
वसन्तुस्थित याक होटलका सञ्चालक पेम्बा छिरिङ भुटियाले पर्यटन वर्षको उद्घाटनको बेलामा गरिएको सेवा बापतको रकम अहिलेसम्म भुक्तानी नपाएको गुनासो गरे। ‘अहिलेसम्म एक रुपैयाँ पनि पाएका छैनौँ’, भुटियाले भने ।
भुक्तानी नपाउनुको कारण बारेमा अहिलेसम्म सरकारले कुनै जवाफ नदिएको गुनासो पनि उनले गरे। ‘दिन्छु भन्छन्, तर अहिलेसम्म खातामा पैसा आएको छैन,’ उनले भने, ‘सरकारको कार्यक्रम हो भनेर सहयोग गरेका थियौँ, अहिले आफैँ फसियो।’
पर्यटन वर्षको उद्घाटन कार्यक्रममा मन्त्री, सचिव, कर्मचारी, पिए, सुरक्षा टोली, पत्रकारदेखि मुख्यमन्त्रीका निजी सचिवालयका नाममा होटल बुक गरिएको थियो।
उक्त कार्यक्रमका लागि सहसंयोजक कृष्ण शाह, सदस्य रविन गौतम र मन्त्रालयका सचिव विशाल घिमिरे लगायतका अधिकारीहरूले होटल बुकिङ गराएका थिए। तर, कार्यक्रम सकिएको दुई महिना बितिसक्दा पनि व्यवसायीहरूले रकम नपाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
कतिपय होटल व्यवसायीले सरकारले भने अनुसारको सेवा सुविधा दिए बापत एक रुपैयाँ पनि पाएका छैनन् भनेँ कतिपय होटल व्यवसायीले थोरै रकम मात्रै पाएका छन्।
नुनथला रिसोर्टका सञ्चालक लोकेन्द्र कार्कीले आफ्नो ३२ हजार अझै पनि रोकिएको बताए। पटक पटक ताकेता गर्दा पनि बाँकी रकम पाउन नसकेको उनको भनाई छ। ‘निक्कै मेहनतपछि आधा रकम आयो, तर ३२ हजार अझै रोकिएको छ,’ उनले भने।
वसन्तपुर भ्यु होटलका सञ्चालक एवम् तेह्रथुम होटल व्यवसायी सङ्घका अध्यक्ष प्रकाश श्रेष्ठले सरकारको कार्यक्रम हाम्रो गाउँमा भयो भनेर सस्तोमा सेवा दिएका व्यवसायी आर्थिक वर्षको अन्त्यसम्म कुर्दा पनि रकम भुक्तानी नहुँदा आन्दोलनको तयारीमा लागेको बताए।
अध्यक्ष श्रेष्ठले भने, ‘सरकारलाई निःशुल्क जस्तै सेवा गरेका थियौँ, तर अब त त्यही पैसा नै नपाउने अवस्था आएपछि हामी व्यवसायीलाई रुनु न हाँस्नु भएको छ।’
उनका अनुसार, वैशाख २५ देखि २७ गतेसम्म बास, खाना र आतिथ्यको सेवा होटल व्यवसायीले दिएका थिए। आर्थिक वर्षको अन्त्यमा केही होटल व्यवसायीले आएर सचिव विशाल घिमिरेलाई भेटेका थिए।
घिमिरेले असार २५ गतेसम्म रकम पठाइसक्ने बताए पनि पछि फेरी बजेट नभएको कारण करम भुक्तानी गर्न नसकिएको भनेर लाचार जवाफ दिएको होटल व्यवसायीको भनाइ छ। एक होटल व्यवसायीले भने, ‘ सचिव ज्यूले पछि पैसा छैन भन्नुभयो, हामी त छक्कै प¥यौँ।’
व्यवसायीहरूले अब यस्ता कार्यक्रममा अनावश्यक ‘सहयोग’ गर्न नसकिने समेत चेतावनी दिएका छन्। नेपालखबरले प्राप्त गरेको विवरण अनुसार, धेरै होटलहरु मध्ये अहिले न्यूनतम ८ हजार देखि अधिकतम १ लाख १८ हजारसम्म होटलहरुले रकम भुक्तानी पाएका छैनन्।
बास बस्न मिल्ने खालका करिब १५ वटा जति होटल वसन्तपुरमा बजारमा रहेका छन्। ती होटलमा सरकारले निम्ता गरेका पाहुना र सरकारका प्रतिनिधिलाई बस्ने व्यवस्था मिलाएको थियो।
होटल व्यवसायी भन्छन्, ‘पहिला देखि नै चिनजान भएका व्यक्तिहरूले नै आएर होटल हेरेर राख्नु भएको रहेछ, सबैलाई त्यसरी नै भनियो, तर अहिले आएर हामी सबैलाई धोका भयो।’
सरकारले गरेको भव्य कार्यक्रममासमेत होटल व्यवसायी सङ्घसँग समन्वय गरिएको थिएन। दीक्षा होटल, वसन्तपुर भ्यु होटल, हिमालय होटल, नुनथला रिसोर्ट, याक होटल, होटल अन्नपूर्ण लगायतका आधा दर्जन जति होटलहरुले भुक्तानी नपाएको बताएका हुन्।
एक होटल व्यवसायीले भने, ‘कार्यक्रम सकिने बित्तिकै खाली–खाली बिल लिएर गए, अहिले पाउनु पर्ने रकम समेत दिएनन्।’ व्यवसायीका अनुसार, होटलमा बास बसाएको र खाएको भनेर सबै होटलबाट खाली विल लगिएको थियो।
‘त्यसरी खाली बिल लग्नेमा मन्त्रालयका सहायक अधिकृत सुधीर ढकाल मात्रै थिएनन्’ एक होटल व्यवसायीले भने, ‘सचिवले समेत खाली बिल नै मागेर लिएर गएका थिए।’
वसन्तपुरमा पर्यटन वर्षको घोषणा कार्यक्रमको जिम्मेवारी बाँडफाँडको हिसाबमा मन्त्रालयका कर्मचारीलाई नै यसबारेमा केही थाहा नभएको बताएका छन्।
‘कसले होटल बुक गर्यो, कसले डकुमेन्ट तयार पार्यो र कसले बिलहरू काटेर ल्यायो भन्ने नै स्पष्ट छैन,’ एक कर्मचारीले भने, ‘त्यहाँ जाँदा हामी त पाहुना मात्र थियौँ, व्यवस्थापन जिम्मेवारी कसको थियो थाहा भएन।’
कार्यक्रममा सचिव र सचिवका नजिकका विश्वास पात्रहरूको प्रभावशाली भूमिका रहेको र होटल बुकिङ, जिन्सी व्यवस्थापनदेखि भुक्तानीका प्रक्रिया उनीहरूमै केन्द्रित रहेको एक व्यसायीले बताए।
कतिपय अवस्थामा डकुमेन्ट अधुरो, हाजिरी अभाव र खाली बिलहरू पेस गरिएको थियो त्यसलाई पछि मात्रै मिलाइएको थियो।
पर्यटन वर्ष २०८२ आयोजक समितिका सह संयोजकहरू नै यस विषयमा अनभिज्ञ छन् ।
आयोजक समितिको सह संयोजक भविश श्रेष्ठ र कृष्ण साह जिम्मेवारीमा भए पनि उनीहरूको भूमिका समेत कमजोर देखिएको छ। अहिले यी दुवै सह संयोजक निष्क्रिय जस्तै देखिएका छन्।
पर्यटन वर्षको उद्घाटनपछि निर्देशक समितिको बैठक समेत बस्न सकेको छैन। पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव घिमिरेले होटल व्यवसायीका केही भुक्तानी भएको र केही बाँकी देखिएकोले त्यो चाँडै भुक्तानी हुने दाबी गरे।
सचिव घिमिरेका अनुसार, वसन्तपुरका केही होटलहरूलाई अझै भुक्तानी दिन बाँकी रहेको छ। ‘ठुला भुक्तानीहरू त भइसके तर साना होटलहरूको रकम बाँकी छ,’ घिमिरेले भने, ‘हाजिरी र खाना खानेको सङ्ख्या मिलान नहुनुले थप समस्या सिर्जना भएको हो।’
कार्यक्रम अवधिमा कुपन प्रणाली लागू गर्न नसक्नु र सहभागिताको स्पष्ट व्यवस्थापन नहुनुले खर्चको पारदर्शितामा प्रश्न उठेको छ। कर्मचारी व्यवस्थापनमा पनि गम्भीर कमजोरी देखिएको उनले स्वीकार गरे ।
Shares

प्रतिक्रिया