कोसी प्रदेशमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले यातायात सुधारका लागि विद्युतीय सवारी चालक अनुमति पत्र (ईडीएल) प्रणालीमा अनलाइन भुक्तानी सुरु भएको छ।
इटहरीस्थित यातायात व्यवस्था सेवा कार्यालय सुनसरीबाट सोमबारदेखि यो प्रणालीको औपचारिक सुरुवात गरिएको हो।
यस प्रणालीमार्फत सेवाग्राहीले ड्राइभिङ लाइसेन्सको शुल्क तिर्न अब लाइनमा बस्नु नपर्ने र आफ्नै मोबाइल वा कम्प्युटरबाट सजिलै घरमै बसी तिर्न सकिने गरी सेवा सञ्चालनमा ल्याइएको हो। सेवाको आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले उद्घाटन गरे।
मन्त्री भण्डारीले नागरिकलाई सहजताको लागि सेवा सुरु गरिएको बताए। लाइसेन्सको आवेदन दिँदा, नवीकरण गर्दा र लाइसेन्ससम्बन्धी कुनै पनि शुल्क तिर्दा लाइन बस्नु पर्ने झन्झट हटेको मन्त्री भण्डारीले बताए।
मन्त्रालयले यातायात क्षेत्र सुधारको लागि लाइसेन्स नवीकरण गर्दा सूचिकृत भएका चिकित्सकसँग जाँच गर्ने गरी अनिवार्य सूचीकृत गराउने व्यवस्था गरेपछि नागरिकलाई सहज भएको कोसी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका यातायात शाखा प्रमुख नारायण भण्डारीले बताए।
उनका अनुसार,'परीक्षणपछि चिकित्सकले सोही साँझ अनलाइन अपडेट गर्ने र भोलिपल्ट भुक्तानी गरेर अनलाइनबाटै बिल लिन सकिने छ।'
कोसी प्रदेश सरकारले आगामी साउनबाट प्रदेशमै लाइसेन्स छपाइ सुरु गर्ने भएपछि लाइसेन्स लिन मात्रै कार्यालय पुग्नु पर्ने जनाएको छ। यो सेवा प्रदेशका सबै यातायात कार्यालयहरूमा सुरु भएको छ।
Shares

प्रतिक्रिया