कारोबार


नेपाल बैंकले नाफामा एक वर्षमै कसरी मार्‍यो २ हजार प्रतिशतको छलाङ?

नेपाल बैंकले नाफामा एक वर्षमै कसरी मार्‍यो २ हजार प्रतिशतको छलाङ?

नेपालखबर
बैशाख ८, २०८२ सोमबार १७:९, काठमाडौँ

आम्दानी खुम्चिएर नाफामा दबाब झेलिरहेका वाणिज्य बैंकहरु पछिल्लो समय कर्जा असुलीको मारमा छन्। कर्जा नउठ्दा खराब कर्जाको दर बढिरहेको छ।

त्यसमाथि कर्जा प्रवाह समेत नहुँदा बैंकहरुको मुख्य आम्दानी स्रोत नै खुम्चिँदै गएको छ।

बैंकहरु स्वयं दयनीय अवस्थामा पुगेको बताइरहँदा कुनै बेला डुब्नै लागेको सरकारी बैंक भने वर्ष दिनमै २ हजार प्रतिशतले नाफा बढाउन सफल भएको छ। 

गत वर्षसम्म करोडमा सीमित नेपाल बैंकको नाफा वर्ष दिनमै अर्बमाथि पुगेको हो।

बैंकले सार्वजनिक गरेको चैत मसान्तसम्मको वित्तीय विवरणअनुसार बैंकको खुद नाफा २ अर्ब ७६ करोड रुपैयाँ छ। 

अहिले २० वाणिज्य बैंकहरुमध्ये नबिल बैंकले ५ अर्बसम्म कमाएर शीर्ष स्थानमा छ। यस्तोमा नेपाल बैंक नाफामा सधैँ पुछारमै रहँदै आएको थियो। 

गत आवको चैत मसान्तसम्म पनि बैंकले जम्माजम्मी १३ करोडको नाफा गरेको बैंकको सो अवधिको वित्तीय विवरणमै उल्लेख छ। 

गत आर्थिक वर्षको चैतसम्म नाफा गर्न नसकेको बैंकले चालू आवको चैतमा भन झण्डै ३ अर्ब नाफा गरेको छ।

असुल हुन नसकेर थन्किएका ऋणको प्रोभिजनिङबापत जम्मा गरेको रकमको कारण तेस्रो त्रैमासिक सकिँदै गर्दा बैंकले गरेको नाफा बढेको हो। 

धितो अवमूल्यन भएर वा कर्जा असुली नहुँदा बैंकहरुमा हानि नहोस् भनेर राष्ट्र बैंकले त्यस्ता ऋणको पहिचान गरेर बैंक स्वयंले असुली हुन नसक्ने ऋणबापतको रकम आफैँ व्यवस्था गर्न लगाउँछ। यसलाई बैंकिङ भाषामा ‘इम्पेयरमेन्ट चार्ज’ भनिन्छ। 

बैंकले ऋण असुल गर्न नसक्ने देखेपछि ऋणको धितो मूल्यांकन गरेर धितोबाट पनि असुल्न नसकेको खण्डमा बाँकी रहेको ऋणबराबरको रकम आफ्नो नाफाबाट झिकेर ‘इम्पेयरमेन्ट चार्ज’ शीर्षकमा राख्ने गर्छ। 

यसरी छुट्याएको रकमबापतको ऋण पछि फिर्ता हुन थाल्छ वा अवमूल्यन भएको धितोको मूल्य बढेर ऋण असुली हुन्छ। यस्तो अवस्थामा यो शीर्षकमा छुट्याइएको रकम बैंकहरुले फिर्ता ल्याएर आम्दानीमा जोड्छन्। यसलाई बैंकिङ भाषामा ‘राइट ब्याक’ भनिन्छ। 

यसरी ‘राइट ब्याक’ गरिएको रकम आम्दानीमा फर्किँदा यसले बैंकको नाफा बढाउँछ। 

गत वर्षको चैतसम्म बैंकले ३ अर्ब ६६ करोड रुपैयाँ यस्तो शीर्षकमा राखेको थियो भने चालू आवको चैतमा आइपुग्दा बैंकले उक्त शीर्षकमा राखेको ३ अर्ब ३७ करोड रुपैयाँ झिकेर २८ करोडमा रुपैयाँ मात्रै नोक्सानी व्यवस्थापन गरेको हो।

यसरी बैंकले इम्पेयरमेन्ट चार्ज शीर्षकमा रहेको ३ अर्ब ३७ करोड रुपैयाँलाई चालू आवको चैत मसान्तसम्मको आम्दानी मानेर गणना गर्दा त्यसको प्रभाव बैंकको नाफामा देखिएको हो। फलतः बैंकको नाफा गत चैतको तुलनामा चालू आवको चैतमा २०२३ प्रतिशतले बढ्न पुग्यो।

योबाहेक बैंकले ब्याज आम्दानीबापत ७ अर्ब १० करोडको आम्दानी गरेको छ। जुन गत वर्षको चैतको तुलनामा ४.५ प्रतिशतले कम हो।

यद्यपि यसले नाफा बढाउन भने मद्दत गरेको छ। 

यसरी इम्पेरिमेन्टल चार्ज शीर्षकमा रहेको रकम घट्नु बैंकको वित्तीय अवस्था सुधारोन्मुख रहेको मान्न सकिन्छ। यसले बैंकको पुँजी र वित्तीय विवरणलाई बलियो बनाउँछ। यद्यपि कर्जा असुलीमा मार खेपिरहेकै समयमा केही बैंकहरुले भने कर्जामा ‘इभरग्रिनिङ’ समेत गरेर यस्ता उठ्न नसकेका कर्जालाई सक्रिय कर्जामा राख्न थालेका छन्। 

यसले समेत बैंकहरुको इम्पेरिमेन्ट चार्जमा कमी आएको हुनसक्ने जानकार बताउँछन्। 

खराब कर्जामा छैन सुधार
बैंकले ‘राइट ब्याक’ गरेर आम्दानी बढाए पनि बैंकको खराब कर्जा भने गत वर्षको तुलनामा बढेको छ। गत वर्ष चैतमा बैंकको खराब कर्जा ४.८५ प्रतिशत थियो भने चालू आवको चैतमा बैंकको यस्तो कर्जा रेसियो ५.४५ प्रतिशतमा उक्लिएको छ। 

यसको अर्थ बैंकले ऋण असुल गर्न नसकेर गत वर्ष आफैँले कर्जा नोक्सानी व्यवस्थापन गरेका ऋण फिर्ता आए पनि बैंकले अन्य ऋणहरुमा पनि समस्या खेप्नथालेको छ। जसले खराब वर्गमा गणना हुने ऋण थपिँदै जाँदा गत वर्षको कर्जा असुलीमा देखिएको सुधार समग्र बैंकको खराब कर्जाको रेसियोमा नदेखिएको हो। जसले गर्दा एनपीएल भने गत वर्षको तुलनामा बढ्न पुगेको छ ।

खराब कर्जासँगै यो चैत मसान्तसम्म बैंकले कर्जा नोक्सानी व्यवस्थापन शीर्षकमा समेत ४४ करोड रुपैयाँ राखेको छ। गत चैतमा बैंकले नोक्सानी व्यवस्थापन कोषमा १४ करोड रुपैयाँ मात्रै राखेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad