कारोबार


पाथीभरामा केबुलकार निर्माणमा अवरोध नगर्न कोसीका व्यवसायीको आग्रह

पाथीभरामा केबुलकार निर्माणमा अवरोध नगर्न कोसीका व्यवसायीको आग्रह

फाइल तस्बिर


नेपालखबर
माघ २३, २०८१ बुधबार ११:३६, विराटनगर

ताप्लेजुङको पाथीभरामा केबुलकार निर्माणको काममा भएको अवरोधप्रति कोसी प्रदेशमा क्रियाशील उद्योगी व्यवसायीले गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। 

नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघ कोसी प्रदेश समितिले विज्ञप्ति जारी गर्दै पाथीभरा क्षेत्रमा केही दिनदेखि भइरहेका गतिविधिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। 

कोसी प्रदेशको प्रसिद्ध धार्मिकस्थल ताप्लेजुङको पाथीभरा क्षेत्रमा धार्मिक पर्यटनको विकासको लागि महत्त्वपूर्ण मानिएको पूर्वाधार, पाथीभरा केबलकार निर्माण अघि बढाउने सन्दर्भमा त्यहाँ विवाद उत्पन्न भएको छ। 

सरकारी र गैर सरकारी क्षेत्रबाट भएका विभिन्न अध्ययनहरूले कोसी प्रदेशमा पर्यटन क्षेत्रको विकास र विस्तार हुन नसक्नुमा पर्यटकीय पूर्वाधारको कमीलाई प्रमुख कारणका रूपमा औँल्याएको विज्ञप्तिमा भनिएको छ। 

 ‘पूर्वाधारको कमीका मूलतः बाह्य कारण पर्यटक आगमन हुन नसक्दा पर्यटन व्यवसायको विकास र रोजगारी सिर्जना हुन नसकिरहेको अहिलेको अवस्था हो,’ महासंघका अध्यक्ष राजेन्द्र राउतले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘केबुलकार निर्माणमा लगानी सुनिश्चित गरी निर्माण पूर्वका आवश्यक सबै प्रक्रिया समेत पूरा भई निर्माणको कार्य अघि बढ्न लाग्दा निर्माणमा अवरोध हुन उचित होइन।’ 

पाथीभरा मन्दिरको दर्शनका लागि आन्तरिक बाहेक वार्षिक लाखौँ भारतीय पर्यटकलाई यस प्रदेशमा भित्राउन कोशेढुंगा साबित हुनसक्ने भए पनि पूर्वाधार निर्माणमा हुने अवरोधले ताप्लेजुङ र समग्र प्रदेशवासीको हित नगर्ने दावी विज्ञप्तिमा गरिएको छ। 

अध्यक्ष राउतले लगानी कर्ताहरूलाई अपिल गरिरहेको अवस्थामा देश भित्रकै निजी क्षेत्रलाई निरुत्साहित गर्नु उचित नहुने बताए।  

‘प्रत्यक्ष वैदेशिक लगानीका लागि सर्वप्रथम स्वदेशमा नै लगानीको वातावरण निर्माण गर्नुपर्छ,’ उनले भने, ‘यसका लागि निजी क्षेत्रको मनोबल बढाउनु जरुरी छ।’ 

कोसी प्रदेश सरकारले प्रदेश लगानी सम्मेलन, पर्यटन वर्ष २०८२ र चिया सम्मेलनको आयोजना गर्ने घोषणा गरिसकेको पृष्ठभूमिमा यस्ता क्रियाकलाप हुँदा लगानीकर्ता माझ गलत सन्देश जाने र लगानीकर्ताहरू निरुत्साहित हुने दावी व्यवसायीको छ। 

 ‘धार्मिक सांस्कृतिक विविधताले नै पर्यटनको महत्त्वपूर्ण आधारशिला खडा गरेको छ,’ उनले भने, ‘हरेक धर्म संस्कृति रीतिरिवाजको प्रवर्द्धन, संरक्षण र संवर्द्धनमा निजी क्षेत्र संवेदनशील छ।’  

नेपाल उद्योग परिसंघ कोसीका अध्यक्ष पवनकुमार सारडाले जारी गरेको विज्ञप्तिमा निजी क्षेत्र र समुदायको सामूहिक प्रयासबाट मात्र दिगो आर्थिक विकास सम्भव हुने उल्लेख छ। 

‘पूर्वाधार निर्माण लगायतका विकासमूलक कार्यले त्यस क्षेत्रमा रोजगारीको सिर्जना तथा स्थानीयको सहभागिताको अभिवृद्धिमा टेवा पुग्ने भएकोले दिगो पर्यटन प्रवर्द्धनमा केबुलकारको निर्माणपछि धेरै फाइदा लिन सकिने छ,’ विज्ञप्तिमा भनिएको छ। 

स्थानीय, भाषा, कला, संस्कृति र सम्पदाको उचित संरक्षण र प्रवर्द्धन गर्ने तथा स्थानीय आर्थिक विकासमा महत्त्वपूर्ण योगदान हुने विषयमा अस्पष्टता रहेको भए वार्ता र संवादबाट त्यसको निरूपण गरी आयोजना निर्माणका कार्य तत्काल अघि बढ्ने वातावरण  उद्योगी व्यवसायीले माग गरेका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad