कारोबार


दरमखोला हाइड्रो पावरले थाल्यो व्यावसायिक उत्पादन

दरमखोला हाइड्रो पावरले थाल्यो व्यावसायिक उत्पादन

नेपालखबर
मंसिर २, २०८२ मंगलबार १३:४४, बागलुङ

मेगावाट क्षमताको दरमखोला हाइड्रोपावरले व्यावसायिक उत्पादन थालेको छ। २०७७ सालमा निर्माण थालिएको हाइड्रोपावरबाट आइतबारदेखि व्यवसायिक उत्पादन शुरु भएको हो।

दरमखोला हाइड्रो इनर्जी लिमिटेडमार्फत सञ्चालनमा आएको हाइड्रोपावर गत असोज ३० गते केन्द्रीय प्रसारण लाइनमा जडान गरिएको थियो। २०६५ सालमा हाइड्रोपावर निर्माण गर्ने भनिए पनि २०७७ देखि मात्रै काम शुरु भएको हो।

शुरुमा गोर्खा हाइड्रोपावर कम्पनीले निर्माण गर्ने भने पनि अहिले दरमखोला हाइड्रो इनर्जी प्रालीले जिम्मा लिएको छ। गलकोट नगरपालिका–८ काँडेबासमा ड्याम निर्माण गरी साढे चार किलोमिटर पश्चिम मनेवापाटामा विद्युत्गृह निर्माण गरी विद्युत् उत्पादन थालेको हाइड्रोपावरका इञ्जिनियर मिथिलेस चौधरीले जानकारी दिए। बर्खामा ९.६ मेगावाट विद्युत् उत्पादन गर्न सकिने भए पनि हिउँद याममा ६.६ मेगावाट मात्रै उत्पादन भइरहेको इञ्जिनियर चौधरीले बताए।

‘दरमखोला हाइड्रोपावरलाई नेपाल विद्युत् प्राधिकरणको प्रसारण लाइनमा जोडिएको छ, विद्युत् गृहभन्दा १४ किलोमिटर पूर्वमा रहेको हरिचौर सब स्टेसनमा जोडिएको छ, प्रसारण लाइनमा एक महिना अगाडि नै जोडे पनि व्यावसायिक उत्पादन भने अहिले बल्ल नियमित हुन थालेको छ, बर्खामा ९.६ मेगावाट उत्पादन गर्न सकिने भए पनि अहिले सकिँदैन’, उनले भने।

हाइड्रोपावर निर्माणको जिम्मा रामेछाप शेर्पा कन्स्ट्रक्सन र क्रिमहाइडल लिमिटेड पाएका थिए। हाइड्रोपावर निर्माण गर्दा विभिन्न अवरोध हुँदा निर्माण सम्पन्न गर्न समय लागेको दरमखोला हाइड्रो इनर्जीका अध्यक्ष नरबहादुर पुनले बताए। शुरुमा गोर्खा हाइड्रोपावर कम्पनीले बनाउने गरी इजाजत पाए पनि उक्त कम्पनीले काम नगरेपछि आफूले शुरु गरेको उनको भनाइ छ।

निर्माण सम्पन्न गर्न दुई अर्ब बढी लगानी भएको अध्यक्ष पुन बताउँछन्। हाइड्रोपावरबाट विद्युत् उत्पादन हुन थालेपछि बागलुङका विकट गाउँ बस्तीमा विद्युत् पुग्ने अपेक्षा लिएको उनी बताउँछन्।

‘दरमखोला हाइड्रोपावर बागलुङमा अहिलेसम्म बनेकामध्ये सबैभन्दा ठूलो हाइड्रोपावर हो, यसको सर्भे धेरै वर्ष अगाडि भए पनि विभिन्न समस्याका कारण अलि ढिला काम थाल्यौँ, यद्यपि अहिले उत्पादन गर्ने स्थितिमा आएको छ’, अध्यक्ष पुनले भने, ‘१७ वर्ष अगाडि गोर्खा हाइड्रोपार कम्पनीले इजाजत पाएको थियो, त्यसलाई रद्द गरेर हामीहरूले नयाँ कम्पनी बनाएर काम गर्‍यौँ, अहिले सम्पन्न भएर सकियो।’रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad