कारोबार


अन्नपूर्ण प्रथम आधार शिविर जाने पर्यटक बढे

अन्नपूर्ण प्रथम आधार शिविर जाने पर्यटक बढे

नेपालखबर
असार १०, २०८२ मंगलबार ६:५९, म्याग्दी

म्याग्दीको अन्नपूर्ण गाउँपालिका- ४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या बढेको छ। हिमालको आधार शिविर जाने पदमार्गमा होटल सुविधा र पदमार्गको व्यवस्थापनले पर्यटकीय आवागमन बढाएको हो। 

हिमाल आरोहणको इतिहासमा जेठो हिमालका नामले चिनिने अन्नपूर्ण प्रथम हिमालमा सन् १९५० जुन ३ मा फान्सेली पर्वतारोही मौरिस हार्जोगको नेतृत्वमा लुइस लचेनल र दुई नेपाली शेर्पासहित चार जनाले सफल आरोहण गरेका थिए। हिमाल आरोहण भएको ७५ वर्ष पूरा हुँदा पनि आधार शिविर जाने पदमार्गको प्रचारप्रसार नभएपछि नारच्याङवासीको अग्रसरतामा पदमार्गको पहिचान र प्रवर्धन अभियान थालिएको हो। 

अन्नपूर्ण गाउँपालिका र वडा कार्यालयले पदमार्ग क्षेत्रमा पर्यटन पूर्वाधार निर्माण र पर्यटन प्रवर्धनका लागि अभियान सञ्चालन गर्न थालेका छन्। पदमार्गको पहिचान गरी पदमार्ग, आश्रयस्थल, चिया पसल (टिसप), होटललगायत पूर्वाधार निर्माण गरेसँगै प्रचारप्रसार हुन थालेपछि अहिले पर्यटकको आगमन बढेको पदमार्गका अभियन्ता एवं पर्यटन व्यवसायी तेज गुरुङले बताए। 

उनका अनुसार, गत वर्ष अन्नपूर्ण प्रथम आधार शिविरमा नेपाली र विदेशी गरी करिब १० हजार पर्यटकले भ्रमण गरेका थिए।

 ‘यो वर्ष पर्यटक आउने क्रम बढ्दो छ। हिमाल चढ्न आउने पर्यटक विगतका वर्षमा अधिकांश हेलिकोप्टरबाट आधार शिविर पुग्ने गर्थे। यस वर्ष आरोही पदमार्ग हुँदै आधार शिविर पुगेका छन्। अन्नपूर्ण हीरक महोत्सव आधार शिविरमा मनाइएकाले पनि यस क्षेत्रको प्रचारप्रसार भएको अनुभूति गरेका छौँ’, गुरुङले भने। 

अन्नपूर्ण आधार शिविरसम्म पुग्ने यो पदमार्गअन्तर्गत हुमखोला, सन्धीखर्क, गुफाफाँट, भुसकेटमेला र पञ्चकुण्डताल परिसरमा होटल र फुतफुते झरना परिसरमा टिसप सञ्चालनमा आएकाले पर्यटकका लागि सहज भएको पर्यटन व्यवसायी गुरुङले जानकारी दिए। 

उनका अनुसार यहाँका होटलमा ४० देखि ८० जनासम्मले सजिलै खाना र बासबस्न मिल्ने अस्थायी प्रकृतिको बासस्थान बनेपछि आन्तरिक पर्यटक आउन थालेका छन्। यो याममा छ हजारको हाराहारीमा आन्तरिक पर्यटक आएका गुरुङले जानकारी दिए। 

विगतका वर्षमा खाना र बस्नका लागि आफैँले बन्दोबस्तीका सामान बोकेर आउनुपर्ने बाध्यता होटल सञ्चालनमा आएसँगै अन्त्य भएको सन्धीखर्कमा होटल सञ्चालन गर्दै आएका माइकल परियारले बताए। 

‘दुईदिनको यात्रापछि यहाँ पुग्न सकिने यस पदमार्गअन्तर्गत पोखरेबगरबाट हुमखोलासम्मको २० किलोमिटर दूरीमा सडकको पहुँच विस्तार भएको छ। हुमखोलाबाट १६ किमी दूरीमा पदमार्ग बनाइएको छ। 

हिमाल आरोहणमा सबैभन्दा कठिन मानिने अन्नपूर्ण प्रथम हिमालको आधार शिविर पुग्ने मार्ग सहज बनेपछि अहिले आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ’, उनले भने। 

पदमार्गको प्रवेशविन्दु नारच्याङ गाउँमा घरबास ९होमस्टे०को सुविधा छ भने त्यहाँबाट माथि हरेक दुईरदुई घण्टाको अन्तरालमा होटलको सुविधा पुगेपछि पर्यटकका लागि खाना र बसोबासको समस्या अन्त्य भएको पञ्चकुण्डताल परिसरमा होटल सञ्चालन गर्नुभएका अजित सेञ्चुरीले बताए। 

पर्यटकहरूको समस्या हटाउन र स्थानीय पर्यटन व्यवसायमार्फत आयआर्जनमा जोड्ने उद्देश्यले सामूहिक रूपमा लगानी गरेर पदमार्गका विभिन्न स्थानमा होटलमा सञ्चालन गरिएको उनले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad