कारोबार


मनाङमा सुरु भयाे यार्सागुम्बा संकलन

मनाङमा सुरु भयाे यार्सागुम्बा संकलन

फाइल तस्बिर


नेपालखबर
बैशाख १६, २०८२ मंगलबार १३:२०, मनाङ

मनाङमा यार्सागुम्बा सङ्कलन थालिएको छ। मनाङसँगै लमजुङ, गोरखा, धादिङलगायतका जिल्लाबाट सर्वसाधारण यार्सागुम्बा सङ्कलन गर्न यहाँ आएका छन्।

संरक्षण क्षेत्र व्यवस्थापन नियमावली २०५३, संरक्षण व्यवस्थापन निर्देशिका २०५६, हिमाली क्षेत्रमा रहेका राष्ट्रिय निकुञ्ज, आरक्षण संरक्षण क्षेत्र तथा मध्यवर्ती क्षेत्रमा यार्सागुम्बा व्यवस्थापन (सङ्कलन तथा ओसारपसार) निर्देशिका २०८० र अन्य प्रचलित कानुनबमोजिम अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालयबाट यार्सागुम्बा तथा अन्य जडीबुटी सङ्कलन गर्न अनुमति लिन थालेका छन्।

अनुमति प्राप्त भएपछि मात्र संरक्षण व्यवस्थापन समितिले सङ्कलनकर्तालाई आफ्नो क्षेत्रभित्र सङ्कलन पुर्जी दिने गरिएको छ।

जिल्लाका सबै स्थानीय तहभित्रका संरक्षण क्षेत्रका वन क्षेत्रमा यार्सागुम्बा सङ्कलनको अनुमति दिने तथा जिल्लाबाहिरका नागरिकलाई यार्सागुम्बा सङ्कलनको अनुमति सम्बन्धित संरक्षण व्यवस्थापन समितिले दिने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय प्रमुख ढकबहादुर भुजेलले जानकारी दिए।

यार्सागुम्बा सङ्कलनका लागि स्वीकृति पाएपछि मात्रै सङ्कलक हिमाली भेगतर्फ लाग्छन् । नार्पाभूमिका लेकमा जिल्लाभित्रका नागरिकलाई यार्सागुम्बा सङ्कलन गर्न अनुमति दिइएको छ भने बाहिरी जिल्लाका नागरिकलाई भने अनुमति दिइएको छैन।

उनले भने, “विकट भएकाले सुरक्षाको चुनौतीलाई ध्यानमा राखेर नार्पाभूमिमा यार्सागुम्बा सङ्कलन गर्न अनुमति दिइएको छैन। अन्य स्थानीय तहमा यार्सागुम्बा सङ्कलनको अनुमति दिइएको छ।”

एकयाप इलाका कार्यालय मनाङको संयोजकत्वमा संरक्षण क्षेत्र व्यवस्थापन समितिले यार्सागुम्बा सङ्कलनका लागि अनुमति दिएपछि मात्रै लेक जान पाउने प्रावधान छ । यार्सागुम्बा सङ्कलनका निम्ति नाम्ग्या लेकमा स्थानीयका साथै बाहिरी जिल्लाबाट आएका व्यक्तिलाई सङ्कलन अनुमति दिइन्छ।

प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले जिल्लाभित्र यार्सागुम्बा सङ्कलनको समय सुरु भएसँगै सुरक्षा व्यवस्थामा कडाइ गरिएको बताए । उनले सुरक्षाको जोखिमलाई ध्यानमा राख्दै अप्रिय घटना हुनबाट सजगता अपनाइएको बताए । नासों गाउँपालिका–८ ताचैस्थित नाम्ग्या लेकबाट यार्सागुम्बा सङ्कलन थालिएको संरक्षण क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष एवं नासों–८ का वडाध्यक्ष याद घलेले जानकारी दिए । वैशाखदेखि असार मसान्तसम्म यार्सागुम्बा सङ्कलन गर्ने उपयुक्त समय हो।

नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामाले अहिले यार्सागुम्बा सङ्कलन गरिने भए पनि बाह्य जिल्लाका सङ्कलकलाई अनुमति नदिइएको बताए। उनले भने, “सुरक्षाको चुनौतीकै कारण बाह्य जिल्लाबाट आउने यार्सागुम्बा सङ्कलकलाई रोक लगाएका छौँ । स्थानीयलाई मात्र सङ्कलनको अनुमति दिँदै आएका छौँ।”

नार र फुमा अन्य जिल्लाबाट आउने सङ्कलकलाई यार्सागुम्बा सङ्कलनमा रोक लगाइएको बताए । नार्पाभूमिको नार र फू संरक्षित र निषेधित दुवै क्षेत्र भएकाले सुरक्षाको दृष्टिबाट पनि विगतको जस्तो अवस्था सिर्जना नहोस् भनी यस्तो निर्णय गरिएको हो। जिल्लाका अन्य हिमाली भेगमा वैशाखदेखि र नार्पाभूमिमा जेठदेखि मात्रै यार्सागुम्बा सङ्कलन गरिन्छ।

यार्सागुम्बा सङ्कलनकर्ताबाट सङ्कलन गरेको यार्सागुम्बा खरिद गर्न आउने व्यक्तिलाई जिल्लाका भएमा प्रतिव्यक्ति रु २० हजार र जिल्लाबाहिरका खरिदकर्तालाई प्रतिव्यक्ति रु ४० हजारका दरले संरक्षण क्षेत्र व्यवस्थापन समितिले दस्तुर लिने गरेको छ । पुर्जी काटेर सङ्कलन गर्न अनुमति दिइन्छ । रु ३५ हजारमा पुर्जी काटिसकेपछि मात्रै स्थानीय तथा बाह्य जिल्लाबाट आउने सङ्कलकलाई समितिले सहज रूपमा लेकतर्फ जान अनुमति दिइन्छ । चारवटा स्थानीय तह रहेको मनाङमा धारापानी र थोँचेबाहेक सबैमा यार्सागुम्बा पाइन्छ।

मनाङको नाम्ग्य लेक, किन्चो लेक, याक लेक, पिसाङ लेक, फू लेक, मनाङ लेक, आइस लेक, स्याक्यु लेक, थोराङ्ला लेकलगायतका क्षेत्रमा यार्सागुम्बा बढी मात्रामा पाइन्छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad